कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तह पूर्वाधारविहीन

भरत जर्घामगर

सिरहा — सिंहदरबारको सेवा गाउँमा पुर्‍याउने उद्देश्यअनुरूप स्थानीय तहअन्तर्गत नगर र गाउँपालिकामा जनप्रतिनिधि चुनिएको नौ महिना बितिसक्दा पनि सुगम जिल्ला सिरहामा पूर्वाधार तयारी नहुँदा सेवा प्रभावित भएको छ ।

स्थानीय तह पूर्वाधारविहीन

अर्नामा गाउँपालिका दुइटा कोठामा सञ्चालित छ । चार कोठे रहेको पुरानो गाविस भवनमा दुई कोठामा गाउँपालिका र दुई कोठामा वडा कार्यालय सञ्चालित छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवन धितालका अनुसार कोठा अभावमा गाउँपालिका अध्यक्ष ठकु महतो र उपाध्यक्ष सियावती मुखियाको कार्यकक्ष एउटा कोठामा र प्रशासकीय अधिकृत र लेखापाल नरेश कामैत अर्को कोठामा कोच्चिएर काम गर्छन् ।

व्यक्तिगत घटना दर्ता, सोधपुछ, योजना लगायत अन्य शाखा बरन्डामा सञ्चालित छ । त्यहाँ सेवाग्राहीको घुइँचो लाग्दा नियमित काममा समस्या भएको धितालले बताए ।

‘वडा कार्यालय एकै ठाउँ हुँदा सेवाग्राहीको घुइँचोका कारण दैनिक काममा समेत समस्या झेल्नुपरेको छ,’ लेखापाल नरेश कामैतले भने, ‘कार्यकक्ष अभावमा कार्यालयको काम समेत घर पुगेपछि गर्न बाध्य छौं ।’

अधिकांश विद्यालयमै कार्यालय
भौतिक पूर्वाधार अभावमा सिरहाका अधिकांश गाउँपालिका र वडा कार्यालय विद्यालयमै सञ्चालित छन् । सेवाग्राहीको चाप हुने स्थानीय तहको कार्यालय विद्यालयमा सञ्चालन गरिँदा विद्यार्थीको पढाइमा असर पुगेको छ । जिल्लाको नवराजपुर गाउँपालिका सोनवर्सा माविको विज्ञान प्रयोशाला भवनमा सञ्चालित छ । यस्तै, लहान नगरपालिका वडा नम्बर १६ र २१ कार्यालय पनि विद्यालयमा सञ्चालित छन् ।सोनवर्सा माविको भवन ३९ लाख रुपैयाँ लगानीमा विज्ञान प्रयोगशाला, पुस्तकालयका लागि निर्माण गरिएको थियो । भवन गाउँपालिकालाई दिएपछि विज्ञान प्रगोशाला, लाइब्रेरी, कम्प्युटर ल्याब सञ्चालन हुन सकेको छैन । तर गाउँपालिकाले कार्यालय सञ्चालन गरेपछि भाडाबापत ४० हजार रुपैयाँ दिँदै आएको छ ।

कर्मचारी अभाव
सिरहाका अधिकांश गाउँपालिका र नगरपालिकामा कर्मचारी अभावमा सेवा प्रभावित भएको छ । प्राविधिक कर्मचारी अभावकै कारण विकास योजनाका काम सुचारु हुन सकेका छैनन् । अर्नामा गाउँपालिकामा निजामतितर्फ निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मात्र कार्यरत छन् । वडामा प्राविधिक सहायकलाई सचिव खटाइएको छ ।करारमा कार्यरत एक्लो सबइन्जिनियर मोहित नारायण सिंहको भरमा योजना शाखा सञ्चालन गर्नुपरेको छ । ‘एक्लो प्राविधिक कर्मचारी सव इन्जिनियरको भरमा गाउँपालिकाको सम्पूर्ण योजना सञ्चालन गर्नुपरेको छ’, निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवन धितालले भने, ‘सेवाग्राहीको चाप बढी भए पनि कर्मचारी अभावमा गाउँपालिकाको कार्यसम्पादनमा कठिनाइ भएको छ ।’ उनका अनुसार अर्नामा गाउँपालिका ३ जना कार्यालय सहयोगी एक कम्प्युटर अपरेटर, ३ सामाजिक परिचालकका भरमा सञ्चालित छ । आर्थिक वर्ष समाप्त हुन डेढ महिना मात्र बाँकी रहँदा योजना सम्पन्न गर्न कठिनाइ भएको उनले बताए । अर्नामा मात्र होइन सिरहाको अधिकांश गाउँपालिका र नगरपालिका न्यून कर्मचारीका भरमा सञ्चालित छन् ।


कोठा अभाव हुँदा बरन्डामा राखिएको दर्ता, चलानीमा लागेको सेवाग्राहीको भीड ।

प्रकाशित : जेष्ठ ६, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?