भारतीय सुरक्षाकर्मी नियन्त्रणमा

शिव पुरी

रौतहट — लेनदेनको विषयमा शुक्रबार साँझ भारतीय सुरक्षाकर्मीले दुई नेपालीलाई छापामार शैलीमा गाडीमा लिएर भारत तर्फ लैजान खोज्दा गौर भन्सारस्थित चेकपोष्टमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ ।

भारतीय सुरक्षाकर्मी नियन्त्रणमा

बाराको कलैया १७ का महेशप्रसाद यादव, रौतहटको वसन्तपुर २ का तकिर आलमलाई गौर भन्सार चेकपोष्टभन्दा ५० मिटर परबाट भारतीय सुरक्षाकर्मीले लैजान लागेका थिए ।

गौर बजारमा किनमेलका लागि आएको भन्दै झुक्याएर नेपालीलाई गाडीमा राखेर लैजाने लागेको थाहा पाएपछि भारतीय सुरक्षाकर्मीलाई नियन्त्रणमा लिइएको थियो । उनीहरूलाई राति अबेरसम्म जिल्ला प्रहरीमा राखेर सोधपुछ गरिएको छ । भारतको बैरगनिया थानाका सुजितकुमार, अक्षेवरनाथ मिश्र, मिथलेशकुमार र महमद खान सहितको टोली यसमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

भारतीयहरू नेपाली बजारमा किनमेल गर्न भन्दै झुक्याएर थानाको गाडीसहित सादा पोसाकमा प्रवेश गरेका थिए । उनीहरू नेपाली चेकपोष्ट नजिक गाडी राखेर बसेका थिए । अचानक केही मानिस गाडीमा राखेर लैजान लागेको देखेपछि नियन्त्रणमा लिइएको गौर भन्सारस्थित सशस्त्र प्रहरीले जनायो । ‘भारतीय सुरक्षाकर्मीको गतिविधि शंकास्पद देखिएपछि सोधपुछ गर्दा नेपालीलाई जबरजस्ती पारी लैजान लागेको स्पष्ट भयो,’ एक सुरक्षा अधिकारीले भने, ‘लेनदेनको विषयमा नेपाली भूमि प्रवेश गरी गलत काम गरेकाले नियन्त्रणमा लिएर जिल्ला प्रहरीमा बुझाएका हौं ।’

यादवको काठमाडौंस्थित गार्मेन्टमा काम गर्ने बिहार सीतामढी पचटकीका ओहिद मन्सुरीका छोरा सविन मन्सुरीले बैरगनिया थाना प्रभारीलाई गौर बोलाएका थिए । त्यसअघि यादव सहितको टोली गौर बजारमा लेनदेनको विषयमा छलफल गरेका थिए । मन्सुरीले नै यादवलाई रकम फिर्ता गर्ने भन्दै गौर बोलाएका थिए । मन्सुरीले गार्मेटमा काम गर्न भन्दै यादवसित ४ लाख लिएका थिए । रकम नतिरेको र काममा समेत नआएपछि यादवले पैसा फिर्ता गर्न दबाब दिएका थिए । यादव सहितका ४ जना सँगै खाजा खाएर घुम्न सडकमा निस्केका मन्सुरीले फोन गरेपछि बैरगनिया थाना प्रभारी गाडीसहित गौर भन्सार नजिक रहेको होटल अगाडि आएका थिए । त्यसपछि यादव र आलमलाई जबरजस्ती गाडीमा राखेर लैजान लागेका थिए ।

भारतीय सुरक्षाकर्मी सहितलाई नियन्त्रणमा लिइएपछि जिल्ला प्रहरीबाट प्रहरी निरीक्षक मनोज यादव नेतृत्वको टोलीलेले गाडीसहित भारतीय सुरक्षाकर्मी र पीडितलाई जिल्ला प्रहरी लगेका थिए । जिल्ला प्रहरी प्रमुख एसपि रविन्द्र केशीले घटना बारे थप अनुसन्धान भइरहेको बताए । ‘हामी सोधपुछ गर्दै छौं, उनले भने, ‘यथार्थ केहो यसबारे अनुसन्धान हुँदै छ ।’ राति अबेरसम्म भारतीय सुरक्षाकर्मीलाई छाडिएको थिएन ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?