१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रामानन्द चोक विस्फोटक पाँच वर्ष पूरा

मिथिला राज्य आन्दोलनलाई निरन्तरता दिने उद्घोष 
श्यामसुन्दर शशि

जनकपुर — पाँच जनाको मृत्यु हुने गरी रामानन्द चोकमा गराइएको बम विष्फोटको घटना मंगलबार पाँच वर्ष पूरा भएको छ । यस अवसरमा मिथिला राज्य संघर्ष समितिले मिथिला नाट्यकला परिषद्मा आयोजना गरेको श्रद्धाञ्जली सभाका वक्ताहरुले मिथिला राज्य आन्दोलनलाई निरन्तरता दिने उद्घोष गरेका छन् ।  

रामानन्द चोक विस्फोटक पाँच वर्ष पूरा

‘मिथिला प्रदेश’ नामाकरणको माग राखी मिथिला राज्य संघर्ष समितिको आह्वानमा २०६९ वैशाख १८ गते रामानन्द चोकमा शान्तिपूर्ण धर्ना बसेकाहरुलाई लक्षित गरी गराइएको शक्तिशाली बम विष्फोटमा परी चार जनाको तत्कालै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो । विष्फोटमा झण्डै तीन दर्जन सर्वसाधारण घाइते भएका थिए ।


उक्त विष्फोटमा परी जनकपुर ८ वलवा टोलका ३५ वर्षीय विमल शरण, चर्चित अभिनेतृ रञ्जु झा, रिक्सा चालक तथा प्रचारक झगरु दास तथा जनकपुर ८ कै सुरेश उपाध्यायको सोही दिन मृत्यु भएको थियो भने सख्त घाईते दीपेन्द्र दासको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।


घटनाको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष राजन मुक्ति तथा तत्कालीन सशस्त्र समूह सञ्चालन गर्दै आएका अर्जुन सिंह भन्ने मुकेश चौधरीले लिएका थिए । राजन मुक्ति र मुकेश चौधरी हाल बम विष्फोटसहितका अन्य मुद्दा पुर्पक्षको लागी कारागारमा छन् ।

पक्राउ परेका आरोपीहरुको बयानको आधारमा धनुषाका तत्कालीन सांसद संजय कुमार साह पनि पक्राउ परेका थिए । साह बम विष्फोट लगायतका अन्य आरोपमा हाल पुर्पक्षमा जेलमा छन् ।

प्रदेश सरकार गठन भए पनि प्रदेश २ को नामाकरण तथा प्रदेशको भाषा सम्बन्धी निर्णय हुन बाँकी छ । मिथिला राज्य संघर्ष समितिले मंगलबार आयोजना गरेको श्रद्धाञ्जली सभाका वक्ताहरुले यस प्रदेशको नामाकरण ‘मिथिला प्रदेश’ तथा प्रदेशको सरकारी कामकाजको भाषा मैथिली हुनुपर्ने माग गरेका थिए । उनिहरुले मिथिला राज्य आन्दोलनलाई पुन: अगाडि बढाउनु पर्ने बताएका थिए ।


संघर्ष समितिका संयोजक परमेश्वर कापडिको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रदेश २ का सांसद तथा नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डल, साहित्यकार रोशन जनकपुरी तथा ब्रजमोहन झा, माओवादी केन्द्रका झल्कु यादव, एमाले धनुषाका अध्यक्ष राजकिशोर साह, मिनापका पूर्व अध्यक्ष सुनिल मल्लिक तथा युवा अभियन्ता सुशिल कर्णलगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।

प्रकाशित : वैशाख १८, २०७५ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?