वैदेशिक रोजगारीमा जाने बढे

ठगिने र मर्ने क्रम पनि बढदै, १० वर्षको अवधिमा वैदेसिक रोजगारी १ सय ३४ जनाको ज्यान गयो
अवधेशकुमार झा

राजविराज — स्वदेशमा रोजगारीको अभाव लगायतका कारणले सप्तरी जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढदै गएको छ । रोजगारीका लागि खाडी मुलुकसहितका अन्य मुलुक जाने क्रम बढेसँगै रोजगारीमा गएकाहरू ठगिने र विभिन्न घटनामा परी मर्ने क्रम पनि बढेको छ ।

वैदेशिक रोजगारीमा जाने बढे

बढदो पारिवारिक अवस्था, आर्थिक स्रोतको अभाव, स्वदेशमा रोजगारी नपाउनु लगायतका कारण वैदेशिक रोजगारीप्रतिको मोह बढदै गएको हो । भएको सम्पत्ति बन्धकी राखी होस् वा खेत लेखेर सयकडा ४–५ रुपैयाँ ब्याज दरमा होस ठूलो रकम खर्च गरेर वैदेशिक रोजगारीमा जाने युवाको सूची जिल्लामा लामो छ ।

सप्तरी सामुदायिक विकास केन्द्रद्वारा जिल्ला प्रशासन कार्यालय पसिरमा स्थापना गरिएको वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्स केन्द्रका संयोजक रामप्रवेश मण्डलका अनुसार आर्थिक वर्ष ०६८/६९ देखि आव ०७३/७४ सम्मकोअवधिमा मात्र जिल्लाबाट ७७ हजार ५ सय चार जना वैदेशिक रोजगारीमा गएका छन् । सप्तरीबाटै वैदेशिक रोजगारीमा जानेहरूको संख्या देशकै पाँचांै स्थान हो । त्यसअघि पनि निक्कै युवा रोजगारीका लागि खाडी लगायतका अन्य मुलुक गएका थिए ।

सरकारले अहिले मलेसिया जान रोक लगाए पनि सप्तरीबाट वैदेशिक रोजगारीमा गएकाहरूको कुल संख्याको झन्डै आधा संख्या रोजगारीका लागि मलेसिया नै गएका छन् । यहाँबाट रोजगारीमा जाने युवाको पहिलो आकर्षण मलेसिया नै देखिएको छ भने त्यसपछि क्रमश: कतार, साउदी, यूएइ र कुबेत देखिन्छ ।

जिल्लाबाट रोजगारीमा जानेको संख्या बढिरहेका बेला एजेन्ट र दलालहरूका कारण ठगिनेहरूको संख्या पनि बढदै गएको छ । परामर्श केन्द्र संयोजक मण्डलका अनुसार राहदानी र पैसा लिएर एजेन्ट सम्पर्कविहीन हुने, नेपालमा एउटा कामको आश्वासन दिने उता गएपछि फरक प्रकृतिको काममा लगाउने, यहाँ एक किसिमको तलब भन्ने विदेश गएसकेपछि त्यसभन्दा फरक तलबमा काम गर्नुपर्ने, नेपालमा मेडिकल पास हुने उता गइसकेपछि फेल हुने, लामो समयसम्म पासपोर्ट लिएर पनि नउडाउने गर्दा कामदार ठगिइरहेका छन् ।

यो वर्षमा मात्र २ सय ८१ जना कामदार एजेन्टबाट ठगिएका छन् । राहदानी र पैसालिएर एजेन्ट सम्पर्कविहीन भएको घटनामा ९० जना, फरक काम देखाएर ठगिनेमा ८० जना, यता स्वास्थ्य परीक्षणमा पास र उता गएपछि फेल हुनेमा २० जना, पासपोर्ट लिएर लामो समयसम्म नउडाएर ठगिनेमा १६ जना कामदार रहेको मण्डलले जनाए ।

ठगिने क्रम विगतमा पनि रहेकोमा चेतनाको अभावमा ठाउँसम्म नपुग्दा ती घटना सार्वजनिक भएका थिएनन् । सूचना केन्द्रमा मात्र आव ०७१/७२ देखि हालसम्मको अवधिमा १ हजार ४ सय ३० जनाले आफू ठगिएको निवेदन दिएका छन् । स्थानीय प्रशासन, वैदेशिक रोजगार विभाग र स्थानीय स्तरमा छलफका माध्यमबाट ती मध्ये ८ सय १८ वटा समस्या समाधान गरिएको र अन्य घटना समाधानका प्रक्रियामा रहेको मण्डलले जनाए । सरकारले फ्रि भिसा फ्रि टिकटको अवधारणा ल्याए पनि व्यवहारमा भने त्यसो लागू हुन सकेको छैन । एजेन्ट र दलालले आफूखुसी रकम असुल्ने गरेका छन् ।

एजेन्टहरूले ठूलो रकम उठाउँदा कामदारलाई कपाली तमसुक बनाइदिने र त्यसमा घर खर्च बापत लिएको उल्लेख गरिदिने गरेका कारण वैदेशिक रोजगारीसम्बन्धी ठगीमा कारबाही अगाडि बढाउन समस्या हुँदै आएको छ । ‘वैदेशिक रोजगारीको प्रयोजन खुलाएर रकम दिएका कागज भए रकम असुलउपर गर्न सजिलो हुन्छ,’ परामर्स केन्द्र संयोजक मण्डलले भने । पछिल्ला एक वर्षमा मात्र कुनै प्रमाण नभएका कामदारलाई पनि स्थानीय स्तरको छलफलका माध्यमबाट सूचना केन्द्रले २६ लाख २५ हजार ३ सय २० रुपैयाँ एजेन्टबाट फिर्ता दिलाएको मण्डलले बताए ।

वैदेशिक रोजगारी हेर्ने स्थानीय स्तरमा कुनै निकाय नहुनु तथा वैदेशिक रोजगार विभागमा उजुरी दिँदा पनि लामो समयदेखि पेन्डिङमा राखिनुले पनि ठगिएकाहरू समयमै न्याय नपाउने गरेको मण्डलको भनाइ छ । उनले कम्तीमा प्रदेश स्तरमा भए पनि यससम्बन्धी निकाय हुनुपर्ने बताए ।

वैदेशिक रोजगारीका क्रममा मर्नेको सूची पनि उतिकै बढेको छ । यसवर्ष मात्र जिल्लाका १२ जना युवा रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका छन् । पछिल्लो १० वर्षको अवधि वैदेशिक रोजगारीमा गएका सप्तरीका कामदारमध्ये एक सय ३४ जनाले उतै ज्यान गुमाएका छन् । रोजगारीका क्रममा मृत्यु भएकाहरूको शव समयमा नआइदिने, क्षतिपूर्ति बापतको रकम लिन ठूलो झन्झट बेर्होनुपर्ने लगायतका समस्याका कारण मृतक कामदारका परिवार पिरोलिने गरेका छन् ।

रोजगारीका लागि विदेश जाँदा स्थानीय भाषा, सम्बन्धित कामका बारेमा जानकार भएर जान आफूहरूले जिल्लाको ग्रामीण क्षेत्रसम्म सूचना प्रवाह गरे पनि अझै पनि धेरै जना सूचना तथा परामर्स लिन नआउने गरेको सप्तरी सामुदायिक विकास केन्द्रका अध्यक्ष शम्भुनन्दन चौधरीले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७५ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?