२ अर्बको मरिच आयात

तेस्रो मुलुकबाट आयात हुने मरिच भारत तस्करी
शंकर आचार्य

पर्सा — चालु आवको जेठ १३ गते सम्ममा सिर्सिया सुख्खा बन्दरगाहबाट २ अर्ब ६ करोड ८ हजार ३ सय ५९ रुपैयाँ बराबरको ५० लाख ७३ हजार ७४ किलो मरिच आयात भएको छ । गत आर्थिक वर्षभरिमा ६३ करोड १८ लाख ४९ हजार रुपैयाँ बराबरको ९ लाख ३ सय ८६ किलो मरिच आयात भएको थियो ।

२ अर्बको मरिच आयात

तेस्रो मुलुकबाट खरिद गरिएको मरिच भारत तस्करी हुने क्रम नरोकिएपछि यसको आयात ठूलो परिमाणमा हुने गरेको हो । सिर्सिया बन्दरगाह नाकाबाट मरिचको आयातको पछिल्लो तथ्यांकले भारत तस्करीको आरोपलाई बल मिल्छ ।

नेपालमा कम माग रहे पनि यो मसलाको आयात बढदै गएको छ । नेपालमा मरिच विशेष गरी भियतनाम र ब्राजिलबाट आयात हुन्छ । मरिचको मुख्य औद्योगिक आयातकर्तामा डाबर नेपाल र चौधरी गु्रप हुन् भने अन्य आयातकर्तामा आधादर्जनभन्दा बढी ट्ेरडिङ कम्पनी छन् । तीमध्ये अधिकांश वीरगन्जकै छन् । मरिचको आयात गर्दा मूल्यको ५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ ।

भारतले आफ्ना मुलुकका किसानको उत्पादनलाई प्रोत्साहन दिन यस्ता मसलाको तेस्रो मुलुकबाट आयातमा कडाइ गरेको छ । तर खुला सीमाका कारण नेपालबाट भारत तस्करी गरी लग्न सहज भएकाले कारोबारीले नेपालमा आयात गरेर भारतसम्म यो मसला लैजान्छन् । सुक्खा बन्दरगाह भन्सार कार्यालय उच्च स्रोतले फागुन महिनामा मूल्यांकन बढाएपछि यो नाकाबाट मरिचको आयात केही घटेको बतायो । पछिल्लो समय सुक्खा बन्दरगाह नाकाबाट मात्र नभई वीरगन्ज/आईसीपी भन्सार नाकाबाट पनि मरिचको आयात हुन थालेको छ ।

भन्सार प्रशासनले फागुन मध्यतिर सन्दर्भ मूल्यअनुसार राजस्व संकलन प्रयास गर्दा झन्डै २ साता आयातकर्ताले मरिच जाँचपास गराएर लगेका थिएनन् । बन्दरगाहस्थित भन्सार कार्यालयले कालो मरिचको मूल्य प्रतिमेट्रिक टन ३ हजार ७ सय डलर मानेर जाँचपास गर्न थालेपछि मात्र मरिचको आयात सहज भएको थियो । यसअघि कालो मरिचको मूल्य भन्सारको सन्दर्भ मूल्यअनुसार ७ हजार डलर प्रतिमेट्रिक टन थियो ।

आईसीपी भन्सार कार्यालयका अधिकृत मोहनराज भट्ट यसअघि मरिचमा भन्सार महसुल ५ प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्ने गरेकोमा मंगलबार सरकारले ल्याएको बजेटबाट मरिचको भन्सार महसुल बढेर १० प्रतिशत पुगेको बताए ।

वैशाख लागेयता वीरगन्ज तथा आईसीपी भन्सार नाकाबाट मरिचको आयात बढेको अनुभव गरिएको उनले बताए । वैशाख यता यी दुवै नाकाबाट गरी दैनिक ८/१० गाडी मरिच भित्रिएको उनले बताए ।

प्रकाशित : जेष्ठ १९, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?