कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘विपद् व्यवस्थापनको योजना बनाऊ’

भरत जर्घामगर

सिरहा — हावाहुरी, आगलागी, बाढीलगायत प्राकृतिक विपद्का कारण बर्सेनि हुने जनधन र पूर्वाधारको क्षति न्यूनीकरणका लागि योजना बनाउन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरिएको छ ।

‘विपद् व्यवस्थापनको योजना बनाऊ’

विपद् व्यवस्थापनको जिम्मेवारी अब स्थानीय तहलाई भएकाले क्षति कम गर्ने खालको योजना बनाउन सरोकारवालाले आग्रह गरेका हुन् । गत वैशाख ४ र २६ गतेको हावाहुरीले सिरहामा मात्रै पौने ६ अर्बको क्षति भएको थियो । एक जनाको मृत्यु र ३ जना घाइते भए । हावाहुरीले सबैभन्दा बढी क्षति आँपमा पुर्‍याएको थियो । जिल्लाको ७० प्रतिशत आँपमा क्षति पुगेको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार हावाहुरीबाट १ सय २६ घरपरिवारको घरटहरा उडाउँदा ३९ लाख ६० हजार रुपैयाँबराबरको क्षति भएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्षसमेत रहेका पण्डितका अनुसार हावाहुरीबाट ११ प्रहरी चौकी तथा ६ सरकारी कार्यालयमा पनि क्षति पुगेको छ । हावाहुरी र वर्षाले ९१ लाख बराबरको ६ हजार ६ सय ८० कुखुरा नष्ट भएको छ । विभिन्न विपद्बाट पीडित ७ सय १४ परिवारलाई २५ हजारका दरले राहत उपलब्ध गराएको उनले जानकारी दिए । हावाहुरीबाट विद्युतमा समेत क्षति पुगेको छ । ‘विपद्बाट कसरी बच्ने भन्ने ज्ञान सबैलाई हुनुपर्छ, निर्माण भइरहेका संरचना व्यवस्थित छन् कि छैनन् भन्नेबारे स्थानीय तहले ध्यान दिन जरुरी छ,’ गृह मन्त्रालयअन्तर्गत विपद् व्यवस्थापन शाखाका सहसचिव केदार न्यौपानेले भने, ‘अहिलेसम्म विपद् पर्दा सेना र प्रहरीलाई मात्रै राहत, उद्धारका लागि खोजी हुने गरेको छ, अब स्थानीय तहले विपद् कम गर्ने योजना बनाउनुपर्छ ।’

स्थानीय तहले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उनले क्षति न्यूनीकरणसम्बन्धी सचेतना जगाउन स्थानीय तह अग्रसर हुनुपर्ने औंल्याए । लहान नगरपालिकाका प्रमुख मुनि साहले विपद्बाट बच्न आवास नीति प्रभावकारी ढंगले लागू गर्ने उल्लेख गर्दै विपद् व्यवस्थापनका लागि नगरपालिका अग्रसर रहेको बताए । सिरहाका स्थानीय तहका प्रमुखहरूले विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।

क्षति न्यूनीकरणका लागि प्रयास भइरहेको उनीहरूको भनाइ छ । उनीहरूले गाउँघरको साँघुरो बाटोलाई फराकिलो बनाउन पहिलो प्राथमिकतामा राखेको औंयाए ।

कृषिमा ५ अर्ब क्षति
जिल्ला कृषि विकास कार्यालयका अनुसार सिरहामा ५ हजार ६ सय हेक्टर जग्गामा लगाइएको आँप, तरबुजा, तरकारी, मुग दाल, मकै र लिचीलाई हावाहुरीले क्षति पुर्‍याएको छ ।

हावाहुरीबाट ५ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । हावाहुरीले १७ हजार ३० वटा फलेको आँपको बोट भाँचिएको कृषि कार्यालयका प्रमुख डा..रामचन्द्र यादवले जानकारी दिए । उनका अनुसार ३ सय १० हेक्टर जग्गाको ७ करोड ४४ लाख बराबरको तरबुजा नष्ट भएको छ । ९ सय २५ हेक्टर जग्गामा लगाएको ४१ करोड ६२ लाख रुपैयाँ बराबरको तरकारी, २० करोड रुपैयाँ बराबरको ३ सय ९८ हेक्टरको मुग दाल, ४० लाख र २२ हेक्टर जग्गामा लगाएको ४० हेक्टरको मकै र २ करोडको लिचीमा क्षति पुगेको छ ।

हावाहुरीले घरटहरा उडाएको परिवारलाई राहतस्वरूप १५ हजारको जस्तापाता जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत उपलब्ध गराउने गृह मन्त्रालयअन्तर्गतका विपद् व्यवस्थापन शाखाका सचिव उमेश ढकालले जानकारी गराए । उनका अनुसार दैवी प्रकोप उद्धार समितिको सिफारिसमा ५० हजारसम्मको राहत क्षति यकिन गरेर उपलब्ध गराउने तयारी भइरहेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?