१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रिक्रिएसन पार्क पीपीपी मोडेलमा

शंकर आचार्य

पर्सा — वीरगन्ज महानगरको काली मन्दिर क्षेत्रमा निर्माण भएको बहुउद्देश्यीय रिक्रिएसन पार्क पीपीपी मोडेलमा सञ्चालन गर्ने तयारी गरिएको छ ।

रिक्रिएसन पार्क पीपीपी मोडेलमा

महानगरपालिकाको कार्यालयका बरिष्ठ प्रशासकीय अधिकृत सुमन श्रेष्ठका अनुसार, पीपीपी मोडेलमा सञ्चालन गर्दा पार्कको उचित स्याहार र संवद्र्धन हुने सम्भावना रहेकाले निकट भविष्यमै यसका लागि कार्यालयले टेन्डर आहान गर्दै छ । ‘नाफामुखीभन्दा सहभागिता तथा सेवामूलक उद्देश्यले पार्क सञ्चालन गर्ने संस्थासँग मनपाको कार्यालय सहकार्य गर्न चाहन्छ,’ उनले भने, ‘यसरी पार्क सञ्चालन गर्न चाहने संस्थाले महानगरवासीलाई के अतिरिक्त सुविधा दिने प्रतिबद्धता गर्छन्, त्यसको मूल्यांकन गरिने छ ।’

एसियालीका विकास बैंकको सहयोगमा महानगरमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाअन्तर्गत ठेकेदार सीटीसीई/कालिका कन्स्ट्रक्सन कम्पनीले पार्क निर्माण गरेको हो । पार्क करिब निर्माण सम्पन्न भइसकेको छ । अब सामान्य रूख बिरुवा रोप्न र अन्तिम सजावटको काम मात्र बाँकी छ ।

ममहानगरमा जनघनत्व बढदै गएको र खुला स्थानको अभाव हुँदै गएकाले महानगरको मध्यभागमा हाल करिब १ बिघा क्षेत्रफलमा निर्माण भएको पार्क विशेष गरी बालबालिकालाई लक्षित गरी सञ्चालन गर्ने योजना छ । यसबाहेक अन्य उमेर समूहका नगरवासीलाई पनि प्रात: एवं सन्ध्या भ्रमणका लागि पार्क उपयोगी हुने विश्वास लिइएको श्रेष्ठ बताउँछन् । पार्कमा हरियाली वातावरणसँगै पिकनिक स्पट, ससाना कार्यक्रम आयोजन गर्न डबली, व्याडमिन्टन कोर्ट तथा फिटनेश जोन, टेबुल टेनिस बोर्ड, चौतारा, क्यान्टिन, मन्दिर/स्मारक, बालबालिकाका लागि चिप्लेटी, पिङ, बालुवा घर आदि हुनेछन् ।

विगतमा ४ बिघा १३ कठ्ठा ९ धुर जग्गा रहेकोमा व्यापक अतिक्रमणमा परेको उक्त सार्वजनिक जग्गामा लालपुर्जा नभएको संरचनाहरूमा डोजर लगाएर खाली गरिएको थियो । बाँकी करिब ३ बिघा जग्गा हाल पनि अतिक्रमणमै रहेको छ । अतिक्रमणकारीसँग लालपुर्जा पनि रहेकाले यसमा नापी र मालपोत कार्यालयका कर्मचारीको पनि मिलेमतो रहेको आशंका रहेको उनले बताए । ‘महानगरपालिकाको जग्गाको पुर्जा र श्रेस्ता कसरी व्यक्तिको नाममा गयो, यसमा मालपोत र नापीका कर्मचारीको मिलेमतो नभई हुन्न,’ उनले भने, ‘यस सम्बन्धमा अतिक्रमणकारीहरूसँग कानुनी लडाइँ लडेर भए पनि पछि प्राप्त हुने जग्गालाई पुन: पार्कमा गाभ्ने गरी तत्काललाई पार्क सञ्चालन गरिनेछ ।’

हरिखेतान क्याम्पसको दक्षिणतर्फको नाला र अतिक्रमित माइराम पोखरीको जग्गाको अतिक्रमण हटाई १ करोड ५० लाख रुपैयाँ लागतमा पार्क निर्माण गरिएको हो । वीरगन्ज उमनपाको कार्यालयअन्तर्गतको मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाले एसियाली विकास बैंकको सहयोगमा नगरमा निर्माण गरिरहेको आधा दर्जन विकास निर्माणका आयोजनामध्येको यो पनि एक हो ।

प्रकाशित : असार ४, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?