डेढ महिनादेखि पठनपाठन ठप्प

जानकी मेडिकल कलेजमा आन्दोलन
अजित तिवारी

जनकपुर — जानकी मेडिकल कलेज एमबबीएस पाँचौं सेमेस्टरका ७० जना विद्यार्थी प्रयोगात्मक परीक्षा दिनबाट वञ्चित भएका छन् । १५ महिनादेखि तलब नपाएपछि कर्मचारी आन्दोलनमा उत्रिँदा विद्यार्थी परीक्षाबाट वञ्चित भएका हुन् ।

डेढ महिनादेखि पठनपाठन ठप्प

धनुषाको रमदैयास्थित मेडिकल कलेजमा तलब पाउनु पर्ने लगायतका माग राखी कर्मचारीले डेढ महिनादेखि ताला लगाएका छन् । व्यवस्थापकीय लापरबाहीले एमबीबीएस अध्ययनरत विद्यार्थीको परीक्षा मात्र होइन, पठनपाठनलगायत अस्पतालका सबै गतिविधि शून्य भएका छन् ।

जनकपुरको ब्रह्मपुरीमा रहेको मेडिकल कलेजको शिक्षण अस्पतालसमेत ठप्प छ । करिब १५ महिनाको तलब नपाएको, ६ वर्षदेखि सञ्चय कोषमा रकम दाखिला नगरेको र तलबबाट कट्टा गरिएको कर सरकारलाई नबुझाएको भन्दै कर्मचारीले आन्दोलन थालेका हुन् । हाल कलेज व्यवस्थापनका सदस्यहरू सम्पर्कविहीन छन् ।एमबीबीएसको ५ औं सेमेष्टरमा अध्ययनरत ७० जना विद्यार्थीका लागि जेठ १९ गतेदेखि असार ३ गतेसम्मको समय तोकिएको छ । यही बीचमा कर्मचारीले आन्दोलन सुरु गरेपछि विद्यार्थीको परीक्षा अनिश्चित बनेको हो । उपभोक्ता हकअधिकार संरक्षण मञ्चमा उजुरी गर्न जानकी मेडिकल कलेजका ७० जना विद्यार्थी काठमाडौं समेत पुगेका छन् ।

‘कलेजका व्यवस्थापक कर्मचारी सबैलाई गुहार्‍यौं तर हाम्रो बाध्यता कसैले बुझेनन्, काठमाडौं पुगेका जानकी मेडिकल कलेजका एक विद्यार्थीले फोनमा भने, ‘उपभोक्ता हकअधिकार संरक्षण मञ्चमा कलेजविरुद्धमा ठगी मुद्दा गर्दैछौं ।’ कलेजमा अध्ययनरत विद्यार्थीले कलेजकै लापरबाहीले भविष्य असुरक्षित बनेको बताए । ‘कहीं कतै बोल्यो भने परीक्षामा देखाइदिन्छु भनेर हामीलाई त्रास दिइएको छ,’ अर्का एक विद्यार्थीले भने, ‘हाम्रो समस्या न कलेज व्यवस्थापकले सुन्न चाहन्छन्, न त अरू निकायले नै ।’

विद्यार्थीले आफ्नो समस्या समाधानका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) लाई आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरे । कर्मचारी आन्दोलनले परीक्षा रोकिएपछि आइओएमको टोली गत साता कलेजको अवस्था बुझ्न यहाँ आएका थिए । आइओएमका केशव उप्रेती, रोहित पोखरेल र डा. ओम बरालको टोलीले जानकी मेडिकल कलेजका विद्यार्थी र कर्मचारीसित भेटेर समस्याबारे बुझेका थिए । तर आइओएमका टोली कलेजका व्यवस्थापकसित भेट्न खोज्दा पनि उनीहरू सम्पर्कमा आएनन् ।

‘जानकी मेडिकल कलेजसँग सम्बन्धित प्रतिवेदन बुझाइसकिएको छ, आइओएमका कर्मचारी उप्रेतीले भने । जानकी मेडिकल कलेजको समस्याबारे उसलाई सम्बन्धन दिएको त्रिविले पनि छानबिन थालेको छ । कर्मचारी संघर्ष समितिका संजय चौधरीले आन्दोलनपछि सम्पर्कविहीन बनेको व्यवस्थापकका कारण झन् समस्या थपिएको बताए । ‘हामी वार्ता र छलफलकै माध्यमले मेडिकल कलेजको समस्या सुल्झाउन खोजेका हौं, चौधरीले भने, ‘तर, कलेज व्यवस्थापक सम्पर्कमा आउन नचाहँदा कर्मचारी र विद्यार्थीको बेहाल भएको छ ।’


पुरानै रोग
नयाँ भर्नाका बेला एकमुष्ट करोडौं रुपैयाँ आउने हुँदा व्यवस्थापकले मेडिकल कलेज र शिक्षण अस्पताललाई व्यवस्थित देखाउने गरेका छन् । पढाई सुरु भएपछि व्यवस्थापकहरू कलेज आउन छोड्छन् । कर्मचारीको तलब बक्यौता रहने र विद्यार्थीको पढाइमा असर पर्ने गरेको छ । मेडिकल कलेज स्थापना भएको १५ वर्षमा ६ पटक व्यवस्थापक फेरिए । जानकी मेडिकल कलेजको व्यवस्थापन यति धेरै फेरिए पनि कलेजको पढाई, उपचार र भौतिक पूर्वाधारमा भने परिवर्तन आएन झन व्यथिति बढदै गएको कर्मचारी बताउँछन् ।

कर्मचारीको १५ महिनाको बक्यौता तलब र प्रभु बैंकको १ अर्ब ६० करोड रुपैयाँ ऋणकै कारण जानकी मेडिकल कलेजको व्यवस्थापक सम्पर्कमा रहँदैनन् । कलेज स्रोतका अनुसार तलब भुक्तानीका लागि कर्मचारीको सधैंको कचकच र ऋण तिर्न बैंकको ताकेदाले व्यवस्थापक प्राय: गुप्तबासमै हुन्छन् । जानकी मेडिकल कलेजका अध्यक्ष डिल्लीराज पौडेल रमदैयास्थित कलेजमा एकपटक मात्र आएका छन् ।

प्रबन्ध निर्देशक (एमडी) राजेश थापा पनि आकलझुकल मात्रै कलेजमा देखिन्छन् । कर्मचारीको आन्दोलनपछि एमडी थापा पनि कलेज गएका छैनन् । ‘व्यवस्थापन परिवर्तनसँगै कलेजमा सुधार हुने अपेक्षा थियौं तर झन् खस्कियो,’ कलेजका कर्मचारी संघर्ष समितिका अध्यक्ष उमेश यादवले भने, ‘जो आए नि कलेज सुधार्न चाहँदैन, आफ्नो स्वार्थ मात्र हेर्छ ।’ मेडिकल कलेजको शिक्षण अस्पतालमा अनिवार्य हुनुपर्ने सिटी स्क्यान, एमआरआई, आइसियू र एनआईसीयूको सुविधा नै छैन ।

प्रकाशित : जेष्ठ २९, २०७५ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?