कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मुसहर बस्तीमा मदिरा निषेध

रवीन्द्र उप्रेती

गौशाला (महोत्तरी) — मदिरा सेवनले गाउँ, समाज र परिवारमा विकृति फैलँदै गएकाले दलित बस्तीलाई मदिरा निषेधित क्षेत्र बनाउन अभियान सुरु भएको छ ।

मुसहर बस्तीमा मदिरा निषेध

घरेलु हिंसादेखि गिर्दो स्वास्थ्य र गरिबीको कारण बनेको मदिराले छोराछोरीको पढाइसमेत प्रभावित पार्न थालेपछि मदिराविरुद्ध महिला अग्रसर भएका हुन् । यसको सुरुआत उनीहरूले गौशाला नपा १० भरतपुरको मुसहर बस्तीबाट गरेका छन् । मुसहर समुदायका महिलाले मदिराविरुद्ध पटक–पटक आवाज उठाउँदै आएका छन् ।

यसको नियन्त्रण नगरेसम्म राज्य र दातृ निकायले गरेको सहयोगले दलितको दशा र दिशामा कुनै परिवर्तन नआउने बताए पनि यसप्रति कसैले चासो न दिएको उनीहरूको गुनासो छ । गौशाला नगरपालिकाअन्तर्गत भरतपुर, मनहरवा, बिर्तालगायत गाउँका मुसहर समुदायका महिलाले त मदिरा बन्द गरिदिए आफनो विकास आफैं गरेर देखाउने बताउँदै स्थानीय तह र प्रशासनलाई चुनौती दिएका छन् ।

स्थानीय महिलाकाअनुसार बरालिएर बसेका मुसहर बालबालिकालाई समेटेर पत्रकार तथा सामाजिक अभियन्ता दिनेश महतोले आफनै खर्चमा बिहानी कक्षा सञ्चालन गरेपछि उनीहरूमा पढाइ र सरसफाइप्रति रुचि जागेको छ । तर आफनै बाबु दाजुले मदिरा पिएर पढने वातावरण बिथोल्न थालेपछि बस्तीलाई मदिरा निषेध बनाउन महिलाहरू अगि सर्नुपरेको हो ।

उनीहरूले चालेको कदमलाई स्थानीय तह, प्रहरी, पत्रकार र भद्रभलाद्मीलेसमेत साथ दिएपछि मुसहर र चमार समुदाय गरी ४ सय दलितको बसोवास रहेको बस्ती गौशाला नगरकै पहिलो मदिरा निषेधित भएको हो । गौशाला नगरकी उपप्रमुख आशादेवी लामाको प्रमुख आतिथ्यमा आइतबार सम्पन्न कार्यक्रममा मदिरा निषेधित क्षेत्र घोषाणा गरिएको थियो । ‘म मदिरा पिउँदिन । पिउनेको नामसहित प्रहरीमा खबर गर्नेछु । प्रहरीले पक्राउ गरेपछि छोडाउन दबाब दिने छैन....’ भनी बस्तीका महिला, पुरुष र बालबालिकाले हात उठाएर एक स्वरमा प्रतिबद्धता जाहेर गरेका थिए ।

घोषणाअगि भरतपुर १० की बुधोदेवी सदाले भनिन, ‘दलित समुदायलाई चन्दा र सहयोग होइन मदिरा बन्द गराई देऊ नभए लडाइँ झगडा गरेर मर्ने भए ।’

त्यहींकी प्रमिला सदाले श्रीमान्ले सबै कमाइ रक्सीमै उडाउने गरेको दुखेसो पोखिन् । न घरको नुनतेल न भरखरै पढ्न थालेका छोराछोरीको कापी कलम केही कुराको जिम्मेवारी नलिने गरेको उनको गुनासो थियो । उपप्रमुख लामाले भरतपुरका मुसहर बस्तीको सिको गर्दै नगरका हरेक वडा र टोल बस्तीमा यो अभियान लैजानु पर्ने आवश्यकता औंल्याइन् । ‘घोषण गरेर मात्र अभियान सफल हुँदैन’ लामाले भनिन्, ‘जनप्रतिनिधि, प्रहरी प्रशासन र नागरिक समाज सबैको सहयोगले मात्र नगरवासी मदिराको कुलतबाट मुक्त हुन सक्छन् ।’ वडा सदस्य ललिता रामले पुरुषलाई सुधार्न नसक्दा महिलासमेत मदिरा पिउन बाध्य बनेको अर्को विकृतिको खुलासा गरिन् । उनले स्थित नियन्त्रणबाहिर जान थालेको जनाउँदै सबैलाई सजग रहन आग्रह गरिन । सोही वडाकी दलित महिला प्रमिला राम भने घोषणा भए पनि मदिरा निषेध हुने कुरामा शंका गर्छिन । कारण गाउँमै ३/४ वटा मदिरा उत्पादन भट्टी छन् । ‘तिनले मदिरा उत्पादन गर्दा बस्ती नै दुर्गन्धित हुन्छ’, उनले प्रश्न गरिन, ‘त्यसलाई न रोकेसम्म कसरी मदिरा निषेध हुन्छ ?’ पिउनेलाईभन्दा उत्पादन गर्नेलाई कडा कारबाही गर्न उनले माग गरिन ।

प्रहरीले भरतपुर मात्र होइन आसपासका सबै मदिरा भट्टीमा निगरानी बढाएको दाबी गरेको छ । उत्पादन र बिक्री–वितरण गर्नेमाथि कडा कारबाही गर्ने इलाका प्रहरी कार्यालय गौशालाले बताएको छ । मदिरा निषेधित घोषण कार्यक्रममा सहभागी वडा नं १० र ११ का वडाध्यक्षहरू शेष जलिल र बद्री श्रेष्ठले आफना वडाबासीलाई मदिराको कुलतबाट जोगाउन सबै प्रकारको सहयोग र प्रयास गर्ने प्रतिबद्धता जाहेर गरे ।

नगरपालिकाका उपसचिव कृष्ण चापागाईंका अनुसार नगर प्रशासन अवैध मदिरा उत्पादन, सेवन र बिक्री वितरण नियन्त्रण गर्न नीतिगत रूपमा अगि बढेको छ । ‘मदिराले हानि र विकृति मात्र फैलाउने हुँदा नरपालिका अवैध मदिरा निषेध गर्न हमेसा तयार छ,’ चापागाईंले भने ।

आफ्नो बस्ती मदिरा निषेधित घोषणा भएको खुसीमा बस्तीका महिला र बालबालिकाले मदिराविरुद्ध ब्यानरसहित चेतसमूलक र्‍याली निकालेका थिए ।

प्रकाशित : वैशाख २५, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?