कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाकल पूरा गर्न बलि

रवीन्द्र उप्रेती

महाेत्तरी — सदरमुकाम जलेश्वरमा चलिरहेको नगर भगवती सन्सारीमाईको सातदिने महापूजा शुक्रबार वलि प्रदानपछि समापन भएको छ । यसअघि महापूजाको पूर्व सन्ध्यामा नगर क्षेत्रमा कलश यात्रा, दीपमालिका, भक्ति उपासनालगायत धार्मिक समारोह गरिएको थियो ।

भाकल पूरा गर्न बलि

महापूजाको अन्तिम दिन दर्शन, पूजार्चनाका लागि नेपाल तथा भारतबाट लाखाैं भक्तजन जलेश्वर पुगेका थिए । दर्शनार्थीले बिहानैदेखि वरुणसर तलाउमा स्नान गरी मिथिला विधिले सन्सारीमाईको पूजा दर्शनका साथै वलि प्रदान गरे । शौभाग्य सामग्री चढाएर ‘खोइच भराई’ (पोल्टा भर्ने) महिला भक्तजनको लस्करले मन्दिरस्थलमा बिहानैदेखि चाप थियो । महिला र पुरुष धामीले तान्त्रिक विधिद्वारा देवीको पूजार्चना गरेका थिए । लोकसंस्कृत र परम्परामा आधारित भक्तै (धामी) गीत र मन्त्र सिद्धिका लागि थानमा तन्त्र विधिले विशेष पूजा गरिएको थियो ।

६ हजारभन्दा बढी बलि
महापूजाको समापनमा करिब ५ हजार बोकाको बलि दिइएको सन्सारीमाई मेला समारोह समितिले जनाएको छ । समितिका प्रथम उपाध्यक्ष रोशन सिंहले हजारभन्दा बढी कुखुरा, हाँस र परेवाको समेत बलि प्रदान गरिएको जनाए । समितिको रेकर्डअनुसार एक परिवारले ४ वटासम्म बोकाको वलि प्रदान गरेको पाइएको छ । देवीको तन्त्रिक पूजाका लागि भेंडा र सुगुरकोसमेत बलि दिने परम्परा छ ।

दर्शन र बलिपूजाका लागि लाखौंको भीड
पूजा, दर्शन र वलि प्रदानका लागि बिहीबारदेखि नै देशविदेशबाट आएका लाखौं दर्शनार्थीको लस्करले जलेश्वरमा भीड बढेको छ । संसारीमाईको पूजासाथ भाकल प्रदान गर्नाले दैवी प्रकोप नलाग्ने, सुख समृद्धि र शान्ति पाइने विश्वासका साथ महापूजाको अन्तिम दिन हजारौंको संख्यामा वलि प्रदान गर्ने परम्परा छ । बलि दिनले कोही सन्तान सुख, कोही धनधान्य र कोही स्वास्थ्यलाभ भएकाले आएको बताए ।भारत सीतामढीस्थित मिर्चाईपट्टीका मुन्ना चौधरीकी श्रीमतीले ५ वर्षअघिको सन्सारीमाई पूजामा शौभाग्य सामग्रीसाथ ‘खोइच भराई’ गरी सन्तान प्राप्तिको कामना गर्दै बोका चढाउने भाकल गरेकी थिइन् । माताको कृपाले सन्तान प्राप्त भएपछि भाकल पूरा गर्न आएको मुन्नाले बताए । उनी साथै बलि दिन पालो पर्खिरहेका सीतामढीकै राजोपट्टीका सोनु चौधरीले जोर बोका लिएर आएका थिए ।


