१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

महागंगा आरती : पर्यटकीय गन्तव्य बन्दै

जनकपुर — गंगासागरमा आरती सुरु गरिएको चार वर्ष पुगेको छ । ‘महागंगा आरती’ नाम पाएको यसले स्थानीय श्रद्धालुको मात्र होइन, स्वदेशी वा विदेशी पर्यटकको समेत ध्यान तानेको छ ।

महागंगा आरती : पर्यटकीय गन्तव्य बन्दै

महागंगा आरती आयोजक सेभद हिस्टोरिकल जनकपुरका अध्यक्ष एवं प्रदेशसभा सदस्य रामाशीष यादवका अनुसार पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, विहारका तत्कालीन उपमुख्यमन्त्री सुशीलकुमार मोदी, भारतीय राजदूत रंजीत रेसहित जापान, श्रीलंका लगायत देशका राजदूत तथा नेपाल भारतका उपल्ला दर्जाका राष्ट्रसेवक महाआरतीमा सहभागी भइसकेका छन् । स्थानीयसँगै दर्जनौं विदेशी पर्यटक महाआरतीमा दैनिक सहभागी हुन्छन् ।

‘पर्यटक आउनेक्रम सुरु भइसकेको छ । यसलाई अझ व्यवस्थित गर्नुपर्ने आवश्यकता छ ।’ सेभद हिस्टोरिकल जनकपुरका अध्यक्ष यादवले भने ।महागंगा आरती प्रारम्भ भएको वार्षिकोत्सवको अवसरमा बिहीबार साँझ आयोजित विशेष महाआरतीमा प्रदेश २ प्रमुख रत्नेश्वर लाल कायस्थ, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यसँगै हजारौं श्रद्धालु सहभागी भए ।महाआरतीमा सहभागी हुन दैनिक सयौं महिला पुरुष, बालबालिका तथा वृद्ध–वृद्धा सहभागी हुन्छन् । महोत्तरी डाम्ही स्थायी घर भई जनकपुरमा बस्दै आएकी रीता सिंहको प्रतिक्रिया थियो, ‘महागंगा आरतीमा सहभागी भएपछि, दिनभरिको कामको पीडा बिर्सिन्छ । रिचार्ज भइन्छ ।’

प्रदेश २ का प्रमुख रत्नेश्वर लाल कायस्थ महागंगा आरतीको आयोजनले जनकपुरमा एउटा पर्यटकीय गन्तव्य थपिएको बताए । उनले भने, ‘महागंगा आरतीको लोकप्रियता बढदै गएको छ ।

यसले जनकपुरको पर्यटन विकासमा टेवा पुग्ने पक्का हो ।’कसरी सुरु भयो महाआरती ?गंगामहाआरती २०७१ जेठ २५ गते गंगादशहराको दिनदेखि सुरु भए पनि, यसको तयारी भने २०७० साल फागुन ११ देखि नै भइसकेको थियो । आरती सुरु गर्नुपूर्व फोहोरको डंगुर बनेको गंगासागरलाई सफा सुग्घर पार्नु जरुरी थियो । सागर सफाइ गर्ने उद्देश्यले रामाशीष यादवको अध्यक्षतामा सेफद हिस्टोरिकल जनकपुर नामक संस्था गठन गरिएको थियो । सागर सफाइ गर्न एक वर्ष लागेको थियो । अध्यक्ष यादव भन्छन्, ‘गंगासागरबाट कम्तीमा पनि एक सय ट्रेक्टर फोहर झिकिएको थियो ।’

सागरसफाइमा स्थानीय युवा युवतीसँगै नेपाली सेना र नेपाल प्रहरीका जवानले समेत सहयोग गरेको अध्यक्ष यादवले बताए । सांस्कृतिक इतिहास बोकेको जनकपुरमा अचेल ‘ग्रिन जनकपुर क्लिन जनकपुर’ अभियान पनि सञ्चालन गरिएको छ । यस अभियानअन्तर्गत जनकपुर तथा चुरे क्षेत्रमा गरी हालसम्म १ लाखभन्दा बढी बिरुवा रोपिएका छन् ।

दिनभरिको थकाइ मेटिन्छ


रीता सिंह, गृहणी
सूर्योदयभन्दा पहिले उठनु र परिवारका सम्पूर्ण सदस्य सुतिसकेपछि सुत्ने गृहणीको दैनिक काम हो । एक आममहिलाका रूपमा मेरो दैनिकी पनि यस्तै छ । परिवारमा समस्या पनि हुन्छन्, अनि राम्रा अनुभव पनि हुन्छन् । व्यस्त दैनिकीमध्ये मैले एक घण्टा महागंगा आरतीको लागि छुट्याएकी छु । यहाँ आएपछि दिनभरिको थकाइ मेटिन्छ । रिचार्ज हुन्छु ।

