मोदीको अभिनन्दन मैथिली भाषामा

श्यामसुन्दर शशि

जनकपुर — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा गरिने अभिनन्दन समारोह मैथिली भाषामा सञ्चालन गरिने निर्णय गरिएको छ । अभिनन्दन समारोहबारे उपमहानगरपालिकाले बुधबार गरेको छलफलमा मोदीको जनकपुर भ्रमणलाई मैथिलीमय बनाउने सहमति भएको हो ।

मोदीको अभिनन्दन मैथिली भाषामा

जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साह, उपमेयर रीता झासहित स्थानीय सरकारका पदाधिकारीले समारोहलाई भव्य बनाउन जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा छलफल गरेका थिए । नगरप्रमुख साहले मोदीलाई मैथिली भाषामा अभिनन्दन गर्ने प्रस्ताव स्वीकृत गरिएको जनाए ।

उनले भ्रमणको तयारीमा उपमहानगरले सबै जनशक्ति परिचालन गरेको बताए । उनले भने, ‘जनकपुर सीताको जन्मस्थल हो । मैथिली यहाँको भाषा हो । मोदीलाई मैथिली भाषामा अभिनन्दन गर्दा यस भूमिको पनि सम्मान हुन्छ ।’ मिथिलाका नगर क्षेत्रका मुख्य इलाकालाई केसरिया रङमा रंगाउने अभियान पनि सुरु भएको उनले बताए । उपमहानगरले बाह्रबिघादेखि जानकी मन्दिरसम्मको ५ सय मिटर नयाँ सडक निर्माण गर्ने तथा उक्त सडकको दुवैतर्फ मिथिला पेन्टिङको अभियान थालेको छ । विवाहमण्डप तथा बाह्रबिघा रंगभूमि मैदानको पर्खालमा मिथिला पेन्टिङ गर्ने काम सुरु भएको छ । विमानस्थलदेखि राममन्दिर, रामानन्द चोकदेखि जानकी मन्दिर, बाह्रबिघा पश्चिम र उत्तरको सडक मर्मत सम्भार कामलाई पनि तीव्र बनाइएको छ । ‘वैशाख २६ सम्म सबै सडकको मर्मत सम्भार पूरा गरिसक्छौं,’ नगरप्रमुख साहले भने ।

मोदी भ्रमणको तयारीबारे स्थलगत निरीक्षण गर्न आएका भारतीय राजदूत मन्जिभसिंह पुरीलगायत उच्च सुरक्षाकर्मीले विमानस्थलदेखि जानकी मन्दिरसम्मको सडक पनि तयारी अवस्थामा राख्न आग्रह गरेको स्रोतको दाबी छ । ‘मोदी चढेको हेलिकप्टर जनकपुर विमानस्थलमा पनि अवतरण गर्न सक्छ,’ स्रोतको भनाइ छ । जनकपुर उपमहानगरपालिका स्रोतका अनुसार भने मोदी बाह्रबिघा वा जनकपुर विमानस्थलमध्ये कुनै पनि स्थानमा अवतरण हुन सक्छ । स्रोतले भन्यो, ‘हामी दुवै विकल्पमा तयारी गरिरहेका छौं ।’

प्रकाशित : वैशाख २०, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?