कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ठगी आरोपमा सहकारीका पदाधिकारी पक्राउ

रवीन्द्र उप्रेती

महोत्तरी — बचतकर्ताबाट संकलन गरिएको ४ करोड रुपियाँ अपचलन गरेको आरोपमा प्रहरीले जलेश्वरस्थित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका पदाधिकारीलाई पक्राउ गरेको छ ।

ठगी आरोपमा सहकारीका पदाधिकारी पक्राउ

बचतकर्ताबाट दैनिक रकम संकलन गर्ने २३ एजेन्टको नाममा पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा समिति अध्यक्ष साविक गोनरपुरा–७ तथा हाल जलेश्वर– २ का रविन्द्रनाथ मल्लिक तथा सदस्य जलेश्वर–११ का राधबेन्द्र पाण्डे रहेको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार उनीहरूविरुद्ध ठगी आरोपमा मुद्दा दर्ता गरिएको छ । ‘अन्य फरारको खोजतलास भइरहेको छ,’ एसपी कडायतले भने । फरार हुनेमा बचतकर्ताबाट पैसा संकलन गर्ने एजेन्ट, सञ्चालक समितिका अरू पदाधिकारी, ३ प्रबन्धक र क्यासियर लगायतका छन् ।

०७१ माघ १० गतेपछि साधारणसभा पनि नगरेपछि सहकारी शंकाको घेरामा परेको थियो । बचत फिर्ता माग्न जाँदा आजभोलि भनेर टार्दै गएको उजुरीकर्ताले जनाए । पछि कार्यालय नै बन्द गरेर फरार भएपछि १ हजार ५ सय बचतकर्ताको ४ करोड ८३ लाखभन्दा बढी निक्षेप जोखिममा परेको हो ।

फरार सहकारी सञ्चालक तथा एजेन्टलाई फोन गरेर रकम फिर्ताको आग्रह गर्दा ‘जे गर्नु छ गर, पैसा फिर्ता गर्दैनाैं’ भनेर जवाफ फर्काउन थालेपछि बचतकर्ताले प्रहरी–प्रशासन तथा जनकपुरस्थित डिभिजन सहकारी कार्यालयमा उजुरी दिएका थिए । जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाका सइ सुखाडी साहका अनुसार शुक्रबारसम्म उजुरी दर्ता गराएका २९ बचतकर्ताको मात्र १ करोड ८८ लाख ९६ हजार निक्षेप छ । लिखित र मौखिक उजुरी दिनेको संख्या बढ्दै छ । ५ मंसिर ०६६ सालमा जनकपुरस्थित डिभिजन सहकारी कार्यालयमा दर्ता भएको सहकारीले आव ०६९/७० देखि सर्वसाधारणबाट निक्षेप संकलन सुरु गरेको थियो । लगानीको दोब्बर दिनेजस्ता योजनामा आकर्षित भएर सर्वसाधारणले दैनिक जम्मा गर्न थालेका थिए ।

उजुरी दिन प्रहरी कार्यालय पुगेका बचतकर्ताहरूले ऋण खोज्नु नपरोस्, बिहेवारीे र छोराछोरीको पढाइमा सहयोग पुगोस् भन्ने आशामा गाँस काटेर सहकारीमा रकम जम्मा गरेको बताए । सहकारीले एजेन्ट परिचालन गरेर दैनिक रकम संकलन गरेको थियो । यसमा बचतकर्ताले ५० देखि २ सय रुपैयाँसम्म दैनिक बचत गर्दै आएका थिए । जलेश्वर–२ का पत्रिका व्यवसायी महादेव दासले पनि ०७३ चैतदेखि बचत गर्दै आएको जनाए । तर कार्यालय नै बन्द गरेर सञ्चालक फरार भएको थाहा पाएपछि उनी पनि उजुरी लिएर प्रहरीमा पुगेका छन् ।

‘मेरो सावाँ मात्र २३ हजार डुब्यो,’ दासले भने, ‘छोरीको बिहेमा सजिलो होला भनेर दैनिक २ सय रुपैयाँको दरले जम्मा गर्दै आएको थिए ।’ सहकारीले एक वर्षे बचतमा ४ प्रतिशत, दुई वर्षेमा ७ प्रतिशत, ३ वर्षेमा ९ र ७ वर्षेमा बचतको दोब्बर दिनेजस्ता योजना अघि सारेर आफूहरूलाई फसाएको वचतकर्ताको गुनासो छ ।

प्रकाशित : जेष्ठ २८, २०७५ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?