१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बटसावित्री पर्व मनाइयो

जनकपुर — मिथिलाका नवविवाहित महिलाले बटसावित्री पर्व मनाएका छन् । जनकपुरका पोखरी, तलाउ र बरका बोटमा मंगलबार यो पर्व मनाउन महिलाको भीड थियो ।

बटसावित्री पर्व मनाइयो

नवविवाहित महिलाले विशेष आस्थाकासाथ मनाउने बटसावित्री पर्वलाई मिथिलामा बर्साइत पनि भनिन्छ । नयाँ वस्त्र, शृङ्गार र गहना लगाएर महिलाले बरको रूखमा बटसावित्री पर्व मनाए । बटसावित्रीका दिन मैथिल नारीले स्नान गरेर बरको रूखमा पूजाअर्चना गर्छन् ।


बरको रूख घरबाट टाढा हुनेले घरमै बिरुवा रोपेर पूजाअर्चना गर्ने चलन छ । पर्वको एक दिन अगाडि अरबा–अरबाइन खाने र जेठ आमावस्यका दिन नयाँ वस्त्र लगाएर माटाको भाँडोमा लावा राखेर गीत गाउँदै पूजाअर्चना गर्छन् ।


पूजा गर्दा बरको रूखलाई हाते पंखा (बाँसको) हल्लाएर शितल पारिन्छ । बटसावित्री पर्व मैथिल ब्राह्मण, कायस्थ, बडही तथा सोनार समुदायका महिलाले मनाउने गर्छन् ।


जनकपुरको गंगासागर, धनुषसागर, महाराजसरसहितका पवित्र सरोवरको डिलमा रहेका बरका रूखमा बटसावित्री पर्व मनाउने महिलाको घुइँचो लागेको थियो । पहिलोपटक सावित्रीले यो पर्व मनाएको मान्यताका आधारमा पतिको दिर्घायुको कामना गर्दै बटसावित्री पर्व मनाउने परम्परा छ । बटसावित्री पर्वमा आँप, लिच्ची, धानको लावा र दूध प्रसाद बरको रूखमा चढाइन्छ ।

प्रकाशित : जेष्ठ १, २०७५ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?