जँड्याहा छुटाउन उपमेयरको ‘उपद्रो’

प्रहरी कार्यालयमा आक्रमण, गाउँपालिका उपाध्यक्षसहित ७ पक्राउ

पर्सा — प्रहरीले पक्राउ गरेको ४ भारतीयलाई छुटाउन स्थानीयले इलाका प्रहरी कार्यालय सेढवामा तोडफोड र आगजनी गरेका छन् ।

जँड्याहा छुटाउन उपमेयरको ‘उपद्रो’

जिराभवानी गाउँपालिका–२ स्थित इप्रकामा सोमबार बिहान करिब साढे ३ बजे स्थानीयले आक्रमण गरेका थिए । उनीहरूले ढुंगामुढा, तोडफोड र प्रहरीको सवारीसाधनमा आगजनीसमेत गरे । गाउँपालिका उपाध्यक्ष उषा थारूकै उपस्थितिमा प्रहरी कार्यालयमा आक्रमण गरिएपछि उनलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरीका प्रवक्ता डीएसपी राजन लिम्बुका अनुसार प्रहरीले पक्राउ गरेका ४ जना भारत बेतियाका २२ वर्षीय बजरंगी गौरो, २२ वर्षीय रामप्रवेश गौरो, २१ वर्षीय निरम्बर गौरो र २१ वर्षीय दीनदयाल महतोलाई छुटाउन स्थानीयले दबाब दिएका थिए । आइतबार राति २२ डब्लु २२२४ नम्बरको मोटरसाइकलमा चारै जना चढेर भारततर्फ जाने क्रममा उनीहरूलाई प्रहरी चौकी महादेवपट्टीको गस्ती टोलीले रोकेको थियो । मादकपदार्थ सेवन गरेका भारतीयले प्रहरीलाई अभद्र व्यवहार र अश्लील गालीगलौज गरेपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी हवल्दार वीरबहादुर गुरुङ नेतृत्वको टोलीले प्रहरी चौकीतर्फ लग्न खोज्दा भागेका उनीहरूलाई प्रहरीले पुन: पक्राउ गरी इलाका प्रहरी कार्यालय सेढवामा ल्याएर राखेको थियो ।

स्थानीय तथा केही भारतीयसमेत करिब २ सय ५० को संख्यामा जम्मा भएर पक्राउ परेका भारतीयहरूलाई छाडिदिन प्रहरीलाई चर्को दबाब दिएका थिए । स्थानीयको भीडमा जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरी पनि थिइन् । उनले पनि प्रहरीलाई पक्राउ परेका भारतीयलाई छाडिदिन दबाब दिएको स्थानीयले बताएका छन् । छिमेकी शुभनारायण पटेलको घरबाट चौधरीलाई पक्राउ गरिएको हो । पक्राउ परेका भारतीयमध्येका एक जना उनका आफन्त रहेको स्थानीयको भनाइ छ । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल बीओपी सुवर्णपुर तथा आसपासका अन्य विभिन्न चौकीको प्रहरी टोली पनि त्यहाँ पुगी रातभरि स्थानीयलाई सम्झाइ बुझाइ गर्ने प्रयास गरेको थियो । तर, बिहान करिब साढे ३ बजे उनीहरूले इप्रकामा ढुंगामुढा, तोडफोड र त्यहाँ राखिएका सवारी साधनमा आगजनी सुरु गरेका थिए ।

डीएसपी लिम्बुले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको बताए । योभन्दा बढी हवाई फायर भएको उनले बताउन नचाहे पनि स्रोतले भने अश्रु ग्यास २३ सेल, पेस्तोलबाट १०, सटगनबाट ९, थ्री नट थ्री राइफलबाट १० राउन्ड हवाई फायर गरेको बतायो । त्यसपछि भीड तितरबितर भएको थियो ।

गाउँपालिका उपाध्यक्ष चौधरीको उपस्थितिमा घटना भएकाले उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको डीएसपी लिम्बुले बताए । उनले नबताए पनि स्रोतले भने चौधरीलाई पनि अनुसन्धानका लागि अदालतमा म्याद थप गर्ने तयारी गरेको बतायो । स्थानीयको आक्रमणमा परी केही प्रहरी घाइते भएका छन् ।

प्रकाशित : वैशाख २५, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?