१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बगरले धानेको ‘जिन्दगी’

शिव पुरी

बागमति (रौतहट) — चन्द्रपुर नगरपालिका–१ मंगलपुरका २५ वर्षीय राजेन्द्र सहनी बिहानै बागमती खोलाको बगरमा पुग्छन् । श्रीमती उर्मिला र ३ नाबालक छोरासँगै हुन्छन् । बगरमा रूखको हांगाले छाएको सानो झुपडी छ । त्यही नाबालकलाई छाडेर सहनी परिवार गिटी संकलनमा जुट्छ । प्रचण्ड गर्मीको प्रवाह नगरी उनीहरू दिनभर मेहनत–मजदुरी गर्छन ।

बगरले धानेको ‘जिन्दगी’

विगत १० बर्षदेखि यही बगरमा उनी काम गर्दै आएका छन । १५ वर्षको कलिलो उमेरमा आफन्तको साथ लागेर बगरमै बालुवा चाल्थे । बाल्यकाल सम्झदै राजेन्द्रले भने, ‘यसैले अहिलेसम्म जिन्दगी धानेको छ ।’ उनी पढलेख गर्न जान्दैनन् । छोराछोरी समेत उस्तै हुने हुन् कि भन्ने चिन्तामा छन । अघिल्लो दिन तयार पारेको २ ट्रिप गिटी बागमतीमा आएको बाढीले बगाएपछि उनीहरू तनाबमा थिए ।

‘दिनभर काम गरेर गिटि संकलन गरियो रातीको पानीले सबै बगायो,’ उनले भने, ‘जहिले पनि गरिबलाई मात्र बिपत्ति आउँछ ।’ २०५० सालमा बागमतिमा आएको बाढीले साविक गढौ गाविसमा रहेको घर खेत बगाएपछि उनीहरू बिस्थापित भए । त्यसपछि चाइनाको चुचि फाउण्डेसनले बागमतीको मंगलपुरमा बनाएको घरमा सहनी परिबार बस्दै आएका हुन्।


बाढीले सुकुम्बासी बनाई दिएपछि उनीहरू बगरमै बिहानदेखी गिटि संकलन गर्छन । त्यही क्रममा नाबालकसहित राजेन्द्र घोरिएर बसेको भेट्टिए । ‘जीवनभर बगरकै बास हुने भो,’ उनले भने, ‘सरकारले बास स्थान दियो तर बेरोजगार भएर बस्नु पर्‍यो ।’ बगरको जिन्दगी कष्टकर रहेको दुखेसो पोखे । बिहान साढे ५ बजे नै सहनी परिबार बगर पुग्छन । त्यहाँबाट उनिहरूको दैनिकि सुरु हुन्छ । एक दिनमा मुस्किलले एक ट्रिप गिटि संकलन गर्छन । ठेकेदारले १ हजारमा किनेर लैजान्छन । घरमा उनी बाहेक परिबारका अन्य सदस्य छैनन् ।

अधिकाश बाढी पिडितहरू छन । उनीहरू गिटि र ढुंगा संकलन गर्दै आएका छन । झण्डै ५ सयका हाराहारीमा बगरमा ढुंगा, गिटि र बालुवा संकलनमा मजदुरहरू खटेका छन । ति मध्ये धेरै जसो महिला छन । नदिमा बाढी आए पछि अधिकाशको रोजगारी गुमेको जस्तै हुन्छ । बाढीमा संकलन गर्न सकिदैन । बगरमा अधिकाशले साना झुपडि बनाएका छन । उनिहरू दिनभर संकलन गरी भोली पल्ट बिक्रि गर्छन । कहिले काही राती पानी परेर बाढी आई सबै बगाएर लैजान्छ । यस्तो बेला उनिहरू निकै पिडामा हुन्छन । बगरमा काम गर्ने धेरै जसो मंगगलपुरका बाढी पिडितहरू छन् ।

बाढीले बिस्थापित पवनकुमारी सहनीको अवस्था उस्तै छ । बगरमा गिटि संकलन गरेर उलने ९ जना परिबार पालेकी छिन । आर्थिक अवस्था कमजोर भएकाले उनले छोरालाई ५ कक्षा पढाएर छुटाईदिएको बताउछिन । ‘सरकारले निशुल्क शिक्षा भनेको छ तर बिद्यालयले परिक्षा फिस भनेर पैसा अशुल्ने गरेको छ,’उनले भने,‘गरिबले कहाँबाट पैसा ल्याउनु । बगरमा काम गरेको भरमा जिविका चलाउनु की छोरा छोरी पढाउनु ।’ उनले निशुल्क भनेर रकम अशुल्ने बिद्यालयलाई सरकारले कारबाही गर्न नसकेको सुनाईन । दुखले कमाए पनि राम्ररी खान नपुग्ने उनको भनाइ छ ।

जंगल र नदीको भर
चन्द्रपुर–१ मंगलपुर गाउँ बाढी पिडितको बसोबास स्थल हो । २०५० सालमा बागमति नदिमा आएको बाढीले गढौमा रहेको घर खेत बगाए पछि झण्डै २ सय बिस्थापित परिबारलाई सरकारले यही स्थायी बसोबासको ब्यवस्था गरेको हो । यहाँ बस्ने अधिकाश सहनी जातका छन । उनिहरू बागमतिमा माछा मार्ने, गिटि, बालुगा, ढुंगा संकलन गर्ने र जंगलबाट दाउरा ल्याएर बिक्रि गर्छन् ।

जिविकोपार्जनका लागी बागमति नदिमा गिट्टि चालेर छाक टार्दै आएका देवनारायण सहनीलाई परिवार पाल्ने भन्ने चिन्ताले सताएको छ । उनि दाउरा संकलनमा लागेका छन । श्रीमति सुनिता बगरमा गिटि चाल्न जान्छिन । देबनारायण कहिले माछा मार्ने र कहिले जंगलबाट दाउरा ल्याएर बिक्रि गर्छन् ।

‘रोजगारी नभए पछि २ छोरालाई लिएर जंगल दाउरा बटुल्न जान्छु,’उनले भने,‘ केही उपाय नभए पछि जँगल धाउनु परेको हो । परिबार पाल्ने बाटो बन्द भए पछि अन्तिम उपायको खोजीमा जंगलको दाउरा रोज्नु पर्‍यो ।’ मंगलपुरमा रहेका पिडित मध्ये केहीले घर बेचेर गाउँ छाडेका
छन् ।

प्रकाशित : जेष्ठ ९, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?