कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

साधुको भेषमा ‘गुण्डागर्दी’

रवीन्द्र उप्रेती

महोत्तरी — साधुको भेषमा गुण्डागर्दी गरेको आरोपमा प्रहरीले बर्दिवास–१ का वसन्त बलंपाकीलाई पक्राउ गरेको छ ।

साधुको भेषमा ‘गुण्डागर्दी’

तन्त्रमन्त्र र झारफुकको भ्रममा पारेर बर्दिवास–३ राईमण्डलस्थित इन्द्रेश्वर महादेव मन्दिरमा गलत गतिविधि गरेको आरोपमा बलंपाकीलाई प्रहरीले घरेलु हतियारसहित नियन्त्रणमा लिएको हो ।

दर्शनार्थीमाथि निर्घात कुटपिट गरेको उजुरी परेपछि बलंपाकी जोगीको भेषमा खुकुरी भिरेका ४ अंगरक्षकसहित भारतीय नम्बर प्लेटको स्कोर्पियो चढेर बर्दिवास प्रहरी कार्यालय पुगेका थिए । प्रहरी नायव उपरीक्षक प्रविण पोखरेलका अनुसार चारै थान खुकुरीसहित बलंपाकीलाई नियन्त्रणमा लिइएको हो । अंगरक्षकलाई भने खोजेका बेला उपस्थित हुने गरी छाडिएको डीएसपी पोखरेलले जनाए ।

दुई दिनअघि राइमण्डल पुगेका दर्शनार्थीमाथि ‘शिष्य’ सहित भएर मरणासन्न हुनेगरी कुटपिट गरेपछि उनलाई पक्राउ गर्न प्रहरीमाथि दबाब परेको थियो । निर्घात कुटपिटबाट बर्दिवास–३ पाटुका ४० वर्षीय माधव ढुंगेल र २९ का रमेश परियार घाइते भएको बर्दिवास प्रहरीले जनाएको छ । बेहोस अवस्थामा जनसेवा अस्पताल भर्ना गरिएका दुवैको अवस्था गम्भीर छ । अस्पतालका अनुसार ढुंगेलको कम्मर खुस्किएको छ । परियारको बायाँ खुट्टा भाँच्चिएको र आखाँमा गहिरो चोट छ । शरीरभरि निलडाम छ ।

घाँस काट्न गएका बेला दुवै जना दर्शन गर्न मन्दिर पसेका थिए । गाँजाको नशाले लठिएका बलंपाकी र उनका ‘शिष्य’ ले अचानक त्रिशूल, लौरो, थप्पड र मुक्का प्रहार गरी बेहोस बनाएको पीडितले प्रहरीमा बयान दिएका छन् । बलंपाकी समूहले भने उनीहरू चप्पल लगाएर मन्दिर प्रवेश गरेकाले धर्म रक्षाका लागि सचेत तुल्याएको दाबी गरेको छ । मन्दिर आएका दर्शनार्थीले उनको खुुट्टामा नढोगे यातना दिने गरिएको पनि स्थानीयको भनाइ छ । छेउछाउका सामुदायिक वनमा समेत जुत्ताचप्पल लगाएर नआउनु भन्ने कडा उर्दी जारी गरेको र उल्लंघन गर्नेमाथि कुटपिट हुने गरेको स्थानीय बताउँछन् ।

डीएसपी पोखरेलका अनुसार वर्ष दिनअघि बलंपाकी र उनको समूहको कुटपिटबाट र घरेलु हतियार प्रहारबाट मन्दिर परिसरमै ७५ वर्षीय रामजी शाहीको मृत्यु भएको थियो । हत्या आरोपमा २८ वर्षीय हर्कबहादुर माझी अदालतको आदेशपछि जलेश्वर कारागारमा छन् । बर्दिवास प्रहरीमा पुगेका बलंपाकी र उनका ‘शिष्य’ ले कुटपिटलाई उपचार पद्धतिका रूपमा प्रयोग गर्ने गरेको बताएका छन् । उपचारका नाममा बिरामीलाई अँगार ख्वाउने, गाँजा सेवन गर्न लगाउने, मानसिक असन्तुलन गुमेकी महिलामाथि शोषण गर्ने र यातना दिने काम गरिरहेको प्रहरीले जनाएको छ । बर्दिवास–३ का वडाध्यक्ष राजन ढुंगानाले बाबाको हर्कत र बदमासीले स्थानीय हैरान रहेको बताए । झारफुकले बिरामी ठीक हुने भए अस्पताल र डाक्टर किन चाहियो भन्ने प्रश्न गर्दै उनले घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको माग गरे ।

को हुन बलंपाकी ?
२८ वर्षीय बलंपाकी बर्दिवास नगरपालिका–१ का स्थायी बासिन्दा हुन् । उनी अटोमोबाइल इन्जिनियरिङमा डिप्लोमा गरेको दाबी गर्छन् । गाँजाको कुलतमा फसेका उनले तीन वर्षअघि भगवान् महादेवले ‘बर्दिवास उत्तरको चुरेको फेदीमा पर्ने राईमण्डलमा मेरो मन्दिर बनाई पूजा गर्नु’ भन्ने सपना दिएको दाबी गर्दै भ्रम छर्न थाले ।

त्यसैका आडमा स्थानीयको सहयोगमा सानो मन्दिर निर्माण गरे । मेला लगाए । अनि गाँजाको कुलतमा फसाएर केही युवालाई शिष्य बनाएको स्थानीयको आरोप छ । उनले झारफुक गरेर लागुभागु, मानसिक बिरामीलगायत छारे रोगको समेत उपचार गर्न सक्ने दाबी गर्न थालेपछि दैनिक ५०/६० जना उपचारका लागि राईमण्डल पुग्न थाले ।

उपचारमा आउनेबाट भेटिबापत रुपैयाँ लिन थालेपछि बिरामी उनको आम्दानीको स्रोत बन्यो । मन्दिर परिसरमा खुकुरीलगायत घरेलु हतियार लिएर बस्ने उनी र उनका शिष्यले झारफुकका लागि आउने महिला बिरामीलाई राति बास बस्न बाध्य पार्थे । धर्मका आडमा हुने यस्ता गतिविधिप्रति असन्तुष्टि जनाउनेमाथि उनका शिष्य गिरोहले आक्रमण गर्न सुरु गरेपछि उनी विवादमा मुछिन थाले । ‘बाबा’ को नाममा ‘गुण्डा नाइके’ बने । प्रहरी नायव उपरीक्षक पोखरेलले ढुंगेल र परियारका परिवारले दिएको उजुरीका आधारमा आइतबार सार्वजनिक मुद्दा दर्ता गरिएको बताए ।

प्रकाशित : जेष्ठ ७, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?