कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जानकी मेडिकल कलेज फेरि बन्द

व्यवस्थापन परिवर्तनले अस्पतालको अवस्था सुदृढ हुनुपर्नेमा हरेक पटक दायित्व रकम बढ्नुले समितिको योग्यतामाथि नै प्रश्न चिह्न
श्यामसुन्दर शशि

जनकपुर — ६ सूत्रीय माग राखी जानकी मेडिकल कलेजका कर्मचारीले सम्पूर्ण सेवा अवरुद्ध गरेका छन् । कलेज बन्द भएपछि लाखौं रुपैयाँ तिरेर स्वास्थ्य विज्ञान पढदै गरेका तीन सयभन्दा धेरै विद्यार्थी र हजारौं सेवाग्राही मर्कामा परेका छन् । जनकपुर–९ ब्रह्मपुरीस्थित सिटी अस्पताल पनि बन्द छ ।

जानकी मेडिकल कलेज फेरि बन्द

गत बुधबारदेखि आपतकालीन सेवा समेत बन्द गरेका कारण सेवाग्राही स्वास्थ्य सेवाबाट वञ्चित छन् भने स्वास्थ्य विज्ञान अध्ययनरत अन्तिम वर्षका विद्यार्थी प्रयोगात्मक परीक्षा दिन पाएका छैनन् ।

अन्तिम वर्षका छात्रहरूको सैद्धान्तिक परीक्षा सम्पन्न भइसके पनि शनिबारदेखि हुने भनिएको प्रयोगात्मक परीक्षा अस्पतालमा तालाबन्दी गरिएको कारण स्थगित भएको छ । अन्तिम वर्षका छात्र मनोज रजकले भने, ‘लाखौं तिरेर स्वास्थ्य विज्ञान पढ्न आयौं तर पटकपटकको बन्द हडतालले हामीलाई दिक्क बनाएको छ । प्रयोगात्मक परीक्षा नहुँदा हाम्रो रिजल्ट प्रभावित पनि हुन सक्छ ।’

जानकी मेडिकल कलेज व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज पौडेलले अन्तिम वर्षका विद्यार्थीको प्रयोगात्मक परीक्षाका लागि दस दिनको समय थप गरिएको बताएका छन् । कान्तिपुरसँगको टेलिफोन सम्पर्कमा उनले भने, ‘हामीले आईओएमलाई प्रयोगात्मक परीक्षाको तिथि बढाउन लिखित आग्रह गरेका हौं । आईओएमले दस दिनको समय पनि दिएको छ ।’

कार्यरत कर्मचारी तथा प्राध्यापकहरूले शुक्रबार पत्रकार सम्मेलन गरी कलेज व्यवस्थापन समक्ष ६ सूत्रीय माग राखेका छन् । जानकी मेडिकल कलेज तथा कर्मचारी हकहित संरक्षण संघर्ष समितिले अघि सारेका मागहरूमा गत फागुन २५ गतेपछि गरिएका बर्खास्त तथा सरुवाका निर्णय २४ घण्टा भित्र फिर्ता, गत वर्ष व्यवस्थापन तथा कर्मचारीबीच भएको ६ बुँदे समझौता कार्यान्वयन, कार्यरत कर्मचारी तथा चिकित्सकको करार नवीकरण, सेवाग्राही बिरामीलाई आधारभूत स्वास्थ्य सेवा, राजीनामा दिएका कर्मचारी, फ्याकल्टीका तलब भत्ता तथा बाजारका बाँकी बक्यौता फछ्र्यौट एवं अध्ययनरत विद्यार्थीलाई स्तरीय शिक्षा प्रदान गर्नुपर्ने रहेका छन् ।

सहप्राध्यापक तथा चर्म रोग विभागका प्रमुख डा. विवेकानन्द झाका अनुसार जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत झन्डै पाँच सय कर्मचारीको १४ महिनाको तलब भत्ता बापतको करिब २० करोड बाँकी छ । यसैगरी सञ्चयकोष शीर्षकमा कर्मचारीको तलवबाट कट्टा गरिएको करिब साढे ४ करोड जम्मा गरिएको छैन । आयकर बापतको करोडांै रकम सम्बन्धित कार्यालयमा जम्मा नगरिएको उनको आरोप छ ।

‘हाम्रो तलवबाट कट्टा गरिएको सञ्चयकोष तथा आयकर समेत जम्मा नगर्नु भनेको कर्मचारीसँग मात्र होइन, सरकारको राजस्व समेत मास्नु सरह हो,’ डा. झाले भने । कलेज व्यवस्थापन समितिका अध्यक्ष पौडेलले कर्मचारीलाई नियमित तलब खुवाएको दाबी गरे । बाँकी बक्यौता भुक्तानी गर्ने उद्देश्यले आफूहरूले गत ९ महिनामा १२ महिनाको तलब खुवाएको पौडेलको दाबी छ ।

