लागूऔषध ढुवानीमा नयाँ तरिका

‘चोरीका भारतीय मोटरसाइकलमा ओसार–पसार गर्ने बढी देखिए’
अमन कोइराला

सर्लाही — लागूऔषध ओसार–पसार रोकथामलाई सुरक्षा निकायले उच्च प्राथमिकता दिए पनि व्यापारीले आँखा छल्ने उपाय निकाल्दै कारोबारलाई जारी राखेका छन् । ठूलो परिमाणमा गाँजा बरामद हुँदा नोक्सान बढी हुने भएपछि व्यापारीले कम घाटा हुने उपाय अपनाउन थालेका छन् ।

लागूऔषध ढुवानीमा नयाँ तरिका

मकवानपुरबाट पैदल चुरे फेदीका बस्तीमा गाँजा ल्याएर राख्ने र त्यसलाई सानो परिमाणमा भारत लग्ने उपाय व्यापारीले निकालेका हुन् । लुकाएर लैजाने गाँजाका पोका लगभग १० किलोमात्र हुने गर्छन् । पक्राउ पर्दा धेरै नोक्सान नहोस् भनेर नयाँ परिपाटी सुरु भएको हो । चुरेफेदीका बस्तीबाट रातिको समय मोटसाइकलमा सीमा नजिकको बस्तीमा गाँजा पुर्‍याउने गरिन्छ । त्यहाँबाट मागबमोजिम झन् सानो परिमाणमा नाका कटाएर भारत पुर्‍याइन्छ ।

चुरेफेदीको बस्तीबाट सहायक बाटो हुँदै नाकाछेउको गाउँसम्म पुर्‍याउन शंका नहोस् भनेर महिला प्रयोग हुन्छन् । ट्रकमा गाँजा ल्याउँदा पटक–पटक पक्राउ पर्न थालेपछि व्यापारीले नयाँ शैली अपनाएका हुन् । हरिपुर इलाका प्रहरी कार्यालयका निरीक्षक अनिल ठकुरीले गाँजा ओसार–पसार गर्ने गिरोहले सुरक्षाकर्मीको आँखा छल्न अनेक उपाय अपनाउने गरेको बताए । ‘अहिले सानो परिमाणमा मात्र ओसार–पसार गरेको पाइएको छ,’ उनले भने, ‘सकेसम्म पैदल हिंड्ने, नभए चोरीको मोटरसाइकलमा ओसार्ने र महिलालाई प्रयोग गर्ने गरेको पाइएको छ ।’ हरिपुर प्रहरीले गाँजा ओसार्दै गर्दा पटक–पटक गरी तीस केजी बरामद गर्‍यो ।

ठकुरीले बढीमा १३ किलो र घटीमा ५ किलोसम्म ओसार्ने गरेको पाइएको बताए । कम नोक्सान, परिणामका आधारमा पक्राउ परेको व्यक्ति धरौटीमा छुट्न सकोस भनेर व्यापारीले बन्दोबस्त मिलाउने गरेका हुन् । नाका कटाउन सक्दा राम्रो आम्दानी हुने र पक्राउ परिहाले धरौटीमा छुट्नेजस्ता आश्वासनले गर्दा लुकाएर ओसार्ने मान्छे भेटाउन व्यापारीलाई सहज भएको छ । ठकुरीले गाँजा ओसार्ने सबैलाई सहायक बाटोमा पक्राउ गरेको बताए । ‘नदी छेउ, जंगलको बाटो जस्ता भीडभाड नहुने ठाउँ प्रयोग गरेको पाइएको छ,’ उनले भने, ‘चोरीका भारतीय मोटरसाइकलमा ओसार–पसार गर्ने बढी देखियो ।’ गाँजा बाहेक भारतमा खुलेआम पाइने लागूऔषध पनि त्यसैगरी ओसारपसार हुने गर्छ । सेवनकर्ता सीमावर्ती गाउँमै गएर खाने र थोरै परिमाणमा बोकेर आउने गर्छन् । थोरै परिमाणमा बोक्दा कानुनी कारबाहीमा सजिलो हुने सबैजसो सेवनकर्ताले थाहा पाइसकेका छन् ।

विगत ६ महिनाको अवधिमा प्रहरीले लागूऔषध ओसारपसार र सेवन गर्ने एक सयभन्दा बढीलाई पक्राउ गरी कानुनी कारबाहीमा लगेको छ । प्रहरीको व्यापक सक्रियता भए पनि लागूऔषधको ओसारपसार बन्द हुन सकेको छैन । प्रहरी उपरीक्षक मसउद आलम खाँले लागूऔषध ओसारपसार र सेवन नियन्त्रणमा अभिभावकको भूमिका प्रमुख हुने बताए । उनले भने, ‘शतप्रतिशत रोक्न प्रहरीसँगै अभिभावक र समाज पनि लाग्नुपर्छ । लागूऔषधले देशका कर्णधार युवालाई सबैभन्दा बढी प्रभाव पारेको छ । समाजलाई नै खोक्रो बनाउने लागूऔषधको प्रयोग रोकथाम अपरिहार्य हो ।’ चोरी गर्नेमा पनि लागूऔषध दुव्र्यसनी नै प्रमुख देखिएको खाँले बताए ।

प्रकाशित : वैशाख २५, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?