१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

नदीले धार बदलेपछि पुल अलपत्र

शिव पुरी

रौतहट — वाग्मती नदीले धार परिवर्तन गरेपछि निर्माणाधीन रहेको रौतहट–सर्लाही सीमास्थित बडहर्वा पुलको काम अलपत्र परेको छ । झन्डै ३ वर्षदेखि पुलको निर्माण रोकिएको छ ।ठेकेदारले पुल निर्माणका क्रममा जग खन्दा निस्कने माटो व्यवस्थापन नगर्दा साबिकभन्दा पूर्वबाट खोला बग्न थालेपछि हुलाकी आयोजना निर्देशनालयले काम रोकेको हो ।

नदीले धार बदलेपछि पुल अलपत्र

हुलाकी सडक आयोजनाअन्तर्गत दुवै जिल्लाको सीमा जोड्ने गरी राजदेवी नगरपालिका ३ स्थित बडहर्वा पुलको २०६७ जेठ ३१ गते सम्झौता भएको हो । २०७० जेठ ३० गते निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

हुलाकी आयोजना निर्देशनालयका कामु निर्देशक श्यामप्रसाद खरेलले पुल निर्माण गरिएको भन्दा ८ सय मिटर पूर्वबाट खोला बग्न थालेपछि काम रोकिएको बताए । ‘पुल एकातिर, खोला अर्कोतिर हुने देखिएपछि निर्माण गर्नुको अर्थ रहँदैन,’ उनले भने, ‘अन्य कारण होइन । पुलको हाइट पनि कम भएको हो कि भन्ने कुरा आएको छ ।

ठेकेदारलाई बोलाएर निर्माणको अवधि बढाएर काम सुरु गर्न भन्छौं ।’ पुलको हाइट कम भएपछि ७० सेमि बढाउन निर्देशनालयले अध्ययन थालेको थियो । त्यसका लागि पुल्चोकस्थित इन्जिनियर कलेजबाट आएका परामर्शदाताले स्थलगत निरीक्षण गरी बढीमा २० सेमिमात्र हाइट बढाउन सकिने प्रतिवेदन दिएको निर्देशनालयले जनायो ।

नदीले धार परिवर्तन गर्दा समस्या आएपछि पुलको हाइट नपुग्ने र बढाउनु पर्ने सुझाव आएको हो । पुलको हाइट थप्ने, लागत बढ्ने र निर्माणको म्याद थपका बारेमा फाइल मन्त्रालय पठाइएको कामु निर्देशक खरेलले जनाए । ‘२/४ दिनमा स्वीकृत भई आउँछ होला,’ उनले भने, ‘त्यसपछि ठेकेदारलाई पत्राचार गरी प्रतिवेदनअनुसार निर्माण थाल्न अनुरोध गर्छौं ।’ पुलको लम्बाइ ६ सय ३३ मिटर तोकिएको छ । चौडाइ डबल लेनको छ । पुलको १७ वटा पिलरको काम सकिएको छ । अब सुपर स्ट्रक्चरको काम बाँकी छ । कन्सल्टेन्टले दिएको प्रतिवेदन अनुसारको काम बाँकी छ ।

निर्देशनालयका अनुसार अहिलेसम्म ६० प्रतिशत काम सकिएको छ । लुम्बिनी बिल्डर्स प्रालि सिद्धार्थनगरले ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा ठेक्का सकार गरेको हो । लुम्बिनी बिल्डर्सले ठेक्का सकार गरेपछि सम्पूर्ण कामको जिम्मा पप्पु कन्स्ट्रक्सनले लिएको हो ।

नाम लुम्बिनीको भए पनि काम पप्पु कन्स्ट्रक्सनले गर्ने ठेकेदारबीच सहमति भएको पाइएको छ ।तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पुलको शिलान्यास गरेका हुन । अहिले पिलरको कामबाहेक भएको छैन । लामो समयदेखि पुल अलपत्र परेको भन्दै एमाले नेता नेपालले आक्रोश पोखेका छन । उनले निर्देशनालयलाई चाँडो काम सुरु गर्न अनुरोध गर्दै आएका छन । काम रोकिएपछि ठेकेदार र उसका प्रतिनिधि कोही नआएको स्थानीय सीताराम उपाध्यायले बताए ।

‘के कारणले काम रोकियो भन्ने हामीलाई जानकारी छैन,’ निर्माणस्थल छेउमै घर रहेका उपाध्यायले भने, ‘अहिले न ठेकेदार आउँछ न उसका प्रतिनिधि नै । काम त्यतिकै अलपत्र परेको छ ।’ पुल बनेपछि रौतहट सर्लाहीका स्थानीयलाई सुविधा हुन्छ । वाग्मती नदीले कटानमा पारेपछि जिल्लाको केही गाउँ पारी सर्लाहीमा परेको छ ।

अहिले डुंगाको सहायताले मानिसहरू वारपार गर्छन् । वर्षाको बेला आवतजावत ठप्प हुन्छ । पुल नबन्दा स्थानीयलाई वारपार गर्न कठिन हुने गरेको छ । पुल महाशाखाका डीई अर्जुनजंग थापाले ठेकेदारले पुलको जग खन्दा निस्केको माटो व्यवस्थापन गर्न नसक्दा पानी त्यही माटोमा ठोक्किएर धार परिवर्तन गरेको बताए । ‘ठेकेदारले जग खन्दा निस्केको माटो तत्कालै हटाउनुपथ्र्यो,’ उनले भने, ‘त्यसो गरेनन् ।’ वर्षाको बेला माटोकै कारणले पुलभन्दा धेरै पूर्वबाट नदी बग्न थाल्यो ।’ पप्पु कन्स्ट्रक्सनका निर्देशक सुमित रौनियारसित सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

नदीको धार फर्काइने
हुलाकी आयोजना निर्देशनालयले नदीलाई पुरानै अवस्थामा फर्काउने तयारी थालेको छ । यसो गर्दा पुल निर्माण सम्पन्न गर्न सहज हुनेछ । खोला पूर्णरूपमा सर्लाहीतिर बग्न थालेपछि समस्या भएको हो । नदी पुलभन्दा बाहिर बग्ने भएपछि निर्माणको काम तत्कालै रोकिएको हो । नदीको धार फर्काउन प्राविधिक सहितको टोलीले स्थलगत प्रतिवेदन दिइसकेको छ । नदी नियन्त्रण गरी चाँडै धार परिवर्तन गरी पुरानै स्थानमा खोला ल्याइने पुल महाशाखाका डीई थापाले बताए ।

डिजाइनमै शंका
सडक विभागका एक प्राविधिकले पुल निर्माण गर्दा डिजाइन समान्य त्रुटि भएको प्रतिक्रिया दिए । ‘वाग्मती नदीको अवस्था हेर्दा पुलको पिलर निकै होचो भयो,’ उनले भने, ‘यही अवस्थामा निर्माण गरियो भने पुल बगाएर लैजान्छ ।’ पुलको डिजाइन जमिनको सतहभन्दा थोरै माथि निर्माण गरिएकाले समस्या आउन सक्ने प्राविधिक बताउँछन् । निर्देशनालय पनि पिलरको हाइट २० सेमिसम्म थप्ने जनाएको छ । हाइटका साथै पिलरसमेत थप्नुपर्ने अवस्था आएको छ ।

प्रकाशित : वैशाख २६, २०७५ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?