ड्रोनबाट नगरको नक्सांकन 

भरत जर्घामगर

सिरहा — धनगढीमाई नगरपालिकाले एकीकृत नगर विकास गुरुयोजनाको सम्भाव्यता अध्ययनका लागि ड्रोनबाट नक्सांकन लिन सुरु गरेको छ ।

ड्रोनबाट नगरको नक्सांकन 

नगरको गुरुयोजना तयार गर्न र नगर क्षेत्रभित्रका वस्तीहरुको ड्रोनबाट डिजिटल नक्सांकन लिन सुरु गरिएको हो ।


प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माका अनुसार तराईको समतल भूभाग पूर्वपश्चिम राजमार्गदेखि उदयपुरको विकट उत्तरवर्ती चुरे क्षेत्रसम्म नगरपालिकाको सिमाना जोडिएकाले पनि एकिकृत नगर विकासको गुरुयोजना बनाउन सम्भाव्यता अध्ययनका लागि ड्रोनको प्रयोग गरिएको हो ।


धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीले जिल्लामैं पहिलो पटक नक्सांकनका लागि कार्यालय परिसरबाट ड्रोनको सुरुवात गरे । उनले नगरक्षेत्रका विभिन्न प्वाइन्टबाट सुरु गरिएका नक्सांकन सर्वेक्षण काम आगामी १५ गतेभित्रमा सम्पन्न हुने जानकारी दिए ।


‘नगरभित्रको सामाजिक, आर्थिक, सांस्कृतिक तथ्यांक संकलनका लागि ड्रोनको प्रयोग गरिएको हो’ उनले भने । नगरको तथ्यांक आवधिक गर्न नगरपालिकाले घरधुरी सर्वेक्षणको काम समेत सुरु गरेको छ । गणकहरुले जीपीएस ट्रयाकिंङको माध्यमबाट स्मार्ट फोनको प्रयोग गरी घरधुरी सर्वेक्षण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।


‘तथ्यांक संकलन भएपछि एकिकृत तथ्यांक नगरपालिको एप्समा राखिनेछ’ उनले भने ‘यसबाट भौतिक पूर्वाधार निर्माण लगायत घरधुरी पत्ता लगाउन सहज हुनेछ ।’


आईटी विज्ञ प्रशन्न महर्जनले दुई सय मिटर उचाईबाट ड्रोनले तस्बिर र भिडियो खिच्न सक्ने भएकाले पनि नक्सांकनमा सहज हुने जानकारी दिए ।


जिल्लामै पहिलो पटक डिजिटल प्रविधिको सुरुवात गरेको धनगढीमाई नगरपालिकाले यसअघि १४ वटै वडा कार्यालयमा सीसी क्यामेरा, इन्टरनेट सेवा जडान गरिसकेको छ ।

प्रकाशित : जेष्ठ १०, २०७५ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?