मदिरा भारत तस्करी

अमन कोइराला

सर्लाही — भारतको विहारमा मदिरा निषेध भएपछि पिउनेले अनेक उपाय निकालेर नेपालबाट रक्सी लैजाने गरेका छन् । लुकाएर लैजान सजिलो भएकाले खुकुरीको आकारको बोतलमा पाइने रम किन्न आउने ग्राहक बढेका हुन् । जाडोमा रूचाइने रम गर्मीमा पनि विहारमा जाने गर्छ ।

मदिरा भारत तस्करी

चेप्टो खुकुरी आकारमा ३ सय ७५ मिलिलिटर परिमाण हुने रम हलुका सवारी साधनमा नेपाल आउने भारतीयले लैजाने गरेका छन् ।

बिहार सोनवर्षाका इन्द्रजित प्रसादले सिटको चेपमा सहजै अट्ने भएकाले खुकुरी आकारको बोतलमा रम लैजान खासै समस्या नहुने बताए । अभावका बेला सहजै पाइने जुनसुकै मदिरा पनि खपत हुने गरेको उनको भनाइ छ । मदिरा निषेधपछि विहारीलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा भट्टी (पसल) खुल्ने क्रम बढेको छ । सधैं सीमा पार गरेर खान समस्या हुने भएकाले केहीले यस्ता बोतल लगेर राख्ने गरेको प्रसादले बताए ।

‘गर्मीमा वियर खान सीमापार जाने त पर्याप्त हुन्छन्,’ उनले भने, ‘सीमाभन्दा अलि टाढाका ग्राहकले नेपाल जाँदा केही बोलत रम ल्याउने गर्छन् ।’ उनले स्वाद र गुणस्तर हेरेर मात्र मदिरा बिक्री हुने गरेकोमा अहिले बोतलको आकारका कारण पनि खपत हुने गरेको सुनाए । सर्लाहीका व्यापारीले पनि विहारका ग्राहकलाई लक्षित गरी पसलमा रम सजाएर राख्छन् । एक व्यापारीका अनुसार भारतीय ग्राहककै आग्रहमा खुकुरी आकारको बोतलमा पाइने रम बेच्न राखेको बताए ।

‘जाडोका बेला बिक्री बढी हुने भनेर ल्याएको थिएँ,’ ती व्यापारीले भने, ‘भारतीय ग्राहकले खुब रुचाए । उनीहरूले यस्तो आकारको बोतलमा सुरक्षाकर्मीको आँखा छलेर सीमा कटाउन सजिलो हुन्छ भनेर लैजाने गर्छन् । ती ग्राहककै लागि केही बोतल जति बेला पनि राख्नुपर्छ ।’ बोतल आकारमा नहुँदा कसैले मदिरा भनेर शंका नगर्ने, हेर्दा कलात्मक आकार जस्ता विशेषता भएकाले पनि भारतीय ग्राहकले बढी रुचाएका हुन् ।

विहारमा निषेध भएपछि लुकाएर लगिने घरेलु र अन्य मदिराको भाउ भने बढेको छ । प्रसादले नाकाबन्दी हुँदा नेपालको जुनसुकै कुनामा इन्धन पुगे जस्तै विहारमा पनि निषेध गरिएको मदिरा कालो बजारीमा सहजै पाउने गरेको बताए ।‘पहिले भारु सय पर्नेलाई अहिले ३ सयसम्म तिर्नुपर्छ,’ उनले भने, ‘मदिरा निषेधले सेवन गर्नेको खर्च बढेको छ । मदिरा निषेधले सकारात्मक परिवर्तन पनि भएको छ । गाउँघरमा दैनिक जसो हुने झगडा, हो हल्ला रोकिएको छ । मदिरा खाने मान्छे पक्राउ पर्ने डरले बढी सतर्क हुन थालेका छन् । महंगो भएकाले थोरै खाएर चित्त बुझाउने गर्छन् ।’

प्रकाशित : जेष्ठ २, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?