लय समाउँदै आईसीपी

पर्सा — वीरगन्जस्थित मुलुककै पहिलो एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी) ले बिस्तारै आफ्नो लय समाउन थालेको छ ।

लय समाउँदै आईसीपी

गतसाता नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीको आगमनपछि यसले थोरै गति लिएको हो । भारततर्फको आईसीपीमा दिउँसो भारतीय कर्मचारी नबस्ने समस्या कम भएपछि पनि दुबैतर्फको आईसीपीले गति लिएको हो ।

आईसीपीस्थित भन्सार कार्यालयका अधिकृत प्रकाश पोखरेलका अनुसार गत सातादेखि इन्धन बाहेकका मालसामान पनि यो नाका भई भित्रिन थालेका छन् । ‘हाल इन्धनबाहेक औद्योगिक कच्चा पदार्थ, डिस होमका टिभीका पार्ट्स, मरिचलगायत भित्रिइरहेका छन्,’ उनले भने, ‘भारततर्फ पनि भन्सार अधिकारीहरू दिउँसो बस्न थालेपछि स्थिति सहज बन्दै गएको छ ।’

आइतबार मात्रै साँझ ५ बजेसम्म इन्धनबाहेक मालबस्तु आयातका ३४ फारम भरिएका छन् । ५ बजे सम्ममा ६ करोड १४ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । नेपालतर्फ बाटोबाहेक अन्य कुनै समस्या नरहेको पनि उनले बताए । आईसीपी सञ्चालनमा आएदेखि आइतबारसम्ममा ८ अर्ब ३४ करोड बराबरको मालबस्तु आयात भएको र १ अर्ब ९१ करोड ३९ लाख राजस्व संकलन भएको उनले बताए । भारतीय कष्टम अधिकारीहरू कार्यालय समयमा दिनभर बस्ने हो भने दैनिक ३ सयदेखि ३ सय ५० सवारी साधन भारततर्फबाट नेपालको आईसीपीमा भित्रिन सक्छ । डेढ महिनाअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीले नयाँदिल्लीबाट संयुक्त रूपमा दुबैतर्फको आईसीपी उद्घाटन गरेका थिए ।

तर नेपालतर्फ हुलाकी सडकमा आईसीपी मोडदेखि सुक्खा बन्दरगाहको चन्डाल चोकतर्फ ७ सय मिटर सडक साँघुरो रहेको कारण देखाउँदै आईसीपीबाट आशातित रूपमा कारोबार हुन सकेको छैन ।

प्रकाशित : जेष्ठ ७, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?