१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

फोरम–राजपा चर्को मतभेद

सरकारको समर्थन फिर्ताबारे राजपामा छलफल

जनकपुर — प्रदेश २ का सत्तासाझेदार संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) का प्रदेशसभा सदस्यबीचको मतभेद उत्कर्षमा पुगेको छ । राजपा संसदीय दलको हालै बसेको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा समेत छलफल भएको छ ।

फोरम–राजपा चर्को मतभेद

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले राजपाकी प्रदेशसभा सदस्य डिम्पल कुमारी झासँग दुव्र्यवहार गरेको भन्दै विवाद सुरु भएको हो । राज्यमन्त्री रायले माफी नमागे सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा राजपा संसदीय दलको आकस्मिक बैठकमा छलफल भएको राजपाका एक सांसदले बताए ।

प्रदेशसभा बैठकमा सदस्यहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ को जनकपुर भ्रमण तयारीका क्रममा भ्रष्टाचार भएको भन्दै खर्च विवरण सार्वजनिक गर्न माग गरेका थिए । प्रदेशसभा सदस्य डिम्पल झाले कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह संयोजक रहेको नागरिक परिचालन समितिले दावी गरेअनुसारको खर्च नभएको भन्दै विवरण सार्वजनिक गर्न माग गरिन् । रौतहटमा मानिस ओसार्न १० वटा बसमात्र प्रयोग भए पनि बढी बस परिचालन गरिएको भनेर रकम अनियमितता भएको झाको आरोप छ ।

प्रदेशसभामा बोलेकै कारण राज्यमन्त्री रायले प्रदेशसभा सदस्यमाथि दुव्र्यवहार गरेको भन्दै राजपा संसदीय दलको आकस्मिक बैठक बोलाइएको थियो । तर झाले आफूमाथि भएको ‘दुव्र्यवहार’ बारे बोल्न अस्वीकार गरिन् । ‘म आफ्नो लडाइँ स्वयं लड्न सक्छु । अहिले बोल्दिनँ,’ झाले कान्तिपुरसँग भनिन् । स्रोतका अनुसार फोरम र राजपाका शीर्ष नेताहरूले आ–आफ्ना प्रदेशसभा सदस्यलाई विवादबारे नबोल्न दबाब दिएका छन् ।

मोदी भ्रमणका क्रममा आफ्ना पार्टीसम्बद्ध प्रदेशसभा सदस्यलाई खासै वास्ता नगरेको भन्दै राजपा नेताहरू असन्तुष्ट थिए । प्रदेशसभा सदस्य परमेश्वर साहले राजपा संसदीय दलको राज्यमन्त्री रायले संसद्मा प्रदर्शन गरेको व्यवहारबारे प्रदेश मन्त्रिपरिषद्लाई जानकारी गराउने सहमति भएको बताए । सरकारको समर्थन फिर्ता लिने विषयमा भने उनले केही बोल्न चाहेनन् । साहका अनुसार बैठकमा लिखित निर्णय केही भएको छैन । मोदीको भ्रमण तयारीका क्रममा ७ करोडभन्दा बढी खर्च भएको भनिए पनि सम्बन्धित निकायले हालसम्म आधिकारिक जानकारी दिएका छैनन् ।

मोदी भ्रमणका बेला जनकपुर उपमहानगरपालिका र प्रदेश सरकारले बेग्लाबेग्लै खर्च गरेको दाबी गरिएको छ । बाह्रबिघामा माटो पुर्ने, सफासुग्घर गर्ने, पानी पटाउने, सडक मर्मत तथा निर्माण, पर्खालको रंगरोगन, मिथिला चित्रकलालगायत मध्ये कुन प्रदेश सरकारले र कुन उपमहानगरपालिकाले निर्माण र खर्च गरेको भन्ने विषयमा अन्योल छ ।

स्रोतका अनुसार स्वयंसेवक तथा सहभागीका लागि भेस्ट खरिद शीर्षकमा खर्च देखाइए पनि वितरण गरिएको थिएन ।

प्रकाशित : जेष्ठ ७, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?