भारतीय थोत्रा गाडीको ‘रजाइँ ’

‘थोत्रा गाडीले यात्रुसित मनपर्दि भाडा लिन्छन्, सीमा क्षेत्रमा चल्ने सवारी कन्डिसन र भरपर्दो हुनुपर्छ’
शिव पुरी

औरैया (रौतहट) — इशनाथ नगरपालिकास्थित औरैया बजारमा एउटा थोत्रो भारतीय म्याजिक जिप यात्रुको प्रतीक्षामा पार्किङ गरेर राखिएको थियो । गाडी हेर्दा कुनै कबाडीबाट झिकेर ल्याएजस्तो ।

भारतीय थोत्रा गाडीको ‘रजाइँ ’

यसको अगाडि पछाडिका झ्यालका सबै सिसा फुटेर भ्वाङ देखिन्थ्यो । अघिल्लो भाग कुनै सवारीसित ठोक्किएर कुचिएको थियो । यस्ता थोत्रा सवारीले नेपाली यात्रु बोकेर सीमामा ओहोरदोहोर गर्दै आएको छ ।

लामो समयदेखि थोत्रो जिप यात्रु बोकेर भारतीय सीमाक्षेत्र ओहोरदोहोर गर्दै आएका हुन् । औरैया पारि भारतको महङवा, घोडासहन, छौडादाना लगायतका बजारमा नेपालीहरू किनमेल गर्न जान्छन् । उनीहरू यस्तै थोत्रा जिप चढेर जान्छन् । त्यही जिप सदरमुकाम गौरसम्म पुग्छ । बाटोमा प्रहरी चौकीले जाँच गरे पनि छाडी दिन्छ । ट्राफिक प्रहरी सुटुक्क रकम लिएर छाड्छ । यस्ता थोत्रा सबारी चल्न दिन नहुने भन्दै नगरपालीकाले कडाइ गर्ने जनाएको छ । औरैया लगायत सीमा क्षेत्रका नेपाली बजारहरूमा भारतीय थोत्रा सवारीको रजगज छ । इशनाथ नगरपालिका प्रमुख सन्तोष मेहताले भारतीय थोत्रा सवारीले दुर्घटना निम्त्याउने बताए । ‘हामी यस्ता थोत्रा सवारीलाई चल्न दिँदैनौ,’ उनले भने, ‘सीमा क्षेत्रमा चल्ने सवारी कन्डिसन र भरपर्दो हुनुपर्छ ।’ जोखिम मोलेर भारतीयले थोत्रा गाडी चलाइरहेका छन् ।

थोत्रा गाडीले यात्रु सित मनपर्दि भाडा लिन्छन् । जिल्लाभित्र भारतीय सवारीको बिगबिगी छ । यात्रुका साथै समान बोक्न समेत थोत्रा सवारी प्रयोग भएको पाइएको छ । भारताबट नेपाल भित्रिँदा प्रतिदिन जिप, कारले भन्सार दस्तुर तिर्नुपर्छ । खुला सीमा भएकाले अधिकाशले त्यतिकै चलाउँदै आएका छन् । उनीहरू एक दिनको भन्सार राजस्व काटेर महिना दिनसम्म चलाउँछन् । यस्ता सवारीको हकमा ३५ दिन कटेमा स्वत: जफत गर्ने कानुनी प्रावधान छ । भारतीय सबारीका कारण गौर भन्सारले करोडौंको राजस्व गुमाउँदै आएको छ । जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र केसीले भारतीय सबारीमा कडाइ गर्ने बताए । ‘बिना भन्सार नेपाल प्रवेश गरी चलाइएको पाइयो भने पक्राउ गरी कारबाही गर्छाैं,’उनले भने, ‘जिल्लामा कस्ता कस्ता भारतीय सवारी चल्छ भन्ने तथ्यांक राख्ने तयारी गर्दैछाैं ।’

टेम्पो पनि भारतीय
सदरमुकाम गौरमा डेढ दर्जन बढी भारतीय टेम्पो सञ्चालनमा छन् । यसले नेपाली टाँगा र रिक्सा मजदुरहरू लगभग बिस्थापित भइसकेको छ । पारिका टेम्पो चल्न थालेपछि गौरमा रिक्सा र टाँगा व्यवसायी मारमा परेका हुन् । भारतीय टेम्पोविरुद्ध यहाँ चरणबद्ध आन्दोलन हँुदै आएको थियो । स्थानीय प्रशासनले यस्ता टेम्पो सञ्चालनमा कडाइ गरे पनि अहिले निर्वाध चल्न थालेको छ । पारिबाट यात्रु बोकेर आउने टेम्पो गौरमै राति बस्छन् ।

सीमापारि बैरगनिया बजार पुग्न यही टेम्पो चढछन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी डा. कमलेशकुमार सिंन्हाको पालामा भारतीय टेम्पोलाई प्रतिबन्ध लगाउने प्रयास गरेका थिए । तर सकेनन् । टेम्पोलाई गौर बजारको निश्चित क्षेत्रसम्म आउन दिने सहमति गराइएको थियो । अहिले सहमति उल्लंघन गर्दै जथभावी जहाँ पायो त्यही रोक्ने गर्छन् । जिल्ला प्रहरी कार्यालयको मैदानमा भारतीय टेम्पो पार्किङ गर्दै आएका छन् ।

बिनाभन्सार चलाउँदै
जिल्लाभरी अहिले भारतीय सवारीको बिगबिगी छ । स्करपियो, बलेरो, टाटासोमु, सफारी जस्ता जिप निजी र भाडामा चलाउने गर्छन् । उनीहरू भारतबाट नेपाल भित्रिँदा २/४ दिनको भन्सार राजस्व बुझाउँछन् । बाँकी त्यतिकै चलाउँछन् । भन्सार राजस्व बिना भारतीय सवारी चलाउनेको संख्या अत्यधिक छ । दक्षिणी भेगका अधिकांश गाउँको घर/घरमा भारतीय जिप राखिएका छन् ।

जिल्लाको सदरमुकाम गौर, शिवनगर, गरुडा, चन्द्रनिगाहपुर, समनपुर, कटहरिया लगायतका क्षेत्रमा भारतीय सवारी निर्वाध रूपमा चलाउने गरेका छन् । यस्ता गाडी नेपालमा चलाउनु पर्दा दैनिक ४ सय ५२ का दरले भन्सार राजस्व तिर्नुपर्छ । यहाँ सर्वसाधारण, नेता, प्रदेश सदस्य तथा प्रतिनिधि सभाका सांसद समेतले चढ्ने गरेका छन् । नेपाली भूमिमा निश्चित दूरीसम्म जान पाउने प्रावधान रहे पनि भन्सार पासबिना राख्न पाइँदैन । शिवनगर र गरुडा, गौरका विभिन्न मोटरग्यारेजहरूमा ठूलो संख्यामा भारतीय सवारी मर्मत गर्न राखिएका छन् । त्यस्ता सवारीले भन्सार तिर्दैन । नेपाल भारत खुला सीमाका कारण भारतबाट चोरीका गाडीहरू भित्रिने क्रम पछिल्लो केही महिना अघिसम्म बढेको थियो । नक्कली कागजको भरमा भन्सार राजस्व तिरेपछि त्यस्ता गाडी सहजै नेपाल भित्रिने गरेका छन् । यसरी भित्रेका जिपहरू विवाह र निर्वाचनका बेला बढी प्रयोग हुने गरेको छ ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?