विद्यालय भर्ना गर्नै हम्मे

मुसहर बालबालिका
भरत जर्घामगर

सिरहा — थातथलो र जीविकाको समस्या भोगिरहेका मुसहर समुदायका बालबालिकालाई विद्यालय भर्ना गराउन सरोकारवाला निकायलाई हम्मे परेको छ ।

विद्यालय भर्ना गर्नै हम्मे

सिरहाको धनगढीमाई नगरपालिकामा शनिबार सामुदायिक विकास मञ्चद्वारा आयोजित ‘हरुवा–चरुवा सशक्तीकरण परियोजना’ सम्बन्धी परिचयात्मक गोष्ठीमा शिक्षा विकास तथा समन्वय इकाइका विद्यालय निरीक्षक रामलखन मण्डलले अन्य समुदायलाई विद्यालय भर्ना गर्न सजिलो भए पनि दलित मुसहर समुदायका बालबालिकालाई विद्यालय भर्ना गर्न मुस्किल परेको गुनासो गरे ।

‘वैशाखभरि विद्यालय भर्ना अभियान चलिरहेको छ, तर मुसहर समुदायका बालबालिकालाई विद्यालय भर्ना गराउनै सकिएको छैन,’ उनले भने, ‘उनीहरूलाई भर्ना गर्न भनेर विद्यालय लिएर जान्छौं । तर भोलिपल्टै इँटाभट्टा र होटलमा काम गरिरहेका भेटिन्छन् ।’राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा मुसहर समुदायको जनसंख्या २ लाख ९९ हजार ९ सय ९७ छ । सबैभन्दा बढी सिरहामै छन । समुदायका अगुवा गुरुशरण सदाले यहाँ ४० हजारको हाराहारीमा मुसहरको बसोबास रहेको जानकारी दिए ।दलितमध्ये पनि आर्थिक रूपमा अति विपन्न जातिमा दरिन्छन्, मुसहर समुदाय । ९० प्रतिशतभन्दा बढी भूमिहीन सुकुम्बासी छन् । अरूको घरमा मजदुरीमा खटिएर गुजारा चलाउन बाध्य छन् । धनगढीमाई नगरपालिका–९ का वडाध्यक्ष प्रकाश योञ्जनले मुसहर समुदायका बालबालिकालाई विद्यालय भर्ना गराउनुका साथै तिनका अभिभावकलाई समेत आयआर्जनमा लगाउन सके मात्र मुसहर
बालबालिकाकालाई पढ्ने वातावरण सिर्जना हुने बताए ।

‘बालविकास केन्द्रबाट आधारभूत कक्षामा उक्लिनेबित्तिकै मुसहर बालबालिकाहरू विद्यालयबाट बाहिरिन थाल्छन्,’ धनगढीमाई नगरपालिकाका नगरप्रमुख हरिनारायण चौधरीले भने, ‘जबसम्म मुसहर जातिकै मुख्य समस्याका रूपमा रहेको जीविकोपार्जन र बसोबासको चुनौती केन्द्रीयस्तरबाट सम्बोधन गरिंँदैन तबसम्म मुसहर समुदायको उत्थान हुन गाह्रो छ ।’ सामुदायिक विकास मञ्चका अध्यक्ष विनोद चौधरीले हरुवा–चरुवाका रूपमा सबैभन्दा बढी मुसहर समुदाय नै रहेकाले उनीहरूको उत्थानका लागि स्थानीय सरकारले समेत भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै मुसहर समुदायको बढी बसोबास रहेको स्थलमा नै आफूहरूले हरूवा–चरुवा उन्मूलनको अभियान चलाइरहेको जानकारी दिए ।

‘दलित विद्यार्थी’ कै भर
सिरहाको दक्षिण पश्चिमवर्ती सिक्रोन भरेवास्थित मौजे जनता आधारभूत विद्यालयमा ५ कक्षासम्म पढाइ हुन्छ । २०१७ मा स्थापित यो विद्यालयमा ९१ बालबालिका अध्ययनरत छन् । ६५ भन्दा बढी बालबालिका दलित दास (तत्मा) र केवट समुदायका छन् । बालबालिका नियमित विद्यालय नआउँदा शिक्षकसमेत दिनहुँ उपस्थित हुँदैनन् भने शिक्षक पनि पढाउने जाँगर चलाउनुभन्दा अधिकांश समय घरमै बस्छन् ।

विद्यालयमा दरबन्दीमा ४ शिक्षक, १ बाल शिक्षा र कार्यालय सहयोगी कार्यरत छन् । ९१ विद्यार्थीका लागि मासिक १ लाख २ हजार रुपैयाँ तलबबापत सरकारले खर्चंदै आएको छ । नेपालमा पहाडी ७ र मधेसीमूलका १९ गरी २६ जाति दलित समुदायमा पर्छन् । तर, मधेसमा दलित मध्ये पनि अति विपन्न भूमिहीन सुकुम्बासीमा पर्ने मुसहर समुदायका बालबालिका अझै पनि शिक्षाको पहुँचभन्दा बाहिर रहेको दलित अधिकारकर्मी उमेश बिसुन्केले बताए ।‘दलित र गरिब बालबालिकाको भरमा सामुदायिक विद्यालय सञ्चालित छन्,’ उनले भने, ‘मधेसीमूलका १९ दलित जातिमध्ये मुसहर बालबालिका विद्यालय पुग्न सकेका छैनन् ।’

यसको मुख्य कारण गरिबी नै हो । सिरहाका ४ सय २२ सामुदायिक विद्यालय दलित बालबालिकाको भरमा सञ्चालित छन । जिल्ला शिक्षा समन्वय इकाइको तथ्यांक अनुसार १ देखि १२ कक्षासम्म सिरहामा १ लाख ६४ हजार ५ सय २ विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । तीमध्ये दलित विद्यार्थीको संख्या ३९ हजार ४ सय ७१ छ ।

प्रकाशित : वैशाख ३०, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?