२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

जङ्गल छाडेर बस्तीमा वन्यजन्तु

पातलिँदै गएको जंगल, मानवीय हस्तक्षेप, पानी र चरिचरणका अभाव तथा चोरी सिकारीका कारण जोखिममा परेपछि सुरक्षा खोज्दै भारतीय सीमामा पुग्न थाले

महोत्तरी — गर्मीयाम सुरु भएपछि यहाँका दुर्लभ वन्यजन्तु जंगल छाडेर बस्तीमा आउन थालेका छन् । तिनीहरू भने स्थानीय बासिन्दाको निशानामा पर्ने गरेका छन् । बस्तीमा आउने हरिण, मृग, बँदेल लगायत वन्यजन्तुलाई गाउँका सिकारीले विद्युतीय धराप (करेन्ट) लगाउने, गोली हान्ने र घेराबन्दी गरेर धारिलो हतियारले मार्ने गरेका छन् ।

जङ्गल छाडेर बस्तीमा वन्यजन्तु

पातलिँदै गएको जंगल, मानवीय हस्तक्षेप, पानी र चरिचरणका अभाव तथा चोरी सिकारीका कारण जोखिममा परेपछि सुरक्षा खोज्दै भारतीय सीमामा पुग्न थालेका छन् । बाँच्नका लागि संघर्ष गर्ने क्रममा बस्ती पसेका वन्यजन्तुको आक्रमणबाट सर्वसाधारण घाइते हुने घटनासमेत बढ्न थालेका छन् । गत वैशाख अन्तिम साता साँझको समयमा पूर्वतर्फको ढुलन खोलातिरबाट भाग्दै बस्ती पसेको आक्रोसित बँदेलले गौशाला १२ कान्तिबजारकी ६० वर्षीया जानकीदेवीलाई आफनै घरको आँगनमा आक्रमण गर्‍यो । बँदेलले टोकेर जानकीको बाँया हातको कान्छी औंला घटनास्थलमै झर्‍यो । चिउँडोलगायत शरीरका अन्य भागमा अझै गहिरो घाउ छ ।


केही बेरमै पूर्वतर्फबाट हातमा भरुवा वन्दुक बोकेका ७/८ जना सिकारी पुगेपछि मात्र गाउँलेलाई थाहा भयो, बँदेलले सिकारीको रिस जानकीमाथि पोखेको रहेछ । सिकारी देखेर बदेल फेरि भाग्यो । केहीबेरमै बँदेल सिकारीको गोलीको निसाना बनेको गाउँलेले थाहा पाए । गम्भीर घाईते जानकीको अहिले टिचिङ अस्पतालमा उपचार भईरहेको आफन्तले जनाएका छन् ।

घटनाका पर्सिपल्ट ढोलन खोलाआसपासकै खरघारीमा प्रहरीले मरेको अवस्थामा बँदेल फेला पार्‍यो । प्रहरीले लक्ष्मिनियास्थित सेक्टर वन कार्यालयको जिम्मा दिएको उक्त बँदेल जानकीलाई आक्रमण गरेकै रहेको आशंका गरिएको छ । सेक्टर बन कार्यालय लक्ष्मिनियाका अधिकृत कासीनारायण चौधरीकाअनुसार प्रहरीले बुझाउन ल्याएको बँदेलको कोखामा सानो घाउ थियो । बदेललाई मुचुल्का उठाएर सेक्टर वन परिसरमा गाडिएको छ । जेठ ८ गते गौशाला १ रामनगरमा फेरि बँदेल मारियो । मासु काटन ठिक्क परेको अवस्थामा गौशाला प्रहरीले झलक भन्ने सूर्यवहादुर विकलाई पक्राउ गरि बँदेलसहित वन कार्यालयलाई वुझायो । माइस्थान सेक्टर वन प्रमुख भीमविक्रम खण्डकका अनुसार कारवाहीपछि विकलाई २४ हजार ४ सय धरौटीमा छाडिएको छ ।

घटना यतिमै सीमित छैन । भनिन्छ जगलसंग जोडिएका गहिरीटोल, सातनम्वर, रामनगर, गौशालानगरपालिकाअन्र्तगतको ढल्केवर, हात्तीलेटलगायत सर्लाहीका उत्तरी भेगमा अहिले ठूलो समूहको काम नै बन्यजन्तुको शिकार गर्नु हो । प्रत्यक्षदर्शीका अनुसार यी वन्यजन्तु आउने क्षेत्र यकिन गरि जाल हालेर घेराबन्दी गर्ने र युवाहरूको समूहले मोटरसाइकलबाट लखेट्दै जालमा फसाई सिकार गर्ने गरेको घटनाले पनि चर्चा पाएको छ ।