स्वच्छता अभियान पनि हो


डा.भोगेन्द्र झा, अर्थविद्

महागंगाआरती एउटा धार्मिक आयोजनमात्र नभई स्वछता अभियान पनि हो । आरती सुरु हुनुपूर्व रामाशीषजीको टिमले सागर सफाइ गरेका थिए । यसबाट प्रभावित भएर नगरका अन्य युवाहरूले पनि सागर र नगर सफाइ अभियान सञ्चालन गरेका छन् । स्थानीय युवाको प्रयासमा अंगराजसर, लक्ष्मणसर तथा महाराजसागर जस्ता पवित्र सरोवर पनि सफाइ गरिएको छ । यो क्रम जारी नै छ । यस आयोजनले देशी विदेशी पर्यटकको ‘स्टे’ लामो बनाएको छ ।

पुरानो परम्पराको निरन्तरता


रामरोशन दास वैष्णव, छोटे महन्थ

देवी देवतालाई नित्य आरती गर्नु जनकपुरको पुरानो परम्परा हो । देवी देवताको पूजा विधानमै धूप, दीप, नैवेद्य र आरतीको प्रावधान छ । जानकी मन्दिरमै पनि दैनिक चारपटक आरती हुन्छ । बिहान ८ बजे मंगलाआरती, मध्याह्न १२ बजे भोगआरती, साँझ साढे ७ बजे सन्ध्या आरती तथा राति ९ बजे सयन आरती । जानकी मन्दिरमा हुने चारवटै आरतीमा नगरका सम्पूर्ण इष्टदेवको आरती हुन्छ । गंगाआरती भनेको शिवको आरती पनि हो । किनकि गंगाको प्रादुर्भाव शिवको जटाबाट भएको थियो त्यसैले शिवको आरती पनि गरिन्छ । गंगाआरतीको क्रममा प्रदर्शन हुने भावभंगिमा तथा पूजा विधिलाई हेर्दा यस आरतीलाई ताण्डव आरती पनि भन्न सकिन्छ । मिथिलामा सम्पूर्ण ईष्ट देवलाई पूजा तथा सम्मान गर्ने परम्परा छ । पछिल्लोपटक गंगाजीको आरती यसक्रमको निरन्तरता हो ।

जनकपुर बनाउने अभियान हो


अमरचन्द अनिल, सामाजिक अभियन्ता

गंगासागर जनकपुरको धार्मिक तथा सांस्कृतिक सरोवर हो । यहाँ ५२ कुटी, ७२ कुण्ड अर्थात् सरोवर छन् । गंगासागरमा हुने महागंगा आरतीले बाँकीका ७१ सरोवरको संरक्षण तथा सौन्दर्यीकरण पनि आवश्यक छ भन्ने कुरा सम्झाउँछ । गंगासागर जस्तै यहाँका अन्य सरोवरलाई पनि संरक्षण गर्नुपर्छ । सौन्दर्यीकरण गर्नुपर्छ तर दुर्भाग्य यहाँका अनेकौं ऐतिहासिक सरोवरहरू लोप हुने अवस्थामा छन् । केही लोप पनि भइसकेका छन् । सम्पूर्ण सरोवरको खोजी गर्नुपर्छ । मलाई महाआरतीले यही सन्देश दिएको जस्तो लाग्छ ।

क्षेत्रकै गरिमा बढाएको छ


कमल हाती, युवा व्यवसायी

महागंगा आरतीले जनकपुर क्षेत्रकै गरिमा बढाएको छ । जानकी मन्दिर, राममन्दिर, राजदेवी मन्दिर, दुलहादुलहिन लगायतका मठ मन्दिर तथा गंगासागर, धनुषसागर, महाराजसरलगायतका सरोवरहरूको सहरका रूपमा चिनिने जनकपुरले अचेल अर्को विशेषण पनि पाएको छ, दैनिक महागंगाआरती हुने सहर । यस आयोजनले यहाँका वृद्ध वृद्धाका लागि सन्ध्या वन्दन गर्ने अवसर जुराएको छ । गीत संगीत तथा भगवत भजनमा रमाउने अवसर जुराएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?