सडकमा बढ्दैछन् ‘विक्षिप्त’ महिला

शंकर आचार्य

पर्सा — वीरगन्ज–कलैया सडक खण्डअन्तर्गत प्रसौनी बजारमा डुलिरहेकी एक अपरिचित महिलालाई स्थानीयले सोमबार प्रहरीको जिम्मा लगाए ।

सडकमा बढ्दैछन् ‘विक्षिप्त’ महिला

प्रहरीले ती महिलालाई आवश्यक संरक्षणका लागि माइती नेपाल वीरगन्जको आवधिक गृहमा राख्यो ।

आवधिक गृह प्रमुख संगीता पुरीका अनुसार हिन्दी र बंगाली भाषा मात्र बोल्ने करिब ३० वर्षकीजस्ती देखिने ती महिला प्रसौनी बजार कसरी पुगिन् ? उनलाई आफैं याद छैन । ती महिलाले आफ्नो नाम र ठेगाना बताउन पनि सक्दिनन् । न अन्य कसैले उनलाई चिनेको छ । शारीरिक प्रकृति हेर्दा उनी भर्खरै सुत्केरी भएजस्ती दखिन्छिन् तर, उनको साथमा बच्चा छैन । आफूलाई पटक–पटक शोषण गरिएको मात्र उनी भनिरहन्छिन् ।

वैशाख २० गते राति वीरगन्जस्थित नेपाल भारत सीमामा भारतीय नम्बर जेएच ०९ एल ५६२७ नम्बरको भारतीय ट्रक भित्रबाट एक महिलाले निरन्तर रोएको जस्तो आवाज आयो । स्थानीय तथा प्रहरी समेत भएर हेर्दा ट्रकभित्र एक सुस्त मनस्थितिकी जस्ती देखिने करिब १८ वर्षीया युवती फेला परिन् । युवती अत्यन्त मैलो लुगा लगाएकी तथा केही पनि बोल्न नसक्ने अवस्थामा थिइन् । उनी आफ्नो नाम ठेगाना पनि बताउन सक्दिनन् । प्रहरीले ती युवतीलाई पनि संरक्षणका लागि माइती नेपाल आवधिक गृहकै जिम्मा लगायो । युवतीको अनुहार हेर्दा उनी पहाडी मूलकीजस्ती देखिन्छिन् ।

ट्रक चालक भारतीय नागरिक ४० वर्षीय सुरेश यादवलाई प्रहरीले नियन्त्रणमा लियो । उनले सीमा पारि भारतीय सहर रक्सौलस्थित गण्डक नहरमा आफूले ती युवतीलाई देखेको र युवतीपछि आफ्नो ट्रकमा चढेको कुरा थाहा नपाएको बयान दिए । यादवलाई प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएको छ । यी दुई घटना प्रतिनिधि मात्र हुन् । पछिल्ला केही वर्षयता बेवारिसे अवस्थामा महिला सडकमा फेला पर्ने क्रम बढदो छ । चालू आर्थिक वर्षमा मात्र आवधिक गृहमा पर्सा र बाराका तथा सीमा पारि भारतीय सहरहरूका विभिन्न सार्वजनिक स्थान तथा सडकमा फेला परेका १० महिलाहरू प्रहरीमार्फत गृहमा ल्याइएका छन् । १० मध्ये २ भारतको मोतिहारीबाट पनि ल्याइएका हुन् । उनीहरू पहाडी/नेपाली मूलकाजस्ता देखिने भएकाले भारतीय प्रहरीले नेपाली हुन् भनी अनुमान गरी नेपाली प्रहरीको जिम्मा लगाएको हो । तीमध्ये एक महिला सुस्त मनस्थितिकी र अर्की बोल्दै नबोल्ने थिइन् ।