‘यी क्षेत्रमा हिजोआज जंगली जनावरलाई जालमा फसाएर सिकार बनाउन नयाँ तरिका देखा परेको छ’ एक स्थानीयले भने । सिकारीको गोलीले सिकारीकै ज्यान पनि गएको घटना प्रहरीका लागिसमेत रहस्यमय छ । गत बैशाख अन्तिम साता सर्लाहीस्थित ईश्वरपुर नगरपालिका १२ कालिन्जोरका जीतबहादुर लोको शव जंगलमै भरुवा वन्दुकसहित फेला पर्‍यो । उनको मृत्यु भरुवा बन्दुकको गोली लागेर भएको प्रहरीले जनाएको थियो । सर्लाहीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले घटनाको सघन अनुसन्धान भइरहेको जनाएका छन् ।

भारतीय सीमामा समेत नेपाली वन्यजन्तु पुग्ने गरेका छन् । २०७० सालको गर्मीयाममा नेपालबाट भारतको सुरसन्ड छिरेको एक चितुवालाई पटनास्थित संजय गान्धी राष्ट्रिय उद्यानका कर्मचारीले समाएर लगेका थिए । स्थानीयका अनुसार अहिले पनि सीमावर्ती मलिवारा, भिट्ठामोड, नैनही, वथनाहालगायतका सीमा क्षेत्रमा चित्तल र हरिण देखा पर्ने गरका छन् । मलिवाराका विरेन्द्र पाण्डेकाले रातुको किनारामा आफूले ३ वटा चित्तल देखेको बताए ।

लगत्तै जंगलबाट भौंतारिएको एक नीलगाईलेलक्ष्मिनियानजिकको उखुघारीमा बच्चा जन्माएको थियो । त्यसअघि बस्ती पसेको हात्तीले भरतपुर ९ पडरियामा एक ब्यक्तिलाई सुढले बेरेर पछारेर मारेको थियो । पातलिँदो जंगल, मानव अतिक्रमणलगायतका समस्या त छन् नै, गर्मी लागेपछि भावर क्षेत्रमा हुने पानी अभाव र जंगलमा लाग्ने डढेलोका कारण वन्यजन्तु पानी र सुरक्षाको खोजीमा दक्षिणी क्षेत्रमा भौतारिन थालेको वनकर्मीको भनाई छ । गत वर्ष खयरमाराको जंगलमा देखा परेको हात्तीको बथानले एक साता बाटो अवरोध गरेको थियो । लगत्तै चुरेसंग जोडिएको सुदूर उत्तरवर्ति राजावासमा २ वटा हात्ती पसेपछि गाउँले तीन दिनसम्म जागराम बसेका थिए ।

दिनहुँजसो भइरहेको वन्यजन्तुको चोरीशिकार र भारतीय क्षेत्रमा पलायन रोक्न तथा संरक्षण गर्न जिल्ला वनलगायत जिम्मेवार निकाय गम्भीर भएको पाइदैन । जिल्ला वनका एक कर्मचारीका अनुसार बन्यजन्तुको सुरक्षाका लागि कानूनको कमी छैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र त्यसअन्तर्गत बनेका नियमावलीहरू अस्तित्वमा छन् । ‘कमी मनोवल र दायित्वबोधको मात्र हो’, ती कर्मचारीले भने, ‘यसको मूल्य निर्दोष वन्यजन्तुले ज्यान गुमाएर चुकाउँदै आएका छन् ।’

गाउँदेखि वन क्षेत्रसम्म हावी हुँदै गएको ‘सिकारीतन्त्र’ लाई कसरी नियन्त्रणमा लिने नीतिगत निर्णयसमेत हुन नसकेको उनले बताए । तर जिल्ला वन अधिकृत जगन्नाथप्रसाद जयसवाल बढ्दै गएको चोरी सिकार निरुत्साहित गर्न जनप्रतिनिधिलगायत सरोकारवालासंग छलफल, अन्तक्र्रिया, सुरक्षा निकायसंगको सहभागितामा गस्ति, नियन्त्रणजस्ता प्रयास हँुदै आएको दावी गर्छन् । ‘चुरे विनासले जंगलमा पानीको स्रोत सुकेको, डढेलोले वासस्थान क्षति भएको र गोठाला र गाउँले वन पस्नाले असुरक्षित बनेका वन्यजन्तु मानव बस्ती पस्न थालेपछि थप जोखिम बढेको हो’, जयसवालले भने, ‘हामीले छलफल, अन्तक्र्रियाजस्ता चेतनामूलक कार्यक्रम र सुरक्षा निकायसंगको सहभागितामा गस्ति निगरानीलाई समेत प्रभावकारी ढंगमा अघि बढाएका छौं ।’

प्रकाशित : असार ४, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?