प्रधानाध्यापकले अनियमितता गरेको आरोप

अवधेशकुमार झा

राजविराज — सप्तरीको कञ्चनरुप नगरपालिका–३ बरमझियाको राष्ट्रिय प्राथमिक विद्यालयकी प्रधानाध्यापक राजेश्वरी चौधरीले विद्यालयको रकम अनियमितता गरेको आरोप लगाउँदै विद्यालय व्यवस्थापन समिति र स्थानीयले उनीमाथि छानबिन र कारबाहीको माग गरेका छन् ।

प्रधानाध्यापकले अनियमितता गरेको आरोप

जिल्ला शिक्षा समन्वय इकाई, इलाका प्रशासन कार्यालय र कञ्चनरुप नगरपालिकामा लिखित उजुरी दिँदै व्यवस्थापन समितिले प्रअ चौधरीमाथि कारबाही माग गरेको हो ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयसियाराम मण्डल, वडाध्यक्ष सत्यनारायण साह र शिक्षक अभिभावक संघका अध्यक्ष हरिनारायण यादवले हस्ताक्षर गरी प्रअ चौधरीमाथि कारबाही माग्दै निवेदन दर्ता गराएका हुन् ।


प्रअ चौधरीले २०७२ साल कात्तिक १ गतेदेखि हालसम्म विभिन्न शीर्षकमा विद्यालयमा आएको रकम चरम हिनामिना गरेको समितिको आरोप छ । चौधरीले करिब २० लाख रुपैयाँ अनियमित तवरले खर्च गरेको समितिका अध्यक्ष मण्डलले आरोप लगाए ।


२०७२ सालदेखि हालसम्म विद्यालयमा छात्रवृत्ति शीर्षकमा आएको ४ लाख १७ हजार रुपैयाँ, कम्प्युटर खरिदका लागि आएको २ लाख ९० हजार रुपैयाँ समेत व्यक्तिगत रूपमा खर्च गरेको व्यवस्थापन समितिको आरोप छ ।


यस्तै पुस्तकालय व्यवस्थापन बापत आएको ७ लाख ४८ हजार, २०७३/७४ र ०७४/७५ मा पाठयपुस्तक बापत आएको ३ लाख ४२ हजार ९ सय ४५ रुपैयाँ र २०७२ सालदेखि हालसम्म विद्यालयको नाममा रहेको खेतको उब्जनीबाट आएको धान, रूख बापत आएको रकम तथा सर्टिफिकेट लगायतबाट प्राप्त रकम समेत हिनामिना गरेको आरोप लगाइएको छ ।


प्रअ चौधरीले हिनामिना गरेको रकम असुलउपर गराई तत्कालका लागि विद्यालयको खाता समेत रोक्का गरिदिन निवेदनमा माग गरिएको छ । व्यवस्थापन समितिले पटक–पटक प्रअ चौधरीसित हरहिसाब माग गरे पनि उनले नदिएको, ०७४ साल चैत १७ गते को व्यवस्थापन समितिको बैठकले आर्थिक आय–व्ययको लिखित जानकारी दिन सातदिने म्याद दिए पनि अटेर गरेको अध्यक्ष जयसियाराम मण्डलले बताए ।


उनले आफूखुशी विद्यालयको रकम चलाउन थालेपछि गत वैशाख ८ गते भएको व्यवस्थापन समितिको बैठकले उनीमाथि छानबिन र कारबाहीका लागि अगाडि बढने निर्णय गरेको थियो । प्रधानाध्यापक चौधरीले आफूले अनियमितता नगरेको दाबी गरिन् ।


उनले भनिन्, ‘मैले विद्यालयको रकम एक रुपैयाँ पनि अनियमितता गरेको छैन ।’ जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले उजुरी उपर छानबिन भइरहको जनाए ।

प्रकाशित : जेष्ठ ३, २०७५ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?