१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चलेन अस्पताल

अवधेशकुमार झा

रुपनी (सप्तरी) — दानवीर हातले दिएको करोडौं रुपैयाँको घर–जग्गामा सञ्चालन गरिएको नेपाल प्रहरीको पूर्वक्षेत्रीय प्रहरी अस्पताल (ठाकोदेवी जोगेन्द्र भगत) प्रयोगविहीन बनेको छ ।

चलेन अस्पताल

सप्तरी रेडक्रसका सभापति जोगेन्द्र भगत र उनकी श्रीमती ठाकोदेवीले दिएको करौडौं रुपैयाँ बराबरको घरजग्गामा तामझामका साथ उद्घाटन गरिएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीस्थित पूर्वक्षेत्रीय प्रहरी अस्पताल सञ्चालनमा नआउँदा प्रयोगविहीन भएको हो ।

अस्पताल सञ्चालन हुन नसक्दा त्यहाँ कार्यरत चिकित्सकसहित प्राविधिक र अन्य प्रहरी कामविहीन भएका छन् । करोडौंको भौतिक पूर्वाधार र जग्गा दान दिएर पनि अस्पताल सञ्चालन नहुँदा दाता भगत खिन्न छन् । अस्पताल दैनिक खुल्छ, शय्या बिछ्याइएका छन् । नेपाल प्रहरीका चिकित्सक र अन्य स्वास्थ्यकर्मी ड्युटीमा हुन्छन् । तर बिरामीको उपचार हुँदैन ।

सप्तरी रेडक्रसका सभापति भगत दम्पतीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चोकभन्दा सय मिटरपूर्व ३५ करोड रुपैयाँ मूल्य पर्ने चारतले घर निर्मित जग्गा २०७३ साउन ३ गते पूर्वक्षेत्रीय प्रहरी अस्पतालका नाममा रजिस्ट्रेसन पास गरिदिएका थिए । २०७३ साउन ७ गते जिल्ला प्रहरी कार्यालय आयोजित समारोहबीच भगत दम्पतीले उक्त दान तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई अस्पताल सञ्चालनका लागि हस्तान्तरण गरेका थिए ।

प्रहरी अस्पतालका लागि भगत दम्पतीले आफ्नो २ बिघा ५ कट्ठा जग्गा र त्यसमा निर्मित २० कोठाको चारतले भवनसमेत दम्पतीले दान गरेका थिए । यस्तै, उक्त स्थानमा अस्पताल सञ्चालनका लागि भगत दम्पतीले बीउपुँजीका रूपमा २ लाख ५१ हजार रुपैयाँसमेत प्रहरीलाई सार्वजनिक समारोहमा हस्तान्तरण गरेका थिए ।

भगत दम्पतीले दिएको दानको घरजग्गामा नेपाल प्रहरीले पूर्व क्षेत्रीय प्रहरी अस्पताल सञ्चालन गर्ने तयारी गरेपछि ०७३ माघ ३ गते तत्कालीन महानिरीक्षक अर्यालले नै उक्त अस्पतालको उद्घाटन गरेका थिए । तर उद्घाटन गरे पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । अस्पतालमा हाल एकजना एमबीबीएस, एकजना डेन्टल चिकित्सकसहित प्राविधिक र सुरक्षाकर्मी गरी कुल २७ जना कार्यरत छन् ।

किन सञ्चालन भएन अस्पताल ?
उद्घाटनमा तत्कालीन प्रहरी महानिरीक्षक अर्यालले अस्पताललाई ट्रमा सेन्टरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका थिए । तर, ट्रमा सेन्टर त परै जाओस्, प्राथमिक उपचार पनि अस्पतालमा हुन सकेको छैन ।

सुविधा सम्पन्न भवन, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण छँदा पनि अस्पताल सञ्चालन हुन नसक्नुका पछाडि दुईवटा कारण रहेको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिए । उद्घाटन लगत्तै अस्पतालमा विद्युत्सेवा नहुँदा सञ्चालनमा समस्या छ ।

नेपाल प्रहरीका तर्फबाट अस्पतालमा विद्युत् लाइन जडान गर्न कुनै तदारुकता देखाइएन । जसका कारण न त अस्पताल सञ्चालन हुन पायो न त अस्पतालभित्र रहेका उपकरण नै काममा आउन सके । नेपाल प्रहरीले अस्पताल सञ्चालनार्थ विद्युत् सेवा जडान नगरेपछि रुपनी गाउँपालिकाले अढाई लाख रुपैयाँ दियो । यादवले भने, ‘प्रहरीले गर्लान् भनेर हामीले वार्षिक बजेटमा पनि राखेनौं ।’

प्रहरीका तर्फबाट विद्युत् जडान गरी अस्पताल सञ्चालनमा ल्याउन कुनै पहल नभएपछि गाउँ कार्यपालिकाको बैठकले निर्णय गर्दै १ सय एम्पियरको ट्रान्सफर्मरका लागि नेपाल विद्युत् प्राधिकरणको मागबमोजिम आवश्यक अढाई लाख रुपैयाँ प्राधिकरणको खातामा जम्मा गरिदिएको थियो । तर प्राधिकरणले पछि रकम थप गर्नुपर्ने बताएपछि थप रकम अभावमा अस्पतालमा विद्युत् जडान हुन सकेको छैन ।

अस्पताल सञ्चालन नहुनुमा अर्को समस्या भने बजेटको हो । दाताले दिएको घर जग्गामा दक्ष जनशक्ति र उपकरण भए पनि सञ्चालनका लागि नेपाल सरकार वा नेपाल प्रहरीका तर्फबाट कुनै बजेटको व्यवस्था हुन नसक्दा अस्पताल दैनिक सञ्चालन गर्न समस्या भएको हो ।

‘दाताले दिएको जग्गामा कि त सहमतिअनुसार अस्पताल सञ्चालन गर्नुपर्‍यो नभए घरजग्गा छोडनुपर्‍यो, झुठा आश्वासन देखाउनु नेपाल प्रहरीको लापरबाही हो,’ यादवले भने, ‘यहाँ आउने प्रहरीका सबै उच्च हाकिम सकारात्मक कुरा गरेर जान्छन् तर अस्पताल सञ्चालनको व्यवस्थापन गर्दैनन् ।’

दाता खिन्न
प्रहरी र नागरिक दुवैलाई समयमै सुलभ स्वास्थ्य सेवा प्राप्त होस् भन्ने उद्देश्यले आफूले करोडौंको सम्पत्ति दानमा दिँदा पनि अस्पताल सञ्चालन हुन नसक्दा दाता सप्तरी रेडक्रसका सभापति जोगेन्द्र भगत खिन्न छन् ।

‘मैले त समयमा सुलम तरिकाले दक्ष जनशक्तिबाट स्वास्थ्य सेवा प्रदान होस् भन्ने उद्देश्यले अस्पताल सञ्चालनार्थ घरजग्गा दान दिएँ तर अस्पताल सञ्चालन हुन नसक्दा दु:खी भएको छु,’ भगतले भने, ‘यसरी हामीले प्रहरी र नागरिक दुवैलाई स्वास्थ्यमा पहुँचका लागि दिएको दानमाथि खेलवाड गरिनु उचित होइन ।’ उनले अस्पताल तत्काल सञ्चालन गर्न नेपाल प्रहरीले तदारुकता देखाउनुपर्ने बताए । ‘अस्पतालमा हाम्रो नाम पनि जोडिएको छ तर सञ्चालन नहुँदा दानको पनि अवमूल्यन भइरहेको छ,’ भगतले भने ।

प्रकाशित : जेष्ठ १७, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?