बाढी नियन्त्रण मुख्य चुनौती

सप्तरी — सतीशकुमार सिंह, सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्ष हुन् । जिल्लाकै ऐतिहासिक गाउँपालिका तिलाठी–कोइलाडीका जनता हरेक वर्ष बाढीको समस्या भोग्छन् ।

बाढी नियन्त्रण मुख्य चुनौती

रामराजाप्रसाद सिंह, गजेन्द्रनारायण सिंह, कुशेश्वर पाठक, रामेश्वर प्रसाद सिंह, जयमंगलप्रसाद सिंह, साकेतचन्द्र मिश्र, महेन्द्र रायजस्ता गणतन्त्र र लोकतन्त्रका हिमायतीको थलो यो गाउँपालिकाको तिलाठीमा राणाकालमै त्रिचन्द्र संस्कृत पाठशाला स्थापित थियो । तिलाठीका ज्योतिषी नेपाल तथा भारतमा प्रसिद्ध थिए । यस गाउँपालिकामा साबिकको तिलाठी, लौनिया, सकरपुरा, कोइलाडी, को–मधेपुरा, को–बरसाइन र बभनगामाकटी गरी ७ वटा गाविस गाँभिएको छ । गाउँपालिकाको विकास, समस्या र चुनौतीलगायतका विषयमा कान्तिपुर संवाददाता अवधेशकुमार झाले गाउँपालिका अध्यक्ष सिंहसित गरेको कुराकानी ।

गाउँपालिकाको काम कस्तो चलिरहेको छ ?
२० वर्षदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन रहेको अवस्थामा हामी निर्वाचित भएर आइसकेपछि बिस्तारै ट्रयाकमा ल्याउने प्रयास गरेका छौं । जनताको विकास प्रतिको अपेक्षा धेरै छ तर साधनस्रोतको अभाव छ । यद्यपि भएका साधनस्रोतको अधिकतम प्रयोग गरी गाउँपालिकाको समग्र विकासका पक्षमा हामी दत्तचित भएर लागेका छौं ।

गाउँपालिकामा चालू आर्थिक वर्षमा के–के विकासको काम भइरहेको छ ?
यसवर्ष गाउँपालिकाका हरेक टोलमा देखिने गरी विकास निर्माण भइरहेको छ । हामीले भौतिक पूर्वाधार निर्माणलाई जोड दिएका छौं । जसअन्तर्गत हरेक वडालाई विकास निर्माणका लागि ४३ लाख रुपैयाँ बजेट दिइएको छ । यसवर्ष गाउँपालिकाको कुल बजेट ३१ करोड रुपैयाँ रहेको छ । वडाहरूलाई दिइएको बजेटको योजना बाहेक गाउँपालिकाका तर्फबाट पनि हरेक वडामा विकास निर्माणलाई प्राथमिकताका साथ अघि बढाएका छौं । जसअन्तर्गत वडा नम्बर १ तिलाठीमा गतवर्ष बाढीले क्षतिग्रस्त गरेको कल्र्भट निर्माण, पोखरी मर्मत र माटो ग्राभेलका लागि थप २० लाख रुपैयाँ बराबरको काम जारी छ । यस्तै तिलाठीस्थित माध्यमिक विद्यालय घेर्ने पर्खाल निर्माण र सडक ग्राभेल गर्ने काम भइरहेको छ । सीमा सुरक्षाको अधुरो भवन निर्माण पूरा गर्न २० लाख रुपैयाँ छुट्याइएको छ । ऐतिहासिक त्रिचन्द्र संस्कृत पाठशालाको पुरानो भवन भएकै स्थानमा नयाँ भवन निर्माण गरी पाठशाला नै सञ्चालन गर्ने योजनाअनुरूप काम भइरहेको छ । तिलाठीकै अधुरो वृद्धाश्रम भवन पूरा गर्न २० लाख रुपैयाँ दिइएको छ । यस्तै लौनियामा २१ लाखको लगानीमा सडक ढलान भइरहेको छ । त्यहाँ गाउँपालिकाका तर्फबाट थप बजेट दिएर अन्य सडक मर्मत र विद्यालयको कम्पाउण्ड निर्माण भइरहेको छ । सकरपुराका सडक फराकिलो बनाउन थप २० लाख रुपैयाँ बजेट दिइएको छ । बाढीले हरेक वर्ष समस्यामा पर्ने सकरपुरामा युनिसेफको सहयोगमा सेल्टर तथा तीनवटा उचो ट्युबेल निर्माण भएको छ । कोइलाडीमा डेढ करोड रुपैयाँको लगानीमा सडक ढलान भइरहेको छ । को बरसाइनमा पनि सडक निर्माणसँगै अधुरो मन्दिर पूरा गर्ने काम भइरहेको छ । कोइलाडीको मधेपुरा जोडने सडक निर्माणको चरणमा छ । वडा नम्बर ७ मा जिता नदीमा पुल निर्माण गर्ने कार्य अघि बढेको छ । यस्तै वडा नम्बर ८ तोपामा हटियालाई व्यवस्थित गर्न ढलान गरिएको छ ।

भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्नुभएको छ । शिक्षा र स्वास्थ्यको विकासका लागि के हुँदैछ ?
शिक्षा र स्वास्थ्य पनि हाम्रो उच्च प्राथमिकतामै छ । गाउँपालिकाभित्र रहेका हरेक विद्यालयमा बेन्च डेस्कको व्यवस्थापन गरेका छौं । विभिन्न विद्यालयहरू घेर्ने पर्खाल निर्माण भइरहेको छ । यस्तै तोपा, सकरपुरा र लौनियामा बर्थिङ सेन्टर निर्माण भइरहेको छ । ती सबै स्थानमा १५/१५ लाख रुपैयाँको लागतमा बर्थिङ सेन्टर निर्माण भइरहेका छन् । यस्तै सरकारले साढे ४ लाख रुपैयाँ मात्र औषधिका लागि बजेट दिएको थियो तर जनसंख्या र स्वास्थ्य संस्थाका अनुपातमा त्यो रकम निक्कै कम भएपछि हामीले थप २० लाख रुपैयाँ औषधि खरिदका लागि विनियोजित गरेका छौं ।

गाउँपालिकाका प्रमुख समस्या के–के छन् ?
हामो गाउँपालिकाको प्रमुख समस्या बाढी हो । हरेक वर्ष खाँडो, जिता, महुली र कोसी नदीको बाढीका कारण गाउँपालिकाको हरेक वडाका जनता समस्यामा पर्दै आएका छन् । बाढीका कारण कयौं परिवारको उठिवास हँुदै आएको छ । खासगरी विपन्न परिवार बाढीका महिनामा घरवारविहीन हुँदा खानपानको समस्या र ओत लाग्ने समस्याबाट पीडित हुँदै आएका छन् । बाढीबाट जुध्नु नै हाम्रो प्रमुख समस्याका रूपमा रहेको छ ।

प्रमुख समस्याका रूपमा रहेको बाढी नियन्त्रण र पूर्वतयारीबारे के गर्नुभएको छ ?
खाँडो नदीको नियन्त्रणका लागि गाउँपालिकाका तर्फबाट १ करोड रुपैयाँ बजेट छुट्याएका छौं । जस अन्तर्गत तटबन्ध निर्माण सुरु भएको छ । ३ किलोमिटर पूर्वी र ३ किलोमिटर पश्चिमी तटबन्ध निर्माणका लागि हामीले रेखांकन गरी काम सुरु गरिसकेका छौं । यसका अतिरिक्त खाँडो नदी नियन्त्रण आयोजनाबाट पनि काम भइरहेको छ । मन्सापुरस्थित जिता खोलाले हरेक वर्ष दु:ख दिने गरिरहेकाले त्यसको नियन्त्रणका लागि पनि १० लाख रुपैयाँ छुटयाइएको छ । गुणस्तरीयतामा कुनै सम्झौता नहुने गरी काम अघि बढिरहेको छ । पूर्वतयारीका लागि तारजाली र बोराको व्यवस्था गरेका छौं । यस्तै तिलाठीस्थित गाउँपालिकाको कार्यालयमा बाढी आउने समय सम्मका लागि २४ औ घण्टा एलर्ट रहने गरी आकस्मिक सूचना केन्द्रको स्थापना गर्ने तयारीमा छौं । उक्त सूचना केन्द्रले काठमाडौंस्थित मौसम विभागसित सम्पर्कमा रही बाढी आउने पूर्वाभाष हुनासाथ गाउँपालिका भरी सूचना प्रवाह गर्ने छ । यस्तै खाँडोको पूर्वी र पश्चिमी तटबन्धमा बाढीका बेला ३ महिना सम्मका लागि २–२ जनालाई नियुक्त गरी तटबन्ध तथा बाढीको अवस्थाका बारेमा जानकारी आदान–प्रदान गर्न रात्रिकालीन गस्ती गर्ने तयारी गरेका छौं । उनीहरूले बाढी आउँदा जोखिम भइरहेका स्थानबारे सूचना प्रवाह गर्नेछन् ।