महोत्तरी गाउँपालिका ६ गोनरपुराका जगदीश मंडलले पनि संसारीमाईलाई जोर बोका बलि दिएका छन् । गरिबीले पिल्सिएका उनले ७० सालको पूजामा रोजागारी पाए बोका चढाउने भाकल गरेका थिए । त्यसपछि आफनो जीवनमा चमत्कार जस्तै भएको उनले अनुभव सुनाए ।‘लगत्तै मलेसिया जाने अवसर जुर्‍यो, ३ वर्षमा १३/१४ लाख कमाई भयो, जग्गा किनें, घर बनाएँ, ऋण निखनें,’ उनले थपे, ‘त्यपछि भाकल त पूरा गर्नै पर्‍यो ।’ अनि गौशाला ४ रजखोरका परमेश्वर मण्डलले भरखरै जन्मेको नातिको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै बोका चढाएको बताए ।नगर महादेवीका रूपमा पुजिँदै आएकी संसारी माईको कृपाले भक्तजनमा लागुभागु, तन्त्रमन्त्र र भूतप्रेतको प्रकोप न हुने जन विश्वास छ । महादेवीको अनुकम्पाले दैवी विपत्ति र अनिष्टको पूर्व संकेत पाइनुका साथै सुख सम्पदा तथा सन्तति लाभ हुने विश्वाससाथ जलेश्वर नगर र वरपरका बस्ती तथा भारतीय गाउँबाटसमेत वलि प्रदान गर्न आउने भक्तजनको लस्करले जलेश्वर भक्ति नगरमा परिणत भएको छ ।

पूजामा ४० लाख खर्च अनुमान
साताब्यापी पूजा एवं मेलामा ३५ देखि ४० लाखसम्म खर्च हुने समितिको अनुमान छ । पंडाल, धार्मिक सांस्कृतिक कार्यक्रम, पूजा सामग्री खरिद र मेला व्यवस्थापनमा खर्च लाग्ने जनाईएको छ । सिम्रिक एयरको हेलिकप्टरले शुक्रबार अपराह्न मदिर परिसरमा पुष्प वर्षा गरेको छ । त्यसका लागि लाखभन्दा बढी खर्च भएको जनाइएको छ । त्यस्तै वृन्दावनको रासलिला, हरिद्वारबाट आएका प्रवचन जस्ता धार्मिक कार्यमा खर्च भएको समितिले जनाएको छ । समितिका अनुसार खर्च स्थानीय तह, आपसी सहयोगलगायतका स्रोतबाट जुटाइएको छ । बलि प्रदान गर्नेका लागि प्रति बोका २ सय र हाँस कुखुरामा ५५ रुपैयाँ शुल्क लगाइएको छ ।

पाहुनाले पिरलो
पूजा अवधिभर टाढाटाढाबाट पाहुना आउने र तिनलाई गाँस बासको साथ बिदाई खर्च पनि दिनुपर्ने चलन समस्याका रूपमा देखा परेको छ । मेला हेर्ने, दर्शन गर्ने र प्रसाद खाने नाममा घरैपिच्छे नेपाली र भारतीय पाहुनाको लर्को लागेको छ । घरघरै आएका पाहुनाका कारण अहिले जलेश्वरलाई ‘पाहुना नगर’ भन्न थालिएको छ । पाहुना पनि दुई चार मात्र हुँदैनन् हुलै बाँधेर आइदिनाले समस्या भएको हो ।जलेश्वर नपा १ का विनोद साहको घरमा ५० जना पाहुना थुप्रिएका छन् । उनकै छिमेकी शत्रुघन साहको घरमा २५ भारतीयसहित ४० जना पाहुना भेला भएका छन् । तीनलाई बिदाई गर्न मात्र ७५ हजार खर्च लाग्ने शत्रुघनको अनुमान छ । वडा नं ८ बजराहीका सरजुग साहको घरमा पनि पाहुनाको संख्याले दर्जन नागिसकेको उनले जनाए । संसारीमाई पूजा सुरु भएदेखि जलेश्वरमा पाहुना न पुगेको घरै छैन ।

‘बैनी छोरीलाई निम्तो गर्‍यो भने आफनो कुटम्ब बटुल्दै हुलै बाँधेर ज्वाई आई पुग्छन्’ व्यवसायी विनोदले भने, ‘यो विकृति सबैका लागि समस्या बनेको छ ।’ मासुभात पनि खान पाइने र जाने बेला नगद जिन्सी, लुगाकपडा पनि पाइने भएपछि अरूबेला खोज खबर न लिनेहरू पनि यस बेला नाता साइनो पहिल्याउँदै आउने गरेको उनले जनाए ।०७० सालको संसारीमाई पूजामा त्यस बेलाका समितिले पूजा अवधिभर आउने पाहुनालाई बिदाई खर्च न दिन कडा निर्देश जारि गरेको थियो । तर योपटक भने त्यस्तो निर्देशन नगरेको समितिका उपाध्यक्ष रोशन सिंहले बताए ।

प्रकाशित : वैशाख २२, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?