१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वीरगन्ज नाकाबाट व्यापार घाटा झन् बढ्यो

शंकर आचार्य

पर्सा — मुलुकको मुख्य नाका वीरगन्जबाट भारत तथा तेस्रो मुलुकतर्फको व्यापार घाटा झनै बढेको छ । गत आर्थिक वर्षको चैत महिनाको तुलनामा चालु आवको चैत महिनामा व्यापार घाटा बढेको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

वीरगन्ज नाकाबाट व्यापार घाटा झन् बढ्यो

भन्सार तथ्यांकअनुसार चालु आवको चैत महिनासम्ममा यस नाकाबाट तीन सय अर्ब रुपैयाँ बराबरका सामान भारत तथा तेस्रो मुलुकबाट आयात भएको छ । गत आवको यसै अवधिमा २ सय ४७ अर्ब रुपैयाँ बराबरका सामान आयात भएको थियो । यो फरक २१ दशमलव ३६ प्रतिशतले बढी हो । यो नाकाबाट आयात हुने मुख्य वस्तुमा इन्धन, नयाँ सवारी साधन, औद्योगिक कच्चा पदार्थ, दैनिक उपभोग्य वस्तु आदि हुन् ।

भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवका अनुसार चालु आवको चैत महिनासम्ममा यो नाकाबाट ८ अर्ब ४० करोड रुपैयाँ बराबरका सामान भारत तथा तेस्रो मुलुकतर्फ निर्यात भएका छन् । यो नाकाबाट निर्यात हुने मुख्य वस्तुमा जुस जाम, ऊनी गलैंचा कार्पेट, तयारी कपडा, फलामका तयारी पाइप आदि हुन् । तुलनात्मक रूपमा निर्यात २७ दशमलव ७१ प्रतिशतले घटेको छ ।

भन्सार राजस्वको दृष्टिले गत आवभन्दा चालु आव केही सकारात्मक रहेको छ । गत आवको चैत महिनासम्ममा यो भन्सार कार्यालयले ८१ अर्ब ४२ करोड राजस्व संकलन गरेकोमा चालु आवको यस अवधिमा ९१ अर्ब ६६ करोड राजस्व संकलन गरेको छ । जुन १२ दशमलव ५७ प्रतिशतले बढी हो । राजस्व असुली बढेसँगै भन्सार विभागले यो भन्सारलाई दिएको राजस्व असुली लक्ष्य पनि गत आवभन्दा बढी छ ।

गत आवको चैत महिनासम्मको अवधिमा ७८ अर्ब ४९ करोड राजस्व असुलीको लक्ष्य रहेकोमा चालु आवको यस अवधिमा ९६ अर्ब ७६ करोड रुपैयाँ राजस्व असूली लक्ष्य छ । जुन २३ दशमलव २७ प्रतिशतले बढी हो । व्यापार घाटा बढ्ने वा घट्ने कुनै नाका विशेषको कारणले नभई समग्र मुलुकको व्यापार नीति र अन्य कारणमा भर पर्ने यादव बताउँछन् । भन्सार कार्यालयले आयात निर्यात हुने वस्तुको आयात निर्यातमा सहजीकरण मात्र गर्ने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?