कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

नक्कली नागरिकता प्रकरण: अग्रवाल कारागार चलान

वडा सचिव राजकुमार देबलाई ७७ हजार धरौटी लिएर तारेखमा छोडन आदेश
अवधेशकुमार झा

राजविराज — झुठो विवरण पेश गरेर नेपाली नागरिकता र किर्ते प्रतिलिपी लिएको आरोपमा भारतीय ब्यापारी सतिश अग्रवाल कारागार चलान भएका छन् ।

नक्कली नागरिकता प्रकरण: अग्रवाल कारागार चलान

मुद्दामा जिल्ला अदालत सप्तरीमा भएको थुनछेक बहसपछि न्यायाधिश श्रीप्रसाद संजेलको इजलासले सोमवार भारतको हरियाणाका ब्यापारी सतिश अग्रवाललाई पुर्पक्षका लागि कारागारमा राख्ने आदेश गरेको हो । अदालतको आदेशपछि अग्रवाललाई सोमवार साझ नै सप्तरी जिल्ला कारागार राजविराज चलान गरिएको छ ।

सोमबार जारी गरिएको आदेशमा तत्काल प्राप्त कागजात र प्रमाणवाट अग्रवाल निर्दोष रहेछन् भन्ने अबस्था नदेखिएकोले मुलुकी ऐनको अदालती बन्दोबस्तको ११८ को देहाय २ र ३ बमोजिम अग्रवाललाई थुनामा राखी पुर्पक्ष गर्नु उल्लेख छ । साथै अग्रवालले अदालतमा बयानका क्रममा आफु बिरामी रहेको बताएकाले आबश्यकता अनुसार स्वास्थ्य परिक्षणको समेत ब्यबस्था गरिदिन समेत आदेशमा उल्लेख छ ।

जिल्ला अदालतले उक्त नागरिकताको मुद्दा प्रकरणमा मुद्दा चलाइएका राजविराज नगरपालिकाका तत्कालीन वडा सचिव राजकुमार देबलाई ७७ हजार धरौटी लिएर तारेखमा छोडन आदेश गरेको छ । देबलाई मुलुकी ऐनको अदालती बन्दोबस्तको ११८ को देहाय ५ र १० नम्बर बमोजिम ७७ हजार धरौटी लिई तारेखमा राख्न अदालतले आदेश गरेको हो । प्रतिबादी सतिश अग्रवाल उपर किर्ते गरि नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी लिएको आरोपमा नेपाल नागरिकता ऐन, २०६३ को दफा (२१) ३ र झूठा विवरण पेश गरेकोमा दफा (२१) १ को कसुर अपराधमा सोही ऐनको दफा (२१) १ र (२१) ३ बमोजिम सजायको मागदाबीसहित जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । यस्तै सिफारिस गर्ने नगरपालिकाका तत्कालीन सचिव देबमाथि नागरिकता ऐन २०६३ को दफा (२१) २ को कसुर अपराधमा सोही ऐनको दफा (२१) २ बमोजिम सजाय मागदाबी सहित अभियोग पत्र दर्ता भएको हो । भारतको हरियाणा राज्यस्थित इसार नगरपालिका उगाल ग्रामपञ्चायतका व्यापारी अग्रवालसित रहेको बंसज नागरिकता ०५२ साल असार २५ गते जारी भएको देखिन्छ ।

पत्नीको पनि नागरिकता नक्कली
सतिश अग्रवालको नक्कली नागरिकताको छानबिन गरिरहेको सप्तरी प्रहरीले उनकी श्रीमती मोनिका अग्रवालको नागरिकता समेत नक्कली रहेको तथ्य निकालेको छ । ०६६ साल जेठ ५ गतेको मितिमा १६१०३०–११३ नम्बरको मोनिका अग्रवालको नामको नेपाली नागरिकता अरुकै नामबाट जारी भएको खुलेपछि मोनिकाको नागरिकता पनि किर्ते गरि बनाईएको खुलेको हो । भारत माइती भन्दै उनले बैबाहिक अंगिकृत नागरिकता किर्ते गरी बनाएकी छन् ।

सप्तरीमा एसपी मुकेशकुमार सिंहका अनुसार मोनिकासित रहेको नेपाली नागरिकता ०६५ साल चैत ११ गते सप्तरीको छिन्नमस्ताकी खातुन मियाको नाममा जारी भएको थियो । खातुनको नाममा जारी भएको नागरिकताको नम्बर किर्ते नागरिकतामा राखेर मोनिकाको नागरिकता कायम गरिएको हो । प्रहरीले मोनिका अग्रवाललाई पनि खोजीको सूचीमा राखेको छ । उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको एसपी सिंहले बताए ।

प्रकाशित : वैशाख २५, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?