१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

उपाध्यक्षसहित ५ जनालाई मुद्दा

पर्सा — इलाका प्रहरी कार्यालय सेढवामा सोमबार बिहान आक्रमण गरेको आरोपमा पक्राउ परेकी जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा थारू सहित ४ भारतीयलाई सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाइएको छ ।

उपाध्यक्षसहित ५ जनालाई मुद्दा

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजन लिम्बुले थारूसहित पक्राउ परेका भारत बेतियाका बजरंगी गौरो, रामप्रवेश गौरो, निरम्बर गौरो र दिनदयाल महतोलाई सार्वजनिक ऐन अन्तर्गत मुद्दा चलाइएको बताए । ‘हाललाई चौकी आक्रमण आरोपमा पक्राउ परेका ५ जनालाई यो मुद्दा चलाइएको छ,’ उनले भने, ‘उक्त घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको छ ।’

उपाध्यक्ष थारूलाई प्रहरीले हिरासतमा नराखी सामान्य अवस्थामा जिप्रकामै नियन्त्रणमा राखी रहेको छ । एउटै मोटरसाइकलमा चढेर यात्रा गरिरहेका ४ भारतीयलाई प्रहरीले पक्रन खोज्दा उनीहरूले उल्टै प्रहरीलाई अभद्र व्यवहार र गाली गलौज गरेका थिए । प्रहरीले उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सेढवामा राखेको थियो । पक्राउ गरिएका भारतीयलाई छाड्नुपर्ने माग गर्दै इप्रकामा सोमबार बिहान करिब साढे ३ बजे स्थानीयले ढुंगामुढा, तोडफोड र प्रहरीको सवारी साधनमा आगजनी गरेका थिए । गाउँपालिका उपाध्यक्ष थारूको उपस्थितिमा उक्त घटना भएको भन्दै प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएको थियो ।

स्थानीय तथा केही भारतीयहरूसमेत भेला भएर पक्राउ परेका भारतीयहरूलाई छाडिदिन प्रहरीलाई दबाब दिएका थिए । भिडमा जिराभवानी गाउपालिकाकी उपाध्यक्ष उषा चौधरी पनि थिइन् । रातभरी स्थानीयलाई सम्झाइबुझाइ गर्ने प्रयास प्रहरीले गरे पनि बिहान करिब साढे ३ बजे स्थानीयले इप्रकामा ढुंगामुढा, तोडफोड र त्यहाँ राखिएका सवारी साधनमा आगजनी गरेका थिए ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गर्नुका साथै २३ सेल अश्रु ग्यास, पेस्तोलबाट १०, सटगनबाट ९, थ्रिनट थ्रि राइफलबाट १० राउन्ड हवाई फायर गरेको थियो । भीडले प्रहरीको बा२प ५७०५ नम्बरको र नम्बर नखुलेको अर्को बेवारिसे मोटरसाइकलमा आगजनी गरेको थियो । भीडले प्रहरीको भ्यानको सिसा फुटाउनुका साथै प्रतीक्षालय पनि तोडफोड गरेको थियो । घटनामा प्रसनिहरू गोपाल खड्का, सुकेश्वर महतो, शम्भु यादव, प्रज जयप्रकाश यादवसमेत घाइते भएका थिए ।

प्रकाशित : वैशाख २६, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?