बाँकी ८ महिलाहरू नेपालकै भोजपुर, स्याङ्जा, बागलुङ, जनकपुर, इटहरी, रौतहट, रूपन्देहीका थिए । उनीहरूलाई गृहमा ल्याएर औषधोपचारपछि केहीले ठेगाना भन्न सकेको तथा केहीले अनुमान गरेको आधारमा उनीहरूको ठेगाना पत्ता लगाएर आफन्तको जिम्मा लगाइएको पुरी बताउँछिन् । उनीहरूको आफन्त र ठेगाना पत्ता लगाउन प्रहरीको समेत सहयोग लिइएको थियो ।

ती १० मध्ये ३ महिला गृहमा ल्याउँदा गर्भवती रहेको र उनीहरूले पछि गृहकै संरक्षणमा शिशु जन्माएको पनि पुरी बताउँछिन् । बागलुङ, स्याङ्जा र रौतहटका महिलाले बच्चा जन्माएकोमा हाल एक बच्चा आमासँगै छन् भने २ बच्चालाई जिल्ला बाल कल्याण समितिको पहलमा जिल्ला अदालतबाट आवश्यक प्रक्रिया पुर्‍याई अन्य दम्पतीलाई धर्मपुत्र/धर्मपुत्री राख्न दिइएको छ । यसरी बच्चा जन्माउने महिलालाई आफ्ना सन्तानको बुवाको नाम र ठेगानाबारे पनि होस् हुँदैन । उनीहरूलाई आफू आमा बनेको सम्म पनि थाहा हँुदैन । ‘यो ज्यादै जटिल अवस्था हुन्छ,’ पुरी भन्छिन्, ‘हामीले बेवारिसे आमा र तिनका सन्तानलाई पनि अहोरात्र स्याहार्नुपर्ने हुन्छ, दुई अबोध ज्यानलाई उत्तिक्कै माया र स्नेह दिएर बचाउनु र हुर्काउनु हाम्रा लागि ठूलो चुनौती हुन्छ ।’

यसरी बेवारिसे अवस्थामा ल्याइने महिलाहरूमध्ये केही सुस्त मनस्थितिका, केही मानसिक बिरामी र केही घरेलु हिंसामा परेर घर छोडेर हिँडेका हुन्छन् । यसरी बेवारिसे रूपमा हिँड्ने महिलाको ज्युज्यान जोखिममा हुने गरेको पुरी बताउँछिन् । ‘यस्ता महिलाले बेवारिसे अवस्थामै गर्भधारण गर्नुको अर्थ उनीहरूलाई जबर्जस्ती वा ललाइफकाई यौन शोषण हुने गरेको पनि हुन सक्छ,’ उनले भनिन्, ‘यसबाहेक दुर्घटनामा परेर घाइते हुने, ज्यान जाने जस्ता जोखिममा पनि यी महिला हुन्छन् ।’

पछिल्लो केही वर्षयता यस भेगमा बेवारिसे अवस्थामा महिला तथा युवती फेला पर्ने क्रम हात्तै बढेको छ । सामाजिक अभियन्ता प्रकाश थारू यसरी बेवारिसे अवस्थामा प्रहरीले महिलालाई फेला पार्ने क्रम केही वर्षयता बढदै गएको बताउँछन् । ‘केही महिला प्रहरीको सहयोगमा माइती नेपाल तथा मानव सेवा आश्रमजस्ता परोपकारी संस्थाहरूमा संरक्षण लिइरहेका छन्,’ उनले भने, ‘सदरमुकाम वीरगन्ज र आसपासका सडक तथा सार्वजनिक स्थलमा अझै पनि यस्ता महिला भौंतारिइरहेको देख्न सकिन्छ ।’

यसरी बेवारिसे महिलालाई संरक्षण गृहको जिम्मा लगाउनु मात्र समस्याको समाधान नभएको उनको बुझाइ छ । यसरी महिलालाई किन बेवारिसे अवस्थामा छडकमा आउन बाध्य बनाइन्छ भन्ने कुराको तहसम्म पुगेर जानाजान वा लापर्बाही पूर्वक भए पनि यसरी आफ्ना परिवारका सदस्यलाई बेवारिसे बनाउनेलाई दण्डित गर्ने कडा कानुन नबनेसम्म महिला यसरी जोखिममा परी रहने थारू बताउँछन् ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?