अदालत जान थाले बहुविवाहका मुद्दा

लक्ष्मी साह

बारा — जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रमा बहुविवाहका पीडितको घुइँचो लाग्थ्यो ।

अदालत जान थाले बहुविवाहका मुद्दा

बहुविवाह गर्नेलाई कानुनी दायरामा ल्याइँदैनथ्यो । तर केही वर्षयता यस्ता घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरी कानुनी दायरामा ल्याउन थालेको छ । सामाजिक र कानुनी अपराधका रूपमा रहेको बहुविवाहका घटना यसअघि जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रमा प्राय: मिलापत्र हुने गरेका थिए । तर यस्ता घटनाका पीडित धेरै हुन थालेपछि प्रहरीले अनुसन्धान गरी अदालतसम्म पुर्‍याउन थालेको महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी नायब निरीक्षक लालुमाया श्रेष्ठले बताइन् ।

प्रत्येक महिना बहुविवाहका घटना महिला सेलमा आउने गरेको उनले बताइन् । ‘प्राय: सबै मुद्दा प्रक्रियामा गइरहेका छन्,’ उनले भनिन्, ‘पीडित सचेत हुन थालेका छन् ।’ घर बसाउने उद्देश्यले पति पत्नीबीच द्वन्द्व नहोस् भनेर मिलापत्र गराइन्थ्यो । अब त्यस्तो छैन ।’जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटको तथ्याङकमा चालु वर्षको जेठसम्म १२ वटा मुद्दा दर्ता भएका छन् । तीन वर्षअघिको तथ्याङकअनुसार प्रहरीमा बर्सेनि मुस्किलले २ देखि ३ वटा घटना दर्ता हुने गरेका थिए । तर अहिले केही वर्षयता बहुविवाहका मुद्दा बढेका छन् ।

अदालतमा यो घटना ठहर भएमा १ वर्षदेखि ३ वर्षसम्म कैद र ५ देखि २५ हजारसम्म जरिवाना वा दुवै हुने कानुनी व्यवस्था छ । ‘पहिला बहुविवाहको उजुरी धेरै परे पनि कारबाहीको दायरामा थोरैलाई ल्याइने गरिएको थियो,’ एक अर्का प्रहरी अधिकृतले भने, ‘प्रहरीले यस्ता मुद्दालाई पहिला कारबाहीको सट्टा सामसुम पारी मिलाउँदै आएका थिए ।’ मुद्दा दर्ता भएका अधिकांश आरोपी फरारको सूचीमै रहने गरेका थिए । आव ०७२/७३ मा २ वटा मुद्दा मात्र दर्ता भएको प्रहरी अभिलेखमा छ । ‘बहुविवाहकै कारण कतिपय घरमा घरेलुहिंसा भई उग्र घटना हुने गरेकाले अब मुद्दा नै चलाउन थालिएको छ,’ मुद्दा फाँटका एक प्रहरी अधिकृतले भने, ‘अब सीधा अदालत पठाउँछौं ।’ नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष परमहंश केशरीले सामाजिक कुरीतिका रूपमा रहेको बहुविवाहका घटनालाई कानुनी दायरामा ल्याउनु सकारात्मक भएको बताए ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?