१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

विद्यालय भर्ना अभियान: निरन्तरताकै समस्या

विषयगत शिक्षक र भवनको अभावले विद्यार्थी आकर्षण गर्न सकेको छैन
अमन कोइराला

सर्लाही — शैक्षिक सत्र सुरु भएसँगै राज्यले विद्यार्थी भर्ना अभियान तीव्र पारेको छ । हरेक जिल्ला र गाउँमा विद्यार्थी भर्ना अभियानले गति लिएको छ । प्रत्येक वर्ष शैक्षिक सत्रको सुरुवातमा भर्ना अभियान चलाइए पनि विद्यार्थीले विचैमा पढाई छाड्ने समस्या भने बढदो छ ।

विद्यालय भर्ना अभियान: निरन्तरताकै समस्या

भर्नालाई उत्सवका रूपमा मनाइए पनि विद्यार्थी निरन्तर विद्यालय आए नआएको बारेमा खोजिनिती हुने गरेको छैन । सामूहिक दबावमा विद्यालय भर्ना गराएका अभिभावकले निरन्तर पढ्न पठाउन भने चासो राख्दैनन् । जिल्लामा गतवर्षको तथ्यांक अनुसार २५ हजार बालबालिका विद्यालय गएका छैनन् । ५ देखि १५ वर्ष उमेर समूहका ठूलो संख्यामा शिक्षाबाट वञ्चित हुनु भावि समाजका लागि समेत हनीकारक हो ।

जिल्ला शिक्षा अधिकारी उपेन्द्र मण्डलले भर्ना अभियान विगतभन्दा निकै फलदायी भएको बताए । उनले बालबालिकाको ठूलो हिस्सा विद्यालयभन्दा बाहिर रहेकाले अभियानलाई प्रभावकारी पार्नुपर्ने उल्लेख गरे । ‘खासगरी विपन्न समुदायका बालबालिका विद्यालय नगएको देखिन्छ,’ उनले भने, ‘यस वर्ष शिक्षक, व्यवस्थापन समिति र समाजका हरेक वर्ग बालबालिकालाई विद्यालय भर्ना गराउन लागि पर्नुभएको छ । यसैगरी काम हुन सके निकै सुधार हुन्छ ।’

सामुदायिक विद्यालयमा उचित भवन नहुनु, शौचालय अभाव जस्ता कारणले धेरै विद्यार्थी अटाउन समस्या छ । त्यसमाथि विषयगत शिक्षक अभाव, वर्षाैंदेखि दरबन्दी मिलान नहुनु जस्ता कारणले सामुदायिक विद्यालयको अवस्था आफैंमा कमजोर छ । रानीगञ्ज स्थित फौदसिंह उच्च माविका प्रधानाध्यापक रजनीकान्त झाले भर्ना अभियानकै कारण पनि धेरै बालबालिका स्कुल आउन थालेको बताए । उनले भर्ना भएका विद्यार्थी निरन्तर विद्यालय पुग्ने वातावरण मिलाउने दायित्व शिक्षक र स्थानीय अभिभावकको हुने प्रष्ट्याए । ‘शिक्षा बिनाको समाज विकसित हुन सक्दैन,’ उनले भने, ‘सम्पूर्ण बालबालिका स्कुल जाने वातावरण निर्माणको दायित्व समाजकै हो । निरन्तर निगरानी गर्न सके अभियान सफल हुन्छ ।’

विद्यालय भर्ना अभियानसँगै राज्यले विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने झाको सुझाव छ । उनले सामुदायिक विद्यालयमा विद्यार्थी टिक्न नसक्नुमा कक्षाकोठा अभाव, आवश्यक संख्यामा शिक्षक जस्ता कारण हुने गरेको उल्लेख गरे । जिशिअ मण्डल भौतिक पूर्वाधार र विषयगत शिक्षकको कमि सामुदायिक विद्यालयमा रहेको स्विकार्छन् ।

शिक्षा मन्त्रालयको हरेक गोष्ठीमा यी विषय उठ्ने गरे पनि समाधान नहुँदा शिक्षामा सोचे जस्तो सफलता मिल्न नसकेको मण्डलले बताए । माध्यमिक तहमा पुगेपछि विषयगत शिक्षकको अभाव सबैभन्दा खटकने गरेको छ । सामुदायिक विद्यालयले विज्ञान संकायमा विद्यार्थी उत्पादन गर्न नसक्नुमा शिक्षक अभाव मुख्य कारण रहेको झाले बताए । ‘निजी विद्यालय पढेका विद्यार्थी डाक्टर, इन्जिनियर हुन्छन,’ उनले भने, ‘सामुदायिक विद्यालयका विद्यार्थी त्यस क्षेत्रमा निकै कम छन् ।

सामुदायिक विद्यालयलाई मजवुत नबनाएसम्म विपन्न समुदायका विद्यार्थीले उच्च शिक्षामा सफलता हातपार्न कठिन हुन्छ । हामीले उदाहरण खडा गर्न सके आकर्षण पनि बढ्छ । अभिभावक पनि आफ्नो सन्तान पढाउन उत्साहित हुन्छन् ।’ उनले भर्ना अभियानसँगै सामुदायिक विद्यालयलाई बलियो बनाउने नीति राज्यले ल्याउनु पर्ने बताए ।

प्रकाशित : वैशाख १३, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?