कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विस्थापितले बेचे घर

शिव पुरी

मंगलपुर (रौतहट) — २०५० सालमा बागमतीमा आएको बाढीले साविक गढौ र पौराई गाविसका बासिन्दाको घरबारी बगाएर ठूलो विपत्ति ल्यायो । झन्डै ५ सय धुरी बगाएपछि स्थानीयलाई जीवनयापनमा संकट थप्यो ।

विस्थापितले बेचे घर

पीडितहरू राहत र बसोबासका लागि याचना गर्न थाले । उनीहरूले बासस्थानको माग गर्दै राजमार्गमा चक्काजामसमेत गरे । अन्तत: दातृ निकायले घर बनाइदियो । तर, केही वर्ष बसेर अहिले अधिकांशले अर्कैलाई बिक्री गरेका छन् ।

बाढीको बितण्डापछि सरकारको अनुरोधमा चीनको चुचिफाउन्डेशनले बाढीपीडितका लागि मंगलपुरमा पक्की घर बनाइदिएको थियो । झन्डै २० वर्ष यहीं बसेका उनीहरूले ५ वर्षयता धमाधम बिक्री गरेर गाउँ छाडेका छन् । स्थायी रोजगारी र आर्थिक अवस्थाको कारण देखाउँदै विस्थापितले १५ हजारदेखि ३ लाखसम्ममा दाताले बनाइदिएको घर बेचेका हुन् ।

परिवारको लालनपालनमा समस्या परेको भन्दै बाढीपीडित हरेश्वर सहनीले १८ हजारमै स्थानीय भिखारी देवीलाई घर बेचे । गत वर्ष नै गाउँ छाडेर उनी परिवारसहित अन्यत्र गएका छन् । बाढीले गढौको घर र १० कठ्ठा जमिन बगाएपछि सुुकुम्बासी बनेका सहनीले पुनर्वासमा पाएको पक्की घर बिक्री गरेका हुन् । ‘उनी कहाँ गए थाहा भएन । कसैलाई भनेका पनि छैनन्,’ स्थानीय शिवमंगल सहनीले भने, ‘धेरैजसोले सहयोगमा पाएको घर बिक्री गरेर गाउँ छाडेका छन् । केही पुरानै गाउँ फर्केका छन् । केही अन्यत्र गए ।’

मंगलपुरमा बागमती र गढौका गरी ३ सय घुरधुरीले पुनर्वासका लागि घर पाएका थिए । तर तीमध्ये आर्थिक अवस्थाका कारण आधा जसोले बिक्री गरेर हिँडिसकेको स्थानीय गोपाल तिमल्सिनाले जनाए ।
रोजगारीको अवस्था नभएपछि उनीहरू घर बिक्री गर्न बाध्य भएका हुन् । बाढीको विनाशपछि पीडितले स्थानीय प्रशासनमा धर्ना र राजमार्गमा चक्काजामसमेत गरेका थिए । सरकारको आग्रहमा चिनियाँ संस्था चुचिले घर बनाएर पुनर्बास गरायो । त्यसबेला बाढीबाट जिल्लामा झन्डै ५ करोडको क्षति पुगेको थियो । सरकारले बासको व्यवस्था गरे पनि रोजगारी नदिएकाले धमाधम घर बेचेर अन्यत्र जान बाध्य भएको पीडित सिंगेश्वर सहनीले बताए । उनले समेत श्रीमतीको उपचारका लागि भन्दै ६० हजारमा स्थानीय कर्ण भण्डारीलाई घर बिक्री गरेका छन् ।

बासका लागि पाएको घरको लालपुर्जा नभएपछि खरिद गर्नेहरूले पीडितसँग दोब्बरको बिक्रीनामा कागज बनाएका छन् । केही पीडितको घर त्यतिकै खाली अलपत्र परेको छ । उनीहरूको गढौ र मंगलपुर दुबै स्थानमा घर छ । त्यसैले मंगलपुरको घरमा कोही नबसेको स्थानीय अर्चन सहनीले बताए । ‘गढौको भन्दा पिप्राराजवडाका मानिसले घर बेचेका छन,’ उनले भने, ‘भरपर्दो रोजगारी छैन । त्यही भएर सबै जसोले बेचेर पुरानै गाउँ फर्केका छन् ।’ बस्तीमा पिप्राराजवडाका केही बाढीपीडित समेत बसेका छन् ।

विस्थापितहरू अधिकांश बागमती नदीको किनारमा गिटी ढुंगा संकलन गर्न जान्छन् । लामो समयदेखि उनीहरू यही पेसामा छन् । पुरुष माछा मार्न नदीमा जान्छन् । ‘बागमतीको बगरकै भर पर्नुपर्छ’, स्थानीय सुनिता सहनी भन्छिन्, ‘हाम्रो जीवन यही बगरले धानेको छ । रोजगारी छैन । अन्य काम गर्न पढेको छैन । गिटी चालेर जीवन चलाउनुको विकल्प छैन ।’

विस्थापित बस्तीमा महल
विस्थापितले पाएको घर खरिद गरी केहीले पक्की घर बनाएका छन् । पुरानो घर भत्काएर उनीहरूले नयाँ पक्की घर बनाएका हुन् । विस्थापित बस्तीमा अहिले बाहिरका मानिस आएर बसेका छन् । सस्तोमा घर घडेरी पाएपछि धेरैले किनेर पक्की घर बनाएका हुन् । त्यहीं पसल खुलेका छन् । झट्ट हेर्दा विस्थापित बस्ती होइन जस्तो लाग्छ । विस्थापितले घर बेचेको सुन्दा दु:ख लाग्ने स्थानीय समाजसेवी श्रीराम न्यौपानेले बताए । ‘रोजगारी नभएकाले धेरैले भर बेचेको भन्ने सुने,’ उनले भने, ‘दाताले घर बनाइदियो । बसोबास गराइदियो । तर दिगो रोगजारी नभएपछि उनीहरू गाउँ छाड्न बाध्य भए ।’

प्रकाशित : असार ४, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?