कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

गाँजासहित हतियार बरामद

रवीन्द्र उप्रेती

महोत्तरी — प्रहरीले ठूलो परिमाणमा तयारी गाँजासहित पेस्तोल र गोली बरामद गरेको छ । महोत्तरी प्रहरीले एकडारा गाउँपालिका–३ अजमरपट्टिमा छापा मारेर १ सय ८६ किलो गाँजा नियन्त्रणमा लिएको हो ।

गाँजासहित हतियार बरामद

महोत्तरीमा पटक–पटक गाँजा बरामद भए पनि हतियारसहित फेला परेको यो पहिलो घटना हो । बरामद गाँजाको मूल्य करिव ५ लाख रहेको प्रहरीको दाबी छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वीरेन्द्र पनेरुको कमाण्डमा आइतबार साँझ खटिएको लागूऔषध नियन्त्रण टोलीले चुनचुनदेवी मण्डलको घरबाट सबैभन्दा बढी गाँजा बरामद गरेको हो । मण्डलको घरभित्र प्लास्टिकले बेरिएको १९ वटा पोका बनाएर राखिएको १ सय ४० किलो गाँजा फेला परेको थियो ।


प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार खानतलासी गर्ने क्रममा मण्डलको कम्पाउन्डनजिक घाँस राखेको ढाकी (टोकरी) भित्र हरियो कपडाले बेरेर लुकाएर राखेको अवस्थामा म्यागजिनसहित एक थान पेस्तोल र त्यसमा लाग्ने ३ थान गोली पनि बरामद भएको छ । बरामद पेस्तोलमा ‘इटालियन’ लेखिएको भए पनि ‘लोकल मेड’ जस्तो रहेको जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाले जनाएको छ ।


यसअघि, प्रहरीले जितेन्द्रकुमार मण्डलको घरमा छापा मारेको थियो । उनको आँगन र घरभित्र लुकाएको ४६ केजी तौल बराबरको प्लास्टिकका १२ प्याकेट गाँजा फेला परेको छ । उनको घरबाट डिजिटल वैटिङ मेसिन, कमानी तराजु र विभिन्न तौलका ३ थान ढकसमेत बरामद भएको प्रहरीले जनाएको छ । ती सामग्री गाँजा बेचबिखनमा प्रयोग हुने गरेको प्रहरीको अनुमान छ ।


महोत्तरीको सीमावर्ती गाउँ अरमरमट्टीमा गाँजा तस्करको चलखेल बढेको सुराकीको आधारमा सोमबार साँझ ठूलो संख्यामा हतियारसहितको प्रहरी पुग्दा गाउँमा भागाभाग भएको थियो । छिमेकी ढोका लगाएर लुकेका थिए । प्रहरी पुग्दा गाँजा बरामद भएको दुवै मण्डलको घरमा पनि कोही थिएनन् । घरपरिवार र स्थानीय नभेटिदा प्रहरीलाई तलासी लिन झन्डै ४ घण्टा समय लागेको थियो । स्थानीय तहका जनप्रतिनिधिले समेत सहयोग गर्न नमानेपछि तलासी र बरामदीमा समस्या झेल्नु परको प्रहरी निरीक्षक पनेरुले बताए ।


प्रहरी उपरीक्षक कडायतले व्यक्ति फरार भए पनि पहिचान खुलिसकेकाले दुवैविरुद्ध लागूऔषध ओसारपसार, सञ्चय र बिक्रीवितरण अभियोगमा मुद्दा दर्ता गरी कारबाही अघि बढाउने तयारी भइरहेका जनाए ।

लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार गाँजा बरामद गरिएका घर जग्गामा समेत मुद्दा चलाउन सक्ने व्यवस्था भएकाले नापी र मालपोतबाट विवरण संकलन गरी कारबाही बढाउने तयारी गरिएको उनको भनाइ छ । चालु आर्थिक वर्षको १० महिनामा ९० किलो गाँजा बरामद गरी १६ जनाविरुद्ध कारबाही चलाइएको एसपी कडायतले बताए ।

स्रोतका अनुसार स्तर (क्वालिटी) र प्याकिङकका आधारमा बरामद गाँजा स्थानीय नभएर मकवानपुरको उत्पादन हो । मकवानपुरको गाँजाको सीमावर्ती क्षेत्रमा उच्च माग रहेकोले तस्करी बढेको छ ।


प्रकाशित : जेष्ठ ८, २०७५ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?