मोदीको अभिनन्दन तयारी

श्यामसुन्दर शशि

जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बहुप्रतीक्षित जनकपुर भ्रमणको तयारीलाई तीव्रता दिइएको छ । आधिकारिक भ्रमण तालिका सार्वजनिक नभए पनि प्रदेश सरकारले मोदीको भ्रमणलाई उच्च प्राथमिकतामा राखेर आवश्यक तयारीमा जुटेको छ । मोदी वैशाख २८ गते जनकपुर आउने कार्यक्रम छ ।

मोदीको अभिनन्दन तयारी

प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री तथा मञ्च व्यवस्थापन समितिका संयोजक जितेन्द्र सोनल बिहीबार जानकी मन्दिर र बाह्रबिघा रंगभूमि मैदान पुगेर शान्तिसुरक्षा, मञ्च व्यवस्थापन, शौचालय, खानेपानी, सरसफाइ, रंगरोगनको विषयमा जानकारी लिएका थिए । मन्त्री सोनलसँगै कृषि विकास मन्त्री शैलेन्द्र साह, मञ्च व्यवस्थापन समितिका सदस्य एवं प्रदेश सांसदहरू राम आशिष यादव, कौशल यादव, राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता डा. विजयकुमार सिंह, जनकपुर उपमहानगरपालिकाकी उपमेयर रीता झा, धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईं, प्रहरी उपरीक्षक चक्रबहादुर सिंह, राजनीतिक दलका नेता, कार्यकर्ता सहभागी थिए ।

भारतीय प्रधानमन्त्री मोदी जानकी मन्दिरमा पूजापाठ गर्नुका साथै बाह्रबिघा रंगभूमि मैदानमा प्रदेश सरकारले आयोजना गर्ने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुनेछन् । मोदी भ्रमण कार्यक्रमको शान्तिसुरक्षा, मञ्च व्यवस्थापनबारे संघीय सुरक्षा निकायले उपलब्ध गराएको ‘रणनीति’ माथि गम्भीर छलफल भएको थियो । प्रस्तावित कार्यक्रम अनुसार मोदी हेलिकप्टरबाट बाह्रबिघा रंगभूमि मैदानमा अवतरण हुनेछन् । त्यसपछि जानकी मन्दिरमा दर्शन, पूजा/अर्चना गर्नेछन् । त्यहाँबाट पुन: बाह्रबिघा फर्केर नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् । केन्द्रीय सरकारले उपलब्ध गराएको रणनीतिमा अभिनन्दनका लागि उत्तरमुखको मञ्च बनाउनुपर्ने उल्लेख छ, तर भौतिक पूर्वाधारमन्त्री सोनलले मञ्च दक्षिणमुखको निर्माण गर्न सल्लाह दिएका थिए ।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मोदीको नागरिक अभिनन्दनमा लाखौं नागरिक सहभागी हुने बताएका छन् । यसको अतिरिक्त सीमावर्ती भारतीय गाउँ र नगरबाट पनि हजारौं भारतीय मोदीको अभिनन्दन समारोहमा सहभागी हुने विश्वास गरिएको छ ।

सन् २०१४ मा नेपालमा सम्पन्न सार्क सम्मेलनमा सहभागी हुन आउने क्रममा भारतीय प्रधानमन्त्री मोदी जनकपुर हुँदै काठमाडौं जाने कार्यक्रम निर्धारित गरिए पनि उक्त भ्रमण अन्तिम चरणमा रद्द गरिएको थियो । मोदी भिट्ठामोर नाकाबाट महोत्तरीको जलेश्वर हुँदै स्थलमार्गबाट जनकपुर आउने कार्यतालिका पक्का भइसकेको थियो ।

मोदी भ्रमणलाई दृष्टिगत गरी नेपाल सरकारले भिट्ठामोर–जलेश्वर–जनकपुर सडकको मर्मतसम्भार पनि गराएको थियो । जनकपुरको नगरक्षेत्रका सडक मर्मत, बाह्रबिघामा भव्य मञ्चसमेत निर्माण भइसकेको थियो । चोकचोकमा मोदीको तस्बिर अंकित तुल–ब्यानर तथा आकर्षक प्रवेशद्वारहरू समेत निर्माण गरिएको थियो । जसमा दुई करोडभन्दा बढी खर्च भएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत २३ देखि २५ सम्म गरेको भारत भ्रमणको क्रममा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । भारतीय पक्षले निम्तो स्वीकार गर्दै मोदीले भ्रमणको कार्यक्रम बनाएका हुन् ।

प्रकाशित : वैशाख १४, २०७५ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?