कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बुर्कामै सीप सिक्दै मुस्लिम महिला

शंकर आचार्य

पर्सा — वीरगन्ज महानगर १४ बहुअरीकी ३० वर्षीया रेश्मा खातुनको व्यस्तता अचेल बढेको छ । घरको चुलोचौकाको काम सिध्याएर उनलाई टोलमै सञ्चालित ड्रेस मेकरको तालिममा सहभागी हुने चटारो हुन्छ ।

बुर्कामै सीप सिक्दै मुस्लिम महिला

शिक्षा मन्त्रालयद्वारा इभेन्ट परियोजनाको आर्थिक सहयोगमा साना व्यवसाय परामर्श तथा तालिम केन्द्र प्रालिद्वारा सञ्चालित ३ सय ९० घण्टाको यो तालिममा उनले विभिन्न थरीका कपडा सिउने सीप सिक्दै छिन् । ९० दिने तालिमको ५१ औं दिनमा बुधबार भेटिएकी उनको जोस र उत्साह सुरुका दिनकै जस्तो देखियो ।

एक महिना लामो कठोर उपवास रोजा व्रतमा पनि उनले भोक र प्यासको पर्वाह नगरी तालिमलाई निरन्तरता दिने बताइन् । ‘बिहीबारदेखि रोजा व्रत सुरु हुँदै छ, यस्तो उपयोगी तालिम बीचमै छोड्ने कुरो पनि भएन,’ उनले भनिन्, ‘भोकैप्यासै रहे पनि तालिम कुनै पनि हालतमा सिध्याउँछु ।’

रेश्माका पति सकिल अन्सारी टोलकै एक कपडा उद्योगमा लुम मजदुरका रूपमा काम गर्छन् । ३ छोराछोरीको परिवार पाल्न पतिको कमाइले मात्र पुग्दैन । ‘अब मैले जानेको सीपको सदुपयोग गर्छु, तालिम सकिएपछि टेलर सञ्चालन गरेर हुने कमाइले पतिलाई घरव्यवहार चलाउन सहयोग गर्छु,’ उनले भनिन्, ‘मेरा लागि यो सीपमूलक तालिमको धेरै महत्त्व छ ।’

तालिममा सहभागी अर्की मुस्लिम गृहिणी २८ वर्षीया सहिला खातुनको पनि योजना रेश्माको जस्तै छ । कालो बुर्का लगाएर रंगीबिरंगी कपडामा आफ्नो सीप तिखार्दै गरेकी उनलाई तालिममै सहभागी अन्य प्रशिक्षार्थीसँग मिलेर एउटा टेलर खोल्ने रहर छ । पति असमान अन्सारी गाडी चलाउँछन् । ३ छोराछोरीसहितको परिवार चलाउन उनलाई पनि गाह्रो भएको छ । त्यसकारण टेलर चलाएर स्वरोजगार बन्ने उनको योजना छ । ‘कतिन्जेल घरकै चौघेरामा सीमित भएर बस्ने,’ उनले भनिन्, ‘हातमा सीप भएपछि आफ्नै व्यवसाय थालेर रामै्र कमाइन्छ भन्ने आत्मविश्वास पलाएको छ ।’

रेश्मा र सहिलाजस्ता डेढ दर्जन मुस्लिम महिला यो तालिममा सहभागी छन् । कुल २० प्रशिक्षार्थी महिलामध्ये २ मात्र हिन्दु छन् । बुर्का लगाएर भए पनि तालिम लिन उत्साहित मुस्लिम महिलाको जोस हेर्नलायक छ ।

जोस र लगनका कारण छोटो समयमै उनीहरू टोपी, भोटो, ब्लाउज, साया, चौबन्दी, गाउन आदि मज्जाले सिउन सक्ने भएका छन् । प्रशिक्षिका जहाँ आरा पनि मुस्लिम समुदायकै महिला हुन् । उनले पनि पछिल्लो समय मुस्लिम समुदायका महिलामा सीप र रोजगारीप्रति आकर्षण बढेको बताइन् ।

साना व्यवसाय परामर्श तथा तालिम केन्द्रका कार्यकारी निर्देशक विजय श्रीवास्तव मुस्लिम टोल भएकाले प्रशिक्षार्थी पनि जुट्दैनन् कि भन्ने चिन्ता भए पनि मुस्लिम महिलाकै उल्लेख्य संख्या भएपछि आफूहरू पनि उत्साहित भएको बताउँछन् । ‘मुस्लिम महिलामा सीप र रोजगारप्रति त नचिताएको लगन पो देखियो,’ उनले भने, ‘यसले नेपाली मुस्लिम महिलामा पछिल्लो समय आएको परिवर्तनलाई संकेत पनि गर्छ ।’

प्रकाशित : जेष्ठ ३, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?