कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

ठेकेदारको ढिलाइले सडक–पुल अलपत्र

राजविराज — सडक डिभिजन कार्यालय लहानमार्फत भएका सप्तरीमा निर्माणाधीन सडक र पुलको काम ठेकेदार कम्पनीकै कारण अलपत्र परेका छन् ।

ठेकेदारको ढिलाइले सडक–पुल अलपत्र

निर्माणमा टेन्डर सकार गरेका तर काम समयमै नसक्ने कम्पनी धेरै छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार घोडदह नदीमा पुल निर्माण कार्यका लागि प्रकाश/आश्रय निर्माण सेवा जेभी कुपन्डोल ललितपुरले ०६६ साउन ६ मा सम्झौता गरी ०६९ माघ १० भित्रै सक्नुपर्ने थियो । तर यो कामको प्रगति भने अहिलेसम्म ५० प्रतिशत मात्र छ । यस्तै सप्तरीस्थित मुतनीधारमा पुल निर्माणका लागि नीलगिरि निर्माण सेवा प्रालि बानेश्वर काठमाडौंले ०७१ असार ३१ मा सम्झौता गरी ०७३ असार ३० भित्रै काम सक्नुपर्ने थियो । तर उक्त कामको हालसम्मको प्रगति २५ प्रतिशत मात्र रहेको छ ।

समरी खोलामा पनि पुल निर्माणका नीलगिरिले नै ०७१ भदौ २७ मा सम्झौता गरेको थियो । ०७३ असार २५ मा काम सक्नुपर्नेमा हालसम्म उक्त पुल निर्माणको प्रगति ४५ प्रतिशत मात्र छ । महुली घाडन खोलामा पुल निर्माणका लागि पप्पु/मृत सञ्जीवनी जेभी नयाँ बानेश्वर काठमाडौंले ०७१ असार ३१ मा सम्झौता गरेको थियो । सम्झौताअनुसार ०७३ पुस ३० मा पूरा भइसक्नुपर्ने योजनाको प्रगति ३० प्रतिशत मात्र छ । यसैगरी लालापटी सप्तरीस्थित भलुवाही खोलामा पुल निर्माणका लागि याकथुम्हाङ/बीपी कन्स्ट्रक्सन जेभी लहानले ०७३ असार ३१ मा सम्झौता गरी ०७४ फागुन ३० भित्रै सक्नुपर्ने थियो । यद्यपि यसको प्रगति अहिलेको अवस्थामा ७ प्रतिशत मात्र छ । रुपनी–कटैया सडकमा माटो, ग्राभेल तथा कल्भर्ट निर्माणको पहिलो योजनाको माँ पबित्रा निर्माण सेवा सिरहाले ०७३ साउन १० मा सम्झौता गरी ०७४ साउन ९ मा सक्नुपर्ने भए पनि अहिलेसम्म ५० प्रतिशत मात्र काम भएको छ ।

स्वास्थ्य चौकी भवन अलपत्र
फतेपुरस्थित स्वास्थ्य चौकी निर्माणका लागि रामजानकी निर्माण सेवा जनकपुरले ०६६ चैत १२ मा सम्झौता गरेको थियो । ०६८ वैशाख मसान्तभित्र सक्नुपर्नेमा काम नभएपछि ०७१ असार २५ सम्म म्याद थप गरिएको थियो । यो पनि अझै अलपत्रै अवस्थामा छ । यस्तै स्वास्थ्य चौकी कोचाबखारी निर्माणका लागि मृत सञ्जीवनी र गहिल सन्स कम्पनी हेटौंडा २ ले ०७२ फागुन ११ मा सम्झौता गरेको थियो । ०७४ भदौ १० मा काम सक्नुपर्ने भए पनि म्याद थप गरी ०७४ माघ ५ सम्म पुर्‍याइएको थियो । स्वास्थ्य चौकीको भवन निर्माण अझै पूरा भएको छैन ।
यसैगरी जनस्वास्थ्य कार्यालयको स्टोर कक्ष निर्माणका लागि गहिल सन्स कम्पनी राजविराज ५ ले ०६९ भदौ २१ मा सम्झौता गरी ०७० कात्तिक २० मा सक्नुपर्ने थियो । काम नसेपछि ०७१ कात्तिक २० सम्म म्याद थपिए पनि अवस्था उस्तै छ ।

म्याद सकियो,प्रगति शून्य
डिभिजन सडक लहानद्वारा जिल्लामा सञ्चालित २ योजनाको तोकिएको म्याद सकिए पनि अझै काम सुरु भएको छैन । रुपनी–कटैया सडकमा माटो, ग्राभेल तथा कल्भर्ट निर्माणको दोस्रो योजनाको माँ पवित्रा निर्माण सेवा सिरहाले ०७३ माघ २० मा सम्झौता गरे पनि अझै काम सुरु हुन सकेको छैन । उक्त कार्यको प्रगति समय सकिँदा पनि शून्य प्रतिशत छ ।

प्रकाशित : जेष्ठ २६, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?