मिथिला चित्रांकित पर्खालका पसल हटाइए

चित्रकला छोप्ने गरी कुनै पनि व्यवसाय नगर्न नगरपालिकाको चेतावनी

जनकपुर — रंगभूमि मैदान र जानकी मन्दिरको पर्खालमा कोरिएका मिथिला चित्रकला छोप्ने गरी राखिएका घुम्ती पसल, टहरा र ठेला हटाइएको छ ।

मिथिला चित्रांकित पर्खालका पसल हटाइए

धार्मिक सहर जनकपुरको आकर्षण बढाएको पर्खालमा कोरिएको मिथिला चित्रकला छोप्ने गरी कुनै पनि व्यवसाय नगर्न उपमहानगरपालिकाले चेतावनी दिएपछि पसल हटाइएका हुन् ।

जनकपुर उप–महानगरपालिकाले सूचना जारी गर्दै मिथिला चित्रकला छोप्ने गरी थापिएका पसल, टहरा र ठेला नहटाए कारबाही गर्ने चेतावनी दिएको छ । ‘पर्यटकीय दृष्टिकोणले बनाइएका मिथिला पेन्टिङ चित्रण गरिएको भित्ता (पर्खाल) अगाडि कुनै किसिमको पटके घुम्ती पसल, ठेला नराख्न तथा पर्चा, पम्पलेट नटाँस्न जानकारी गराइन्छ,’ उप–महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘त्यस्तो काम गर्नेलाई कारबाही हुनेछ ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा जनकपुरको रंगभूमि मैदान र जानकी मन्दिरको पर्खाललाई केसरिया रंगले पोतेर मिथिला पेन्टिङ गरी सुन्दर बनाइएको छ । तर, रंगभूमि मैदानको दक्षिणी र जानकी मन्दिरको उत्तरी पर्खाल नै ढाक्ने गरी घुम्ती पसल र सवारीसाधन पार्किङ गर्दा फेरि त्यो क्षेत्र कुरुप बन्न थालेको छ ।

जनकपुर उप–महानगरपालिकाका मेयर लालकिशोर साहले फूटपाथमा पसल थाप्न दिने ठेक्का रद्द गर्दै घुम्ती पसल हटाउन लगाएका हुन् । यसअघि, उप–महानगरपालिकाले फुटपाथमा पसल थाप्नेसंग कर असुल्दै आएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीको जनकपुर भ्रमणको क्रममा रातारात कालोपत्रे गरिएको रामानन्द चोकदेखि जानकी मन्दिरसम्म सडक नै अतिक्रमण गरेर पसल थापिएको थियो । सडकको दुबैतर्फ फुटफाथे पसलले जनकपुरलाई केसरिया रंगले पोतिएको सबै पर्खाल छोपिएको थियो । गाडि र मोटरसाइकलको जथाभावी पार्किङले पनि जनकपुरको यो नयाँ स्वरुपलाई लुकाइदिएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?