खाँडोको मुहान थुनिँदा २ वर्षअघि तिलाठीमा नेपाली र भारतीयबीच कुटाकुट नै भयो, सीमामा रहेको समस्या समाधान गर्न स्थानीय स्तरबाट कुनै पहल गर्नुभएको छ ?
२ वर्षअघि तिलाठीमा दुई पक्षबीच झडप भएकै हो । खाँडो नदीको मुहान थुनिँदा हाम्रो गाउँपालिकाका बस्तीमा पानी जमेर सर्वसाधारणको उठिबास हुने गरेको छ । यसका लागि संघीय सरकार स्तरमा भारतसित कुरा भइरहेको छ । हाम्रो स्तरबाट पनि उताका जनप्रतिनिधिहरूसित छलफल भइरहेको छ । भारतीय लोकसभाका सासंद पप्पु यादवसित भेटेर यो समस्या समाधान गर्न आग्रह गरेका छौं । भारतीय सांसद यादवले उक्त कुरा लोकसभामा उठाउने र भारतीय सिँचाइमन्त्रीसित छलफल गरी खाँडोको मुहान निकासका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ । वारि वा पारि कहींका पनि जनता बाढीवाट डुब्नु हँुदैन भन्ने हाम्रो ध्येय हो । खाँडो नदीको पुरानो धार खनेर लालापटी हँुदै मुहान खोलेर बाढीलाई सहजतापूर्वक जानदिनु नै यो समस्या समाधानको उत्तम विकल्प हो ।

गाउँपालिकाको केन्द्र सार्ने विषयमा त ठूलो विवाद छ नि ?
स्वाभाविक हो । जुन स्थानमा गाउँपालिकाको अस्थायी केन्द्र छ त्यहाँबाट अन्यत्र लग्न खोज्दा स्थानीयको विरोध हुन्छ । गाउँ सभाले निर्णय गरेर हाल कायम रहेको स्थानबाट कार्यालय सार्ने निर्णय गर्‍यो तर अदालतमा मुद्दा परेर अदालतको आदेशबमोजिम पहिले कायम गरिएको स्थानमा कार्यालय सञ्चालन भई कामकाज भइरहेको छ । यो विषय मन्त्रालयमा पनि गइसकेको छ । नेपाल सरकारबाट हुने निर्णयका आधारमा गाउँपालिकाको केन्द्र सार्ने नसार्ने कुरा हुन्छ । अहिलेलाई तिलाठीमै कार्यालय सञ्चालन भइरहेको छ ।

तपाईं र गाउँपालिका उपाध्यक्षबीच निरन्तर विवाद हुन्छ भन्छन् नि ?
विवादको कुरै छैन । हामी सबैलाई जनताले गाउँपालिकाको विकासका लागि जिम्मेवारी दिएर चुनेका छन् । समग्र गाउँपालिकाको विकास हाम्रो लक्ष्य हो । सबै जनाको दायित्व र कर्तव्य उत्तिकै छ । सकारात्मक सोचको विकास गर्दै अघि बढनुपर्छ ।

तिलाठी कोइलाडी पुराना राजनीतिकर्मी र विद्वानको जन्मस्थल हो । यो ऐतिहासिकतालाई जोगाउन केही गर्ने योजना छ कि ?
हाम्रो गाउँपालिकामा देश र विदेशमा नाम चलेका गणतन्त्र र प्रजातन्त्रका लागि लडाइँ लडेका अथक योद्धा जन्म भएको स्थान हो । यति मात्र होइन, नेपालमा शैक्षिक यात्रा सुरु नहुँदै तिलाठीका विद्वान् र पण्डित नेपाल र भारतमा चर्चित थिए । गाउँपालिकामा जन्मिएका राजनीतिक र विद्वानका बारेमा अध्ययन र अनुसन्धानसँगै उहाँहरूको योगदानलाई जिवन्त राख्नका लागि गाउँपालिकाभित्रै संग्रहालय निर्माण गरी अध्ययन केन्द्रको स्थापना गर्ने सोच छ । ती सबै महापुरुषका बारेमा अध्ययन अनुसन्धान गर्ने उद्देश्यले एकीकृत जानकारी हुने गरी अध्ययन केन्द्र स्थापना गर्नेछौं । जसका लागि उचित स्थानको खोजी गरिरहेका छौं । आगामी वर्षसम्ममा अध्ययन केन्द्रलाई सञ्चालनमा ल्याउने योजना छ ।

प्रकाशित : जेष्ठ २३, २०७५ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?