स्थानीय तहमा डिजिटल प्रोफाइल

बारा — प्रदेश नं २ को ६ जिल्लाका अधिकांश स्थानीय तहमा ‘डिजिटल प्रोफाइल’ (विद्युतीय वस्तुगत विवरण) तयारी थालिएको छ ।

स्थानीय तहमा डिजिटल प्रोफाइल

पहिलो पटक तयार गर्न लागिएको वस्तुगत विवरण पर्सा, बारा, रौतहट, सर्लाही, सिरहा र सप्तरीमा चैतदेखि सुरु गरिएको हो ।

स्थानीय तहको प्रत्येक वडामा २ देखि ३ जनासम्म परिचालन गरिएको छ । आउँदो असार १० गतेभित्र ‘एप्स’ को माध्यमबाट भइरहेका काम सार्वजनिक गरिने सरोकारवाला बताउँछन् । विश्व खाद्य कार्यक्रम, नेपाल ग्रामीण पुनर्निर्माण संस्थाअन्तर्गत सामुदायिक विकास कार्यक्रमले सम्बन्धित स्थानीय तहमा ५ करोड रुपैयाँ लगानीमा विद्युतीय वस्तुगत विवरण तयारी गर्न लागेको हो । ‘वस्तुगत विवरण तयार भएपछि मोबाइल एप्सबाट स्थानीय तहको सबैखाले तथ्याङ हेर्न मिल्छ,’ विश्व खाद्य कार्यक्रमका क्षेत्रीय संयोजक प्रकाश राईले भने, ‘स्थानीय तहले आफ्नो ठाउँको विकास गर्न वस्तुगत विवरणलाई आधार बनाउन सक्छ र यसका लागि यो धेरै सहयोगी हुनेछ ।’ उनले भने, ‘यस प्रोफाइलबाट प्रत्येक स्थानीय तहले आफ्नो आन्तरिक राजस्व प्रक्षेपण गर्न सक्छ ।’

प्रोफाइलअन्तर्गत प्रत्येक घरधुरीमा को कति उमेरका छन् । कतिजना वैदेशिक रोजगारीमा छन् । व्यक्ति, वस्तुभाव र पशुको बिमा छ कि छैन ? खेती कति छ ? प्रत्येक व्यक्ति र परिवारमा वार्षिक आम्दानी कति छ ? खानेपानी, चर्पी, पक्की बाटो र घरको नक्सा छ कि छैन ? लगायतका विवरण यस प्रोफाइलमा समेटिने राईले बताए । कुन जात जातिको बसोबास कति छ, ती कुन स्तरका हुन् लगायतका विवरणमा समावेश गरिने बताइएको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?