लैंगिक हिंसा न्यून गर्न जोड
पर्सा — बालबालिका विरुद्ध हुने लैंगिक हिंसाका घटना न्यूनीकरण गर्न घर र विद्यालयबाटै सुरुवात गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
जिल्ला बालकल्याण समिति र केन्द्रीय बालकल्याण समितिले सोमबार वीरगन्जमा आयोजना गरेको लैंगिक हिंसा व्यवस्थापनअन्तर्गत सरोकारवालाबीच भएको अन्तक्र्रियाका सहभागीले यस्तो जोड दिएका हुन् ।
केन्द्रीय बालकल्याण समितिका फोकल पर्सन सन्जिव महतोले विद्यालयमा हुने लैंगिक हिंसा न्यूनीकरणका लागि युनिसेफको सहयोगमा २ नम्बर प्रदेशका पर्सा, रौतहट, महोत्तरी र धनुषा गरी ४ जिल्लामा विद्यालय स्तरीय कार्यक्रम सञ्चालन भइरहेको बताए । उनले पर्सामा पनि एनजीओसीसी र रेस्टलेस डेभलपमेन्ट नेपालसँगको सहकार्यमा जिल्लाका ५० विद्यालयमा यो कार्यक्रम सञ्चालन भइरहेको बताए ।
कार्यक्रमअन्तर्गत लैंगिक हिंसामा परेका बालबालिकालाई शैक्षिक, कानुनी, मनोविमर्श सहयोगका साथै जनही १० हजारसम्मको आर्थिक सहयोग समेत गर्ने गरिएको उनले बताए ।
केन्द्रीय बालकल्याण समितिका बालअधिकार स्रोत व्यक्ति झमकेश्वर ओझाले बालबालिका अति संवेदनशील हुने भएकाले उनीहरू घरदेखि विद्यालयसम्म सहभागी हुने सबै गतिविधि अभिभावक र शिक्षकको सूक्ष्म नजर हुनु पर्ने बताए ।
शिक्षक पनि बाल मैत्री भइदिए त्यसले बालबालिकाको मनोविज्ञानदेखि उनीहरूको पठनपाठनमा पनि थुप्रै सकारात्मक परिवर्तन आउने उनले बनाए । रेस्टलेश डेभलपमेन्ट नेपालकी रश्मिना महर्जनले जिल्लाका ५० विद्यालयमा सञ्चालित लैंगिक हिंसा न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन भइरहेको र यस क्रममा १५ हजार विद्यार्थीलाई लैंगिक हिंसाको विविध पक्षबारे जानकारी गराइएको बताइन् ।
यस क्रममा हिंसामा परेका बालबालिकालाई सम्बन्धित विद्यालयमा राखिएको सुझाव पेटिकामा आफ्ना गुनासा लिखित रूपमा दिन प्रेरित गरिएको छ । यसरी हिंसामा परेका बालबालिकाको प्रतिकार गर्ने क्षमताको पनि विकास हुँदै गएको उनले बताइन् । केआई नेपाल वीरगन्जकी प्रमुख तारा सापकोटा र माइती नेपाल वीरगन्जकी प्रमुख संगीता पुरीले बालबालिका बढी हिंसा र जोखिममा पर्ने कुरा आफूले प्रत्यक्ष देख्दै आएकाले यसको न्यूनीकरणका लागि साझा प्रयासमा जोड दिए । जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत धर्मराज थापाले घरबाट सुरु हुने हिंसाका घटना बाहिर सार्वजनिक नहुने समस्या अझै पनि विद्यमान रहेको बताए ।
यसरी घर र विद्यालयमा हिंसामा पर्ने बालबालिका तथा महिला अझै पनि खुलेर बोल्न नसक्ने अवस्था कायमै रहेको बताउँदै उनले विद्यालय र विद्यालय बाहिर रहेका बालबालिका लक्षित थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
स्थानीय तहमा बालबालिकाका लागि १० प्रतिशत बजेट रहे पनि समन्वय अभावमा त्यो सदुपयोग हुन नसकिरहेको उनले बताए ।
प्रहरी उपरीक्षक रेवती ढकालले बालबालिकाका विरुद्ध हुने लैंगिक हिंसा र घरेलु हिंसाको मुद्दामा प्रहरीले शून्य सहनशिलताको सिद्धान्त अपनाएकाले यस्ता घटनाको सूचना अविलम्ब प्रहरीलाई दिन आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले स्थानीय तहले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गर्दा नै बालबालिका तथा तिनका विरुद्ध हुने सबै खाले हिंसाको न्यूनीकरणका लागि बजेट विनियोजन गरी विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाए । बालबालिका विरुद्ध हुने हिंसा कम गर्न पूर्वसचेतना कार्यक्रम पनि आवश्यक रहेको उनले औंल्याए ।
प्रकाशित : जेष्ठ ८, २०७५ ०९:५२