१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

निजी छोडेर सामुदायिकमा पढ्ने बढे

शंकर आचार्य

पर्सा — नाम चलेको एक निजी विद्यालयको पढाइ छोडेर प्रियांशु रौनियार यस वर्ष वीरगन्जकै सामुदायिक विद्यालय माइस्थान विद्यापीठको कक्षा ८ मा भर्ना भइन् । आफू पढन थालेको विद्यालयको पढाइबाट उनी सन्तुष्ट पनि छन् ।

निजी छोडेर सामुदायिकमा पढ्ने बढे

पर्सा–

‘मलाई सरकारी विद्यालयको पढाइ र बोर्डिङको पढाइमा खासै फरक लागेन,’ उनले भनिन्, ‘बोर्डिङकै गुणस्तरको पढाइ सरकारी स्कुलमा भएपछि किन बोर्डिङमा पढ्ने ?’


प्रियांशु जस्ता थुप्रै विद्यार्थी यो वर्ष उक्त विद्यालयमा भर्ना भएका छन् । २०७१ सालदेखि अंग्रेजी माध्यमबाट पनि पठनपाठन सुरु गरेको विद्यालयमा यसपालि वर्ष भर्ना हुन आउने विद्यार्थीको चाप थेग्नै नसक्ने भएको छ । विद्यालयमा बिहानी सत्रमा नेपाली माध्यमबाट र दिवा सत्रमा अंग्रेजी माध्यमबाट पढाइन्छ । जिल्लाकै पुरानो यो विद्यालयमा ४ वर्षयता नेपालीभन्दा अंग्रेजी माध्यमबाट अध्ययन गर्ने विद्यार्थी बढिरहेको प्राचार्य विनोद मेहताले बताए । कक्षा ६ देखि अंग्रेजी माध्यम चलाइएको छ । कक्षा ६ मा नेपाली र अंग्रेजी माध्यममा २/२ वटा सेक्सन छन् ।

कक्षा ७ मा अंग्रेजीतर्फ ३ नेपाली तर्फ २, कक्षा ८ मा अंग्रेजीतर्फ ७ र नेपालीतर्फ ३, कक्षा ९ मा अंग्रेजीतर्फ ७ नेपालीतर्फ ३ र कक्षा १० मा अंग्रेजीतर्फ ४ र नेपालीतर्फ २ सेक्सन छन् । यसले विद्यालयमा अंग्रेजी माध्यमको पढाइमा बढेको आकर्षणलाई प्रमाणित गर्छ । ‘भर्ना हुन आइरहेका विद्यार्थीको चाप थेग्न गाह्रो भइसकेको छ,’ उनले भने, ‘भर्नाका लागि नेताहरूको सिफारिस समेत आउन थालेको छ ।’

पछिल्ला २ वर्षयता जिल्ला शिक्षा कार्यालयबाट जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा पुरस्कृत हुँदै आएको यो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने २ दर्जनभन्दा बढी शिक्षक शिक्षिका छन् । ‘हामीले संस्थागत विद्यालयकै जस्तै गुणस्तर, सुविधा र शिक्षक उपलब्ध गराएपछि विद्यार्थीको थामी नसक्नुको भीड बढेको छ,’ प्राचार्य मेहता भन्छन्, ‘शुल्क पनि संस्थागत विद्यालयभन्दा आधा मात्र लिएकाले अभिभावकलाई पनि सस्तो र सहज भएको छ ।’ हाल कक्षा ६ को ८ सय, ७ को ९ सय, ८ को १ हजार, ९ को १ हजार २ सय र १० को एक हजार ४ सय रुपैयाँ मात्र शुल्क लिएको उनले बताए । विद्यार्थीको शुल्कबाटै शिक्षकको तलब धानिएको उनले बताए ।

विद्यालय गए डोम बस्तीका बालबालिका
पर्सा (कास)– वीरगन्ज–२४ चण्डालचोकको डोम बस्तीकी ६ वर्षीया बालिका चाँदनी राउत निकै खुसी देखिन्थिन् । विद्यालय जाने उनको सपना पूरा भएपछि उनको मुहारमा चमक आएको थियो । ‘स्कुल जाने मेरो रहर बल्ल पूरा भयो,’ उनले भनिन्, ‘अब एक दिन पनि नबिराई सधैं स्कुल जान्छु ।’ उनकी साथी ५ वर्षीया समरिया राउतले भनिन्, ‘स्कुलमा रमाइलो हुँदो रहेछ, म पनि सधैं स्कुल आउँछु ।’चाँदनी र समरियाजस्ता यो बस्तीका २१ बालबालिकाले सोमबार एकै साथ बस्ती नजिकको शारदा माविमा पहिलो पटक पाइला टेके । ५ देखि १२ वर्ष उमेर समूहका बस्तीका यी बालबालिकाले हालसम्म विद्यालयको मुहार देखेका थिएनन् । शिक्षाको क्षेत्रमा कार्यरत आसमान नेपालले उनीहरूलाई विद्यालयसँग जोडेको हो ।

एक साताको प्रयासपछि बस्तीका बालबालिकालाई विद्यालय भर्ना गराउन सफल भएको आसमानका कार्यक्रम प्रमुख मुनिलाल बैठाले बताए । ‘बस्तीका बालबालिकामा पढ्ने रहर त थियो, तर अभिभावक नै आआफ्ना छोराछोरीलाई विद्यालय पठाउन चाहन्थेनन्,’ उनले भने, ‘शिक्षाको महत्त्व नबुझ्नु, आफ्ना छोराछोरीलाई विद्यालयमा भेदभाव हुन सक्ने अनुमान गरेर यसो भएको रहेछ, विद्यालय व्यवस्थापनसँग गम्भीर छलफल गरेर मनाएपछि मात्र अभिभावक राजी भएका हुन् ।’ हाललाई सबै बालबालिकालाई कक्षा १ मा भर्ना गरिएको र आगामी वर्ष उनीहरूको खुबीका आधारमा माथिल्लो कक्षामा लगिनेछ ।

प्रकाशित : वैशाख २६, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?