हरुवाचरुवाको उत्थान गरिने

कान्तिपुर संवाददाता

सिरहा — हरूवा चरुवाहरूको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक पक्ष सबल बनाई सशक्तीकरणमा आफूहरू सक्रिय हुने स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् ।

साहु महाजनको खेतबारीमा काम गर्ने र वस्तुभाउ चराएपछि पाइने न्यून मजदुरीले आफूसहित जहान बालबच्चालाई एक पेट खुवाउनसमेत कष्ट झेलिरहेका सिरहाका हरूवा–चरुवालाई आत्मनिर्भर बनाउने लक्ष्मीपुर पतारी गाउँपालिका ४ का वडाध्यक्ष विद्यानन्द साह सुडीले बताए ।

‘हरूवा–चरुवा सशक्तीकरण परियोजना’ अन्तर्गत सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकास्तरीय परिचयात्मक गोष्ठीमा जनप्रतिनिधिका तर्फबाट वडाध्यक्ष सुडीले ७५ प्रतिशत दलित समुदायका हरूवाचरुवा उत्थानका लागि यो प्रथाको अन्त्य गर्न आफू सक्रिय रहने बताए । स्थानीय तहका निर्वाचित जनप्रतिनिधि समक्ष सिरहाका हरूवा चरुवाले थातथलोसहित उत्थान र स्वरोजगारको व्यवस्थाको माग गर्दै आएका छन् ।

उठीबास हुने अवस्था तत्काल बन्द गरी उनीहरूको नाममा रहेको सम्पूर्ण ऋण खारेज गर्नुपर्ने, श्रम अनुसारको ज्याला निर्धारण गरी कार्यान्वयन गर्नुपर्ने, हरूवा चरुवाको मुक्तिको घोषणा गरी सुरक्षित बास र परिवार संख्याका आधारमा जग्गासहित पुन:स्थापित गराइनुपर्ने माग उनीहरूले गर्दै आएका छन् ।

तथ्यांकअनुसार धनगढीमाई नगरपालिकामा ७ सय ५४ र लक्ष्मीपुर पतारीमा ४ सय हरूवा–चरुवा घरपरिवार छन् । आइएलओको सर्वेक्षण अनुसार सिरहामा १८ हजार १ सय ६० हरूवा चरुवा परिवार छन् ।

जिल्लाको भित्री भागमा बसोबास गर्ने हरूवा–चरुवा परिवारको आफ्नै नामको थातथलो नहुँदा बसोबासको असुरक्षामा छ भने कतिपयले गाउँमा सर्जमिन मुचुल्कामा सही गर्ने मानिस समेत नपाउँदा नागरिकताबाट समेत वञ्चित छन् ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्

अलैंची खेती रोज्छन् महिला

कान्तिपुर संवाददाता

ताप्लेजुङ — महिला र पुरुषका लागी समान पारिश्रमिक हुने भएकाले श्रमिक महिलाको पहिलो रोजाइ अलैंची खेतीमा हुने गरेको छ । कानुनमा समान ज्यालाको व्यवस्था भएपनि सबैतिर लागू भएको छैन ।

ताप्लेजुङको सिरिजंघा गाउँपालिका १ सिनामका एक दम्पती गोबर मल व्यवस्थापन गर्दै । तस्बिर : आनन्द

फुङलिङ नगरपालिका १० फुरुम्वुकी रुपा लिम्वूले भनिन, ‘मैले समान ज्याला त अलैंचीमा काम गर्दा मात्रै पाएको छु, मकै गोडा, धान रोप्ता, उठाउदा वा अरु काम गर्दा कहिल्यै पाएको छैन ।’ दिनभरी सँगै ढुङगा कुटेर डोकामा बोक्तापनि नपाएको उनले दुखेसो गरिन ।

तर धुंवारहित चुल्हो बनाउँदा भने पुरुषको तुलनामा बढी पारिश्रमिक लिएको पनि सुनाइन् । ‘एकैदिनमा दुई हजारसम्म लिएकी छु तर त्यो महिला भएकाले नभएर मेरो विशेष दक्षताले पाएकी हुँ ।’ चुलो बनाउने दक्षता नभएको भए पाउने अवस्था नहुने उनले बताइन् ।

उन्नति समावेसी कार्यक्रम अन्तर्गत नेपाल महिला उद्यमी संघले आयोजना गरेको ‘समान कामका का लागी समान ज्याला’ कार्यक्रममा महिला उद्यमी संघका अध्यक्ष लिलादेवी वोखिमले महिलाहरूले आवाज उठाउन सक्नुपर्नेमा जोड दिएकी थिइन् ।

यस्को कानुनी प्रक्रियाका विषयमा वडाका महिलाहरूलाइ यसअघि तीन पटक अनुशिक्षण गरिएको थियो । टोल टोल छुट्याएर दक्ष प्रशिक्षक मार्फत जानकारी गराइएको उद्यमी संघका कार्यक्रम निर्देशक किरण पौडेलले बताए ।

‘हामीले नगरपालिकाका प्रमुखदेखि वडा सदस्य र महिला संघसंगठनका प्रतिनिधिसम्मलाई बुझाएका छौं,’ वोखिमले भनिन्, ‘श्रम गर्ने श्रमिक महिलालाई पनि जानकारी गराएका छौं, अव जागरुक हुने पालो श्रमिक महिला आफ्नै हो ।’ आफूहरूले पनि सहयोग गर्ने उनले बताइन् । रुद्रकला लिम्वूले भने पुरै श्रम गर्ने र श्रममा लगाउने नभएकाले यस्तो विभेद भएको बताइन् । ‘म पनि अर्काको मेला जान्छु र मेरोमा पनि काम गर्न बोलाउँछु । आफुले वरावरी लिंदा अरुलाई पनि तेसरी नै दिनुपर्छ, त्यसैले पनि आवाज उठाउने कोही नभएको हो,’ रुद्रकलाले भनिन्, ‘खै अब पनि कस्ले बराबरी गर्छ होला र ?’ फुरुम्वू मात्रै नभएर तेल्लोक लगायत जिल्लाभरीको अवस्था यस्तै रहेको छ । महिला संघले यसअघि तेल्लोकमा गरेको कार्यक्रममा पनि यस्तै गुनासो गरेका थिए ।

अलैंची टिप्ता, छोडाउदा, भट्टी लगाउदा भने महिला पुरुषले समान ज्याला पाउने गरेका छन् । टिप्दा आठ सयदेखि एक हजार, छोडाउदा र भट्टी लगाउदा समान पाँच सय रुपैयाँ दिने गरिएको छ । अलैंची ओसार्नेले भने किलोको आधारमा पाउने गरेका छन् । मकै गोड्दा, धान रोप्ता वा अरु काम गर्दा भने दोब्बर बढी अन्तर रहेको छ । पुरुषले पाँच सय रुपैयाँ पाउँदा महिलाले ठाउँअनुसार दुईदेखि तीन सय रुपैयाँ मात्रै पाउने गरेका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्