‘हामी मेनेजमेन्टमा आए यता पुरानो बक्यौता समेत भुक्तानी गर्दै आएका हौं । गत ९ महिनामा १२ महिनाको तलब भुक्तानी गरेका हौं । पुराना दायित्व क्रमश: भुक्तानी गर्दै जाँदा पनि कलेजमा तालाबन्दी गरेको देख्दा दु:ख लागेको छ,’ पौडेलले भने ।

कर्मचारी संरक्षण हकहित संघर्ष समितिका अध्यक्ष उमेश यादव बाँकी बक्यौता तलबभत्ता भुक्तानीका लागि कलेज व्यवस्थापन, प्रदेश सरकार तथा प्रमुख जिल्ला अधिकारीलाई पटकपटक गुहारे पनि कुनै उपलब्धि नभएकाले बाध्य भएर तालाबन्दी गर्नु परेको प्रतिक्रिया दिए । कलेज व्यवस्थापनले पटक–पटक तलब दिने सम्झौता गरे पनि नदिएकाले एकमुष्ट नदिएसम्म तालाबन्दी कायमै राख्ने चेतावनी उनले दिएका छन् ।

यता कलेजका प्रमुख प्रशासक (सीईओ) शुभाषकुमार सिंह केही कर्मचारी तथा प्राध्यापक कलेजलाई धाराशायी बनाउने षडयन्त्रमा लागेको आरोप लगाएका छन् । विद्यार्थी नामांकन हुने बेला बन्दहडताल गर्नुलाई उनी नियोजित षडयन्त्र भन्छन् । कलेज प्रशासनले कर्मचारी तथा प्राध्यापकको हाजिरका लागि इलेक्ट्रोनिक मेसिन जडान गरेपछि केही कर्मचारी अत्तालिएको बताए ।

‘हाजिर गर्ने मेसिन जडान गरेपछि, दैनिक हाजिर गर्नुपर्दछ भन्दै केही कर्मचारीले प्रशासन शाखामा पनि तालाबन्दी गरेका छन् । प्रशासन र लेखाशाखामा तालाबन्दी गरेपछि, आवश्यक बिलभपाई कसरी ल्याउने ? तलब कसरी खुवाउने ?,’ सिंहले भने । जानकी मेडिकल कलेजमा कर्मचारी, व्यवस्थापन तथा विद्यार्थी बीचको विवाद नयाँ होइन, यसै विवादका कारण कलेज स्थापना भएको १५ वर्षमा ६ पटक कलेजको नेतृत्व (व्यवस्थापन) परिवर्तन भइसकेको छ । व्यवस्थापन परिवर्तनपछि कलेजको भौतिक, शैक्षिक तथा अन्य संरचनामा सुधार आउनुको सट्टा क्रमश: बिग्रिँदै गएको छ भने दायित्व (ऋण) पनि बढदै गएको छ ।

कर्मचारी नेता सञ्जयकुमार चौधरीका अनुसार फाउन्डर अध्यक्ष रामानन्द सिंहको व्यवस्थापनकालमा कलेजको अवस्था ठीकठाकै थियो । तर ओपी पाण्डेको कालमा ३४ करोड दायित्व पुगेको थियो । धनबहादुर शेरचनको कालमा बढेर १ सय १५ करोड पुगेको थियो भने हरिमान लामाको कालमा १ सय २५ करोड, गोपाल खनालको कालमा १ सय ३५ करोड तथा वर्तमान अध्यक्ष डिल्लीराज पौडेलको कालमा १ सय ६५ करोड दायित्व पुगेको छ ।

डा. रमानन्द सिंह तथा टीका पौडेललगायतको पहलमा २०६० सालमा जानकी मेडिकल कलेजको स्थापना भएको थियो । सुरुका ५ शैक्षिक सत्रसम्म ६० विद्यार्थी भर्ना गर्ने कोटा प्राप्त थियो । २०६५ सालमा कोटामा वृद्धि गरी ७५ तथा २०६६ सालमा कोटा बढेर १ सय सम्म पुगेको थियो ।

तर विद्यार्थीअनुसारको भौतिक सुविधामा सुधार नगरेको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयले २०६९ देखि विद्यार्थीको कोटा घटाएर ८० मा झारिएको थियो । तत्कालीन व्यवस्थापनको लापरबाहीका कारण २०७० देखि दुई शैक्षिक सत्र यस कलेजलाई विद्यार्थीको कोटा भने प्रदान गरिएन । कलेज व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज पौडेल जानकी मेडिकल कलेजलाई प्रदेश २ को मुख्य स्वास्थ्य उपचार गन्तव्य बनाउने उद्देश्यका साथ अघि बढेको दाबी गर्छन् ।

प्रकाशित : जेष्ठ १९, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?