२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मत्सरीमा पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दन

शिव पुरी

रौतहट — पूर्वराजा ज्ञानेन्द्र शाहलाई शुक्रबार दुर्गा भगवती गाउँपालिकाको दुर्गा मन्दिर समितिले अभिनन्दन गरेको छ । बाहिर स्थानीयको भीड बढेपछि सुरक्षाको कारण जनाउँदै उनलाई मन्दिरभित्र आयोजकले अभिनन्दन गरेको थियो ।

मत्सरीमा पूर्वराजा ज्ञानेन्द्रको अभिनन्दन

मत्सरी बजारका अधिकांश महिला उनको स्वागतका लागि मन्दिर परिसर पुगेका थिए ।

निर्धारित समयभन्दा झन्डै २ घण्टा ढिला पुगेका शाहले मन्दिरभित्र आधा घण्टा पूजा गरेका थिए । बाहिर उनलाई स्वागत गर्न ठूलो संख्यामा स्थानीय बसेका थिए । विभिन्न दलका स्थानीय नेता कार्यकर्ता उनलाई हेर्न मन्दिर पुगेका थिए । विक्रम संवत १९७४ मा निर्मित मन्दिर शक्ति पीठका रूपमा प्रख्यात छ । आफ्नै निजी सवारीमा आएका शाहको स्वागतका लागि बजारमा हरियो कार्पेट बिछ्याइएको थियो ।

मन्दिर व्यवस्थापत समितिका अध्यक्ष विनयकुमार झाले अभिनन्दन समारोह कुनै पार्टी विशेषको कार्यक्रम नरहको बताए । ‘यो विशुद्ध मन्दिर व्यवस्थापन समितिले अभिनन्दन कार्यक्रमको आयोजना गरेको हो,’ उनले भने, ‘कार्यक्रमका लागि कुनै पार्टी वा नगरपालिकाले सहयोग गरेको छैन ।’

तत्कालीन राण शासनविरुद्ध लडेका कांग्रेस नेता स्व. बीपी कोइराला, गणेशमान सिंह र भरतमोहन अधिकारी लगायत प्रजातान्त्रिक योद्धाहरूले सेल्टर लिई बसेको मत्सरी गाउँमा पूर्वराजालाई भव्य स्वागत गरिनु अर्थपूर्ण रूपले हेरिएको छ । मत्सरी गाउँ नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालका क्षेत्र पनि हो । पूर्वराजा शाहलाई कडा सुरक्षाबीच मन्दिर परिसरमा ल्याइएको थियो । अभिनन्दनमा उनलाई राजर्षि महाराज भनेर सम्बोधन गरिएको छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?