घर बन्यो, छाना छैन

जनता आवास कार्यक्रम
शिव पुरी

औरैया (रौतहट) — ईशनाथ नगरपालिका–२ औरैयाकी ४० वर्षीया रेखादेवी माझी शनिबार सुंगुरलाई पानीले भिजेको चामल खुवाउँदै थिइन् । अर्काको खेतमा ज्यालादारी गरी ल्याएको करिब १० किलो चामल घरभित्रै भिजेपछि सुंगुरलाई दिएकी हुन् ।

घर बन्यो, छाना छैन

छदाखादाको झुपडी भत्काएर जनता आवासले नयाँ घर त बनाइदियो तर त्यसको छाना नभएपछि अघिल्लो दिन परेको पानीले घरभित्र बोरामा राखेको चामल भिज्यो । त्यसैले उनी निराश थिइन् । आवासले एक वर्षअघि बनाइएको घरको अहिलेसम्म छाना हालेको छैन । घर भएर पनि त्यसको अनुभूति गर्न नपाएको रेखाले बताइन् ।

‘झुपडी नै भए पनि महलजस्तै थियो,’ उनले भनिन्, ‘फुसकै छाना भए पनि भित्र पानी पस्दैनथ्यो । अहिले पक्की घर छ तर छाना छैन । पानी परेको बेला अर्काको घरमा सुत्नुपर्छ ।’ उनले पानीले भिजेको चामल सुंगुरलाई खुवाउन लागेको बताइन् । बस्तीमा मुसहर समुदायका ४५ घर छन् । एक वर्षअघि गरिब समुदायलाई पक्की घरको सपना देखाएर आवास कार्यक्रमअन्तर्गत पुरानो झुपडी भत्काइएको थियो । उनीहरूलाई पक्की घर बनाइदिए पनि छाना लगाइएको छैन । आवास कार्यक्रमअन्तर्गत जस्तापाता ल्याइए पनि निकै पातलो र गुणस्तर नभएको भन्दै लगाइएको छैन ।

बस्तीका अधिकांश मुसहरको बासस्थान भत्काइएको छ । केहीको जग समेत खनिएको छैन । बस्तीमा पुग्ने नयाँ व्यक्तिलाई उनीहरू छाना लगाउन ढिला हुनुको कारणबारे प्रश्न गर्छन् । मुसहरका बालबालिका बाहिर आँगनमा त्यतिकै सुतिरहेका भेट्टिए । छाना नभएकाले कष्ट सहनु परेको पीडा महिलाले सुनाए ।जनता आवास कार्यक्रम कार्यान्वयन इकाई कार्यालय गौरका प्रमुख श्रीभगवानप्रसाद गुप्ताले जिल्लामा विपन्न समुदायका लागि आव ०७३/०७४ मा १ हजार र ०७४/०७५ मा ९ सय घर निर्माण हुन थालेको बताए । ‘औरैयाका मुसहरको जीवन कष्टकर छ,’ उनले भने, ‘त्यही बस्तीमा चाँडै जस्ता लगाएर घर निर्माण सम्पन्न गर्छाैं ।’ उनले अघिल्लो आर्थिक वर्षकै कार्यक्रम सम्पन्न नभएको बताए ।

कार्यालयका अनुसार ०७४/०७५ का लागि छनौटमा परेका घर निर्माण गर्न बजेट आएको छैन । अघिल्लो वर्ष विभिन्न नगरपालिकाका दलित र विपन्न बस्तीका ९ सय २१ घर छनौटमा परेका थिए । अधिकांशको घरको छाना र झ्यालढोका हालिएको छैन । ढाँगर बस्तीमा अझै काम सकिएको छैन । त्यस बस्तीका केही दलितले भवन पाएनन् । अर्को पटकको छनौटमा बाँकी घर निर्माण गरिने कार्यालयले जनायो ।गरिबीको रेखामुनि रहेका नेपाली नगरिकको आवासको भौतिक अवस्थामा सुधार गरी स्वास्थ्य तथा सुरक्षित आवासमा उनीहरूको पहुँच बढाउने उद्देश्यले सरकारले जनता आवास कार्यक्रम ल्याएको थियो ।


अधुरा भवन बाहिर बसेका महिला ।

प्रकाशित : जेष्ठ ६, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?