१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

घरेलु हिंसाविरुद्ध अभियान

भरत जर्घामगर

काठमाडौँ — समाजमा बढ्दै गएको घरेलु हिंसाविरुद्ध स्थानीय युवाक्लब, अधिकारकर्मी तथा प्रहरीले सामाजिक अभियान थालेका छन् ।

घरेलु हिंसाविरुद्ध अभियान

बढ्दो उच्छृङ्खलता, पितृसत्तात्मक सोच र पुरुषको आपराधिक मनोवृत्ति नै महिला हिंसा बढोत्तरीको मुख्य कारक रहेको महिला अधिकारकर्मीको ठम्याइ छ । अधिकारकर्मीको बुझाइमा आफनै नातेदार, परिवारको सदस्य पति, सासू, ससुराबाट बढी घरेलु हिंसा हुँदै आएको छ । आत्महत्या गर्न बाध्य बनाइने बहुविवाह, बालविवाहबाट पीडित हुनुपर्ने जस्ता महिलामाथि जघन्य अपराध समाजमा दिनानुदिन बढेको प्रति उनीहरूले चिन्ता व्यक्त गरे ।

सिरहा बडहरामालकी २० वर्षीया सुनिता दासले पति विन्देले मादक पदार्थ सेवन गरी पटकपटक कुटपिट गरेको भन्दै गत असार २७ गते प्रहरीमा उजुरी हालिन् । पटकपटक पति कुटाइबाट बच्ने कुनै उपाय नभएपछि प्रहरीसमक्ष पुगेको उनको भनाइ थियो । घरायसी विवादमा कल्याणपुर नगरपालिका ६ की ३० वर्षीया समिला खातुनको गत मंसिर ५ गते पति मोहमद अली राइनले खुकुरी प्रयोग गरी हत्या गरेको भन्दै माइती पक्षले उजुरी हाले । जिल्ला अदालतको आदेशमा मंसिर २६ गतेदेखि राइनमा थुनामा छन् ।जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांकअनुसार यसवर्ष मात्रै घरेलु हिंसाका २ सय ६८ उजुरी दर्ता भएका छन् । यो उजुरी दर अहिलेसम्मकै उच्च हो । प्रहरीको तथ्यांकअनुसार आव ०७२/०७३ मा २ सय १ र ०७३/०७४ मा २ सय ३७ घरेलु हिंसाका उजुरी दर्ता भएका थिए ।

जिल्लामा पछिल्लो कतिपय घरेलु हिंसाका घटना दाइजोको निहुँमा समेत हुने क्रम बढ्दो छ । घरेलु हिंसाकै कारण सिरहामा आत्महत्या घटनामा समेत वृद्धि भएको छ । महिलामाथि पति, सासू ससुराले बुहारीलाई हेर्ने दृष्टिकोण र अधिकांश घरायसी उल्झन कै कारण आत्महत्याको क्रम डरलाग्दो रूपमा बढेको हो । प्रहरीको तथ्यांकअनुसार गतवर्ष ८६ जनाले आत्महत्या गरे । तीमध्ये ८० प्रतिशतभन्दा बढी महिला छन् । सिरहामा २०६८ मा ७४ र २०६९ मा ६४ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ । घरेलु हिंसाकै कारण महिलामा मानसिक तनाव बढेपछि अन्तिम विकल्पमा आत्महत्या गर्छन् ।

पारिवारिक कलहकै कारण सिरहा पछिल्लोपटक बहुविवाह घटना समेत बढेका छन् । घरेलु हिंसाका घटना गाउँघरमा दिनानुदिन भइरहे पनि प्रहरीमा धेरैजसो घटना नपुगेको अधिकारकर्मी राजकुमार राउत कुर्मीले बताए । ‘केही घटनामात्र प्रहरीमा पुग्नुले पनि घरेलु हिंसा न्यूनीकरण हुन नसकेको हो’ उनले भने । घरेलु महिला हिंसाविरुद्ध सञ्जाल सिरहाकी अध्यक्ष रामकुमारी दासले महिला हिंसा गर्ने पीडकमाथि सामाजिक र कानुनी कारबाही गर्न समाजका अगुवा भनिनेहरू नै निष्पक्ष नबन्ने गरेका कारण समाजमा घरेलु हिंसा न्यूनीकरण हुन नसकेको बताइन् ।



बलात्कारविरुद्ध सडक नाटक
यौन दुव्र्यवहार र बलात्कारका घटना न्यून गर्न स्थानीय संघसंस्था र प्रहरीले सिरहाका ग्रामीण क्षेत्रमा सडक नाटक प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय र दलित जनकल्याण युवा क्लबले नागरिक र प्रहरीबीच सम्बन्ध सुधार गर्न तथा बलात्कार न्यून गर्न जिल्लाको विष्णुपुर गाउँपालिका ५ लक्ष्मीपुर, रजोखैर, थलाहा, गौरीपुर लगायत बस्तीमा जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका हुन् ।कलाकारले कुनै पनि व्यक्तिले आफ्नो यौन इच्छा पूरा गर्न डर, धम्की वा ललाइफकाई अनुचित यौन कार्य गरेमा बलात्कार जस्तो जघन्य अपराध हुने र यसमा संलग्नलाई कारबाही हुने भन्दै सडक नाटकमार्फत सचेत गराए । उनीहरूले जबरजस्ती करणीबाट बच्नका लागि सावधानीका उपाय समेत सर्वसाधारणलाई जानकारी गराए । सडक नाटकमा जिल्ला प्रहरीअन्तर्गत महिला सेलकी प्रहरी निरीक्षक शान्ति वाइवा पनि प्रत्यक्ष संलग्न थिइन् ।

सडक नाटक हेरिरहेकी लक्ष्मीपुरकी फूलकुमारी पासवान, सम्झना रायमाझीले प्रहरी स्वयं उपस्थित भएर नाटक देखाएपछि बलात्कारीलाई कारबाही हुँदो रहेछ भन्ने विश्वास जागेको सुनाइन् । जिल्लामा जबरजस्ती करणीका घटना बढेपछि दलित जनकल्याण युवा क्लबको सहयोगमा गाउँगाउँमा सडक नाटक प्रदर्शन गरिएको प्रहरी नायव उपरीक्षक राजन भेटवालले जानकारी दिए । जिल्ला प्रहरीको तथ्यांकअनुसार सिरहामा यस वर्ष २७ बलात्कारका घटना र २३ बलात्कार प्रयासका घटना दर्ता भएका छन् । यो घटना दर अहिलेसम्मकै उच्च हो । गत आवमा २६ बलात्कार र प्रयासका ११ घटना दर्ता भएका थिए । आव २०७२/७३ मा बलात्कारका १७ र प्रयासका १० घटना दर्ता थिए ।

जिल्ला प्रहरीको तथ्यांकअनुसार यसआर्थिक वर्षको चैत मसान्तसम्म १७ वटा बालिका बलात्कारको सिकार भएका छन । त्यसैगरी ८ बालिकामाथि यौन दुव्र्यवहार र बलात्कारको प्रयास भए । बलात्कार घटनामा आठ वर्षीयादेखि १६ वर्षमुनिका बालिका बढी परेका छन् ।बलात्कारमा संलग्न अधिकांश १८ देखि २२ वर्ष उमेर समूह युवक छन् । अधिकांश बलात्कार घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा पुर्‍याए पनि घटना बढदै जानु समस्या भएको अधिकारकर्मी राजकुमार राउत कुर्मी बताउँछन् ।

उनका अनुसार बलात्कारका घटनामा मुलुकी ऐन ११ औं संशोधनले दिएको अधिकार प्रयोग गरी जबरजस्ती करणीको मुद्दा दायर नगरेका कारण बलात्कार घटनामा कमी हुन नसकेको हो । दलित जनकल्याण युवा क्लबका कार्यक्रम संयोजक अशोक कामतीले बलात्कारका घटना गाउँघरमा हुने गरे पनि यससम्बन्धी ऐन कानुनको जानकारी नहुँदा प्रहरीसमक्ष पुग्नै नपाई पीडकले उन्मुक्ति पाउने गरेको बताए । पीडितलाई उजुरीको वातावरण सृजना गर्न तथा नागरिक र प्रहरीबीच सम्बन्ध सुधारका लागि पनि सडक नाटकमार्फत जनचेतना अभियान सुरु गरिएको उनले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?