कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपकरणले कृषकलाई सजिलो

भरत जर्घामगर

सिरहा — कृषि मजदुर अभाव र परम्परागत हलोगोरुबाट खेतीपाती गर्दै आएका सिरहाका किसानले वैकल्पिक प्रविधिको साधन कृषियन्त्र उपकरण सुरु गरेका छन् । खेतबारी जोताउन पावर टिलर (हाते ट्रयाक्टर), धान रोपाइँ मेसिनदेखि फसल भित्र्याउनसमेत कृषि उपकरण प्रयोगले खेतीपातीका लागि किसानलाई सहज भएको हो ।

उपकरणले कृषकलाई सजिलो

गत वर्ष तीन महिना समय लगाएर गहुँ बाली घरमा भित्र्याएका सिरहा महादेवाका पुलकित यादवले यस पटक तीन दिनमै भित्र्याए । गोविन्दपुरका अर्का किसान कमलेश यादवले झन् १० घण्टामै गहुँँ थन्काउन भ्याए । गत वर्ष उनलाई त्यही गहुँँबाली भित्र्याउन डेढ महिना लागेको थियो ।

किसानले उब्जाएको गहुँँ बाली व्यवस्थापन गर्न खेतमै ‘रम्भा’ पुग्न थालेपछि उनीहरूको कडा परिश्रम र समय पनि बचत भएको छ । कृषि क्षेत्रमा आधुनिकीकरणको पहुँचसँगै कृषकले आफ्ना खेतबारी उब्जाएका बाली भित्र्याउन सहज भएको हो । खेत–बारीमै थ्रेसर मेसिन (गहुँँ दाना छुटयाउने) पुग्न थालेपछि किसान हर्षित भएको कृषक कमलेशले सुनाए ।

‘यो मेसिन गाउँ प्रवेश गरेपछि दाइँ गर्न गोरु खोज्ने, दिनभरि लाएर दाइँ गर्ने झन्झटबाट किसानहरू मुक्त भएका छन्,’ उनले भने, ‘गोरुले दिनभर लगाएर दाइँ गर्नुपथ्र्यो, ५/७ जना मजदुर त्यसका लागि अनिवार्य थियो तर थ्रेसर मेसिनले एकै घण्टामा काम गर्छ ।’

आफ्नो नौ बिघा खेतमा लगाएको गहुँँबाली पहिला महिनौं दिन लागाएर दाइँ गर्नुपथ्र्यो, अहिले मेसिनले सजिलो बनाएको महादेवाका पुलकित यादवले सुनाए । उनका अनुसार दाइँ गर्न मात्र होइन गहुँँ काटदै गयो, खेतकै एउटा कुनामा जम्मा गरेपछि ट्रयाक्टरबाट थ्रेसर चलाएर दाना छुटाइदिन्छ, सुकाएर सीधै थन्क्याउन सकिन्छ । गहुँँ बोझा उठाउने झन्झटबाट समेत मुक्ति मिलेको छ ।

उनले भने, ‘प्रविधिको सही उपयोग गर्न सके यसले मानिसको काममा धेरै सहयोग गर्छ ।’ मजदुरीलाई दिने ज्यालाको तुलनामा थ्रेसरबाट दाइँ गर्दा समय र खर्चसमेत जोगिने गरेको छ । एक घण्टा थ्रेसर चलाएबापत कृषकले १० किलोग्राम गहुँँ उपलब्ध गराउँछन् । अहिलेको प्रविधि दुई दशकपहिलेको हो, सजिलै कामदार नपाइने भएकाले अब योभन्दा पनि उच्च कोटीका प्रविधिको आवश्यक भएको उनको भनाइ छ । हाम्रो पहुँचमा रहेको प्रविधिले अझै मानवीय साधनको माग धेरै गर्छ अब त सीधै गहुँँ काटदै पेल्दै गर्ने मेसिनको आवश्यकता भइसकेको यादवले सुनाए ।

थ्रेसरले दाइँ गर्दा एकै पटकमा गहुँ र त्यसको भुस छुट्टिएर झर्ने भएकाले निफन्नुपर्ने हैरानी पनि नहुने किसानहरू बताउँछन् । यसले गर्दा किसानमा कामको बोझ कम भएको छ । जिल्ला कृषि विकास कार्यालय सिरहाका अनुसार यस वर्ष जिल्लामा १८ हजार हेक्टर जग्गामा गहुँँ खेती गरिएको छ । वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र यादवका अनुसार कृषिमा नयाँ प्रविधिको प्रवेशले कृषकलाई सहुलियत भएको छ ।

रोपाइँमा पनि मेसिन
गहुँँ भित्र्याउन मात्र होइन सिरहाका किसानले धान रोपाइँ र भित्र्याउन पनि मेसिनकै प्रयोग गरेका छन् । रोपाइँका लागि हाते ट्रयाक्टर र फसल भित्र्याउन पनि उपकरणकै सहायता लिन थालेका छन् । मेसिनको प्रयोगले न्यून कृषि मजदुरको सहयोगमा छिटो र सहज खेतीपाती हुने नवराजपुर ४ देवनगरका रामऔतार यादवले बताए । उनले यस वर्ष तीन बिघा जग्गामा पावर टिलर र धान रोपाइँ गर्ने मेसिनको उपयोगबाट धान खेती गरे भने रम्भाको प्रयोगबाट गहुँँबाली भित्र्याए । देवनगरकै अर्का किसान शुभलाल यादवले डेढ बिघा जमिनमा र बद्री यादवले ५ बिघा जग्गामा कृषियन्त्रबाट धान र गहुँँबाली भित्र्याएको सुनाए । उनीहरू भन्छन्— यन्त्र प्रयोगबाट कृषि मजदुरी अभाव झेल्नुपरेन ।

गाउँका अधिकांश युवायुवती वैदेशिक रोजगारीका लागि कतारलगायत खाडी मुलुक हिंडेपछि वर्षे र हिउँदे खेतीपातीका बेला कृषि मजदुरी अभाव झेल्नुपर्ने सिरहाका कृषकको बाध्यता थियो । ‘तर, यन्त्र भित्रिएपछि यो कृषि मजदुरी अभावको नियति भोग्नुपरेन,’ उनले भने । ‘एउटा पावर टिलरले एक घण्टामा एक बिघाभन्दा बढी जग्गा जोत्न सकिन्छ,’ उनले भने, ‘यसबाट उब्जनी पनि राम्रो हुने, मजदुर अभाव पनि झेल्नु नपर्ने, खर्च र समयको समेत बचत हुन्छ ।’

उनका अनुसार धानबाली भित्र्याएको बाँझो खेतमा पावर टिलर सजिलो माध्यम हो । यतिबेला कृषकले कृषि विकास कार्यालयको अनुदान सहयोगमा गाउँ गाउँमा रोपाइँ मेसिन भित्र्याएका छन् । कृषि प्रयोजनका लागि भन्सार छुट सुविधामा कृषकले खरिद गर्ने ट्रयाक्टर गैरकृषि गिट्टीढुङ्गा ढुवानी, घर निर्माण, ग्राभेल र अन्य विकास निर्माणका कार्यमा पनि प्रयोग हुन थालेपछि कृषक मारमा परेका थिए । कृषिले हाते पावर टिलर उपलव्ध गराउन थालेपछि किसानलाई सहज भएको हो ।

प्रकाशित : वैशाख २५